मानवजीवन सञ्चालनमा मुटुको गहन भूमिका हुन्छ । मुटु असुरक्षित र अशक्त बन्नु भनेकै जीवन खतरामा पर्नु हो । गलत खानपान र दूषित वातावरणमा बाँचेको आजको विश्वमा अधिकांश मानिसलाई मुटुको रोगले सताएका नयाँ प्रतिवेदनहरू आइरहेका छन् ।

यो रोगबाट बचाउने उपाय खोज्ने क्रममा विश्व स्वास्थ्य संगठनमा अनुसन्धानरत वैज्ञानिकहरूले एक निष्कर्ष निकालेका छन् । त्यो हो– मुटुको रोग नलागोस् अथवा हृदयघात नहोस् भन्नेहरूले बिहान सूर्योदयभन्दा २ घण्टाअघि उठेर स्वच्छ हावामा नियमितरूपले १ घण्टा कस्सिएर हिँड्ने गर्नुपर्छ । मुटुका लागि यो जस्तो राम्रो अरु केही हुँदैन ।

यस अनुसन्धानमा अध्ययनरत वैज्ञानिक डा. जोसेफ रक भन्छन्– ‘बिहान नियमितरूपले हिँडेपछि आधा घण्टा जति व्यायाम गर्ने हो भने मुटुको रोगले छुन सक्दैन । अधिकांश मुटुका रोगीहरूका लािग बिहानी समय सर्वोत्तम र खतरामुक्त हुन्छ । यो समयमा हिँड्ने बानी बसाल्ने हो भने मुटुलाई बचाउनका लागि कबच साबित हुन्छ । उक्त हिँडाइले पेटलाई सफा पनि गरिदिन्छ । अनावश्यक वस्तु बाहिर निस्कनु भनेकै मुटुको रोगबाट मुक्ति पाउनु हो ।’

त्यसै गरी मानिसको मुटुमा कुन तत्वले विकार उत्पन्न गराएर हृदयघात र मुटुलाई बिरामी पार्छ भन्नेबारे विश्व स्वास्थ्य संघले नयाँ जानकारी प्रकाशमा ल्याएको छ । विश्व स्वास्थ्य संघको प्रतिवेदनअनुसार मुटुलाई प्रत्यक्षरूपमा प्रतिकूल पार्ने मुख्य कारणमा धूमपान, मद्यपान, चिल्लो खानपान, शारीरिक निष्क्रियता, तनाव, मानसिक दुर्बलता र दोषपूर्ण जीवनशैली आदि हुन् ।

यी मुटुमा विकार पैदा गर्ने तत्व हुन् । यससम्बन्धमा वैज्ञानिक डा. जोसेफ भन्छन्– ‘यदि धूमपान छोड्ने हो भने ३ वर्षभित्र ५० प्रतिशत मुटुको रोग कम हुन्छ । दैनिक बिहान हिँडाइ र व्यायाम गर्ने हो भने ३०–४० प्रतिशत मुटुको रोग हटेर जान्छ । यस्तै गरी ६ वर्षभित्रमै ८० प्रतिशतसम्म मुटुको रोग कम भएर जान्छ ।’

मुटुको चाल सय मिनेटसम्म रोक्न सकिने

वैज्ञानिक सिद्धान्तअनुसार हाम्रो सामान्य मुटुले रगत सञ्चालन प्रक्रियालाई ५ मिनेटभन्दा बढी समय रोकेर राख्न सक्दैन । तर अमेरिकाको न्युयोर्कस्थित स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताहरू मुटुको चाल ९० देखि सय मिनेटसम्म रोक्न सफल भएका छन् । मुटुलाई चिसो बनाएर शल्यक्रिया गर्ने प्रविधिको अनुसन्धानका क्रममा यो सफलता हात परेको हो ।

अनुसन्धानकर्ता वैज्ञानिक डा. जोसेफ कुरियरका अनुसार यो प्रविधिबाट मुटुको धड्कनलाई ९० देखि सय मिनेटसम्म रोकेर राख्न सकिन्छ । शल्यक्रिया गरिसकेपछि मुटुलाई पुनः पहिलेकै अवस्थामा ल्याउन सकिन्छ ।

यस्तो प्रकारको शल्यक्रियाका रोगीलाई धेरै रगत दिनुपर्दैन । यससम्बन्धमा डा. जोसेफ भन्छन्– ‘शल्यक्रियाको समयमा रोगीलाई अक्सिजन दिएर शरीरका विविध प्रक्रियाहरू सञ्चालन गराउन आवश्यक शक्तिको आपूर्ति गर्नुपर्ने हुन्छ ।

यस बेला शरीरका प्रत्येक कोषमा आगो बलेजस्तो रासायनिक प्रतिक्रिया भइरहन्छ र त्यहाँ बन्ने कार्बनडाइअक्साइड ग्यास शरीरबाहिर फाल्न निकासको बाटो खुलिरहन्छ । जुन ग्यास फोक्सोमार्फत बाहिरिन पुग्छ । यही प्रकारले मुटुको चाललाई सय मिनेटसम्म रोक्न सहज भएको हो ।

स्रोत: विभिन्न न्युज एजेन्सी

Leave a Reply