पर्वतको जलजला गाउँपालिका र अमेरिकास्थित जर्जिया राज्यको एटलान्टा नगरपालिकाबिच भगिनी सम्बन्ध गाँसिने भएको छ । एटलान्टामा भएको स्मार्ट सिटी एक्स्प्रोमा भाग लिन गएका जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले त्यहाँका मेयरसँग त्यहाँको विकास निर्माण र जलजलाको विकास निर्माणको अवस्थाको बारेमा आदानप्रदान गर्दै भगिनी सम्बन्ध गाँस्ने तयारी भएको हो ।अध्यक्ष मल्लले सिटी अफ एटलान्टाका मेयर किसा लेन्स बतम्सलाई जलजला गाउँपालिकाको निमन्त्रणापत्र प्रदान गरेको जानकारी दिए ।

निमन्त्रणापत्र स्वीकार गर्दै मेयर बतम्सले छिट्टै नेपाल आएर जलजलाको भ्रमण गर्ने प्रतिबद्धता जनाएको मल्लले बताए । ‘एटलान्टाका मेयरलाई नेपालको झण्डा उपहार प्रदान गर्दै जलजलाको भ्रमणका लागि आउन निमन्त्रणापत्र प्रदान गरे, उहाँले छिट्टै नेपाल आएर जलजला गाउँपालिका घुम्ने प्रतिबद्धता जनाउनुभयो’ अध्यक्ष मल्लले भने ।मल्ल अमेरिकाको जर्जियास्थित सिटी अफ एटलान्टा नगरपालिकाले सेप्टेम्बर ११ देखि १३ सम्म आयोजना गरेको स्मार्टसिटी सम्बन्धी सम्मेलनमा भाग लिन भदौ २२ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

मल्लले विभिन्न मुलुकका प्रतिनिधिले त्यस मुलुकमा गरेका कामको अनुभव आदानप्रदान र छलफल गरेको बताए । स्मार्टसिटी सम्मेलन सम्पन्न भएपछि मल्लले त्यहाँको विकास निर्माणको प्रत्यक्ष अवलोकन गरेका थिए । एटलान्टापछि मल्ल बाल्टीमोर पुगेका छन् । नेपाली काँग्रेस पर्वतका कोषाध्यक्षसमेत रहेका मल्लले अमेरिकामा विभिन्न पेशा, ब्यावसायमा रहेका नेपालीहरु, गैरआवासिय नेपाली संघ, पर्वत समाज, जनसम्पर्क समितिलगायतका संघसंस्थासँग भेटघाट तथा छलफल गर्नेसमेत जानकारी दिए ।

Leave a Reply