गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताउँछिन्। सीमित बजेटका बाबजुद स्वास्थ्य क्षेत्रमा केही प्रभावकारी कार्य सुरु गर्न खोजेको उनको भनाइ छ। गण्डकी प्रदेशअन्र्तगत स्वास्थ्य क्षेत्रमा गरिएका क्रियाकलापबारे स्वास्थ्यखबरकी कल्पना पौडेलसँग छोटो कुराकानी गरेकी छिन्।
सामाजिक विकास मन्त्रालय सम्हाल्नुभएको छ, अवसर र चुनौती कस्तो अनुभव गर्नुभएको छ?
यसलाई अवसर र चुनौती दुवै मान्नुपर्छ। केही कुरा गाह्रो छ। पहिलो कुरा प्रदेश सरकारको बजेट नै कम छ। दोस्रो अहिलेसम्म प्रदेश सरकारले आफ्ना आवश्यक कर्मचारी आफैं नियुक्त गर्नसक्ने अवस्था छैन। त्यसैले मागेको कर्मचारीले चलाउन गाह्रो छ।
स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेका छौँ। हामीले गण्डकी प्रदेशमा स्वास्थ्यको सबै ठाउँमा जिल्ला स्वास्थ्य कार्यालय स्थापित गरायौँ। हामीले पनि नयाँ ढङ्गबाट सञ्चालन गरिरहेकाले बुझ्दैँ काम गर्दै जाँदा तालमेलमा अलि समस्या भएको छ।
स्वास्थ्य क्षेत्रलाई कसरी बुझ्दै हुनुहुन्छ?
स्वास्थ्य क्षेत्रमा पनि पहिलेको ट्रेन स्वास्थ्यकर्मी मार्फत तल जाने कुरा छ। जबसम्म जनतालाई आधारभूत ज्ञान र सीप हस्तान्तरण गर्न सकिन्न, तबसम्म स्वास्थ्यको अवस्थामा सुधार्न हुन सक्दैन भन्ने हाम्रो ठम्याइ छ।
त्यसैले हामीले अघिल्लो वर्ष स्कुल हेल्थ प्रोग्राम ‘वी क्यान फाइभ लाइभ्स’ भनेर कार्यक्रम सुरुवात गरेका छाँै। जसमा सुन्दा सामान्य लाग्नसक्छ तर प्रत्येक नागरिकले जान्नैपर्ने विषयबारे कार्यक्रम सुरु गरेका छौँ।
यो आर्थिक वर्षमा मिर्गौला फेल कसरी हुन्छ, सुगर कसरी लाग्छ, खान र जीवनशैली कसरी सुधार गरी स्वस्थ्य कसरी बनाउने भनेर कार्यक्रमको पायलटिङको रुपमा जनतामाझ जाँदै छौँ।
सामाजिक विकास मन्त्रालयले आमा सुरक्षाको विषय प्राथमिकतामा राख्दै कार्यक्रम बनाएको छ भन्ने सुन्निछ, के कार्यक्रम ल्याउनुभएको छ?
हो, नेपालमा धेरै आमाहरु बच्चा जन्माउँदा वा जन्माएपछि मर्नुपर्ने अवस्था छ। धेरै विकट ठाउँ छन्। हुन त एयर लिफ्टिङको व्यवस्था छ, तर त्यो पनि सधैं उपलब्ध हुँदैन। जसको कारणले समयमा उपचार गराउन नपाउँदा आमा बन्न नपाउँदै हाम्रा बहिनीहरुको ज्यान गइरहेको छ।
त्यही अवस्थालाई मध्यनजर गरी हामीले यही आर्थिक वर्षदेखि ‘जहाँ सुत्केरी त्यहाँ स्वास्थ्यकर्मी’ कार्यक्रम ल्याएका छौैँ। जसअन्र्तगत हरेक स्वास्थ्यकर्मी जुन घरमा गर्भवती हुन्छिन्, त्यो घरमा कम्तीमा तीन पटक पुग्ने छन्। उनीहरुले सेवासँगै गर्भवती र उनका परिवारलाई परामर्श दिने छन्। गर्भवती जाँच, सो समयमा खानपान आराम लगायतका विषयमा बताउने छन्। सुत्केरी हुने अस्पताल जानुपर्ने कुरादेखि गर्भवती अवस्थामा हुनसक्ने जोखिमका बारेमा पनि परामर्श दिनेछन्। र, सो कुराको स्वास्थ्यकर्मीले सामाजिक विकास मन्त्रालयमा रिर्पोटिङ गर्ने छन्।
आमा सुरक्षा कार्यक्रम अन्र्तगत चलिरहेका कार्यक्रम त यथावत छन्। तर उचित सल्लाह नपाएर अस्पताल पुग्न नपाई मर्नुपर्ने अवस्था अन्त्य गर्न हामीले यो कार्यक्रम ल्याएका हौँ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले अझै समायोजनको काम सकेको छैन, त्यसको असर कत्तिको परेको छ?
समायोजनको प्रक्रियाले हामीलाई सबैभन्दा धेरै समस्या डाक्टर नहुँदा परेको छ। स्वास्थ्यकर्मी प्रदेश सरकारले नियुक्त गर्नसक्ने अवस्था छैन।
समायोजनका समयमा सबै चिकित्सकको रोजाइ केन्द्र परेको छ। त्यसो भएकाले संंघमा समायोजन भएर जाँदा प्रदेश अन्र्तगतका अस्पताल रित्तो भएका छन्। यो कुरा जनतालाई बुझाउन गाह्रो छ। जनताले प्रदेश सरकारले स्वास्थ्यकर्मी व्यवस्था गर्न सकेन भनेर प्रश्न गर्नुहुन्छ। समस्या अन्तै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघमा थुप्रिएका डाक्टरलाई प्रदेश पठाइदेओस्। अन्य स्वास्थ्यकर्मी नर्स, अनमी लगायतका स्वास्थ्य जनशक्तिको तुरुन्तै उचित व्यवस्था गरोस््। समायोजन प्रक्रिया पनि सम्पन्न गरोस्।
प्रदेश सरकार आफैंले कहिलेसम्म आवश्यक जनशक्ति नियुक्त गर्न पाउँछ?
हामीले लोकसेवा आयोगको ऐन बनाएका छौँ। अब यसको तुरुन्तै गठन हुन्छ। लोकसेवा आयोगको ऐन बनेपछि हामीले प्रदेश सरकारलाई आवश्यक जनशक्ति नियुक्त गर्न पाउँछौँ। आफ्ना जनशक्ति आफैं नियुक्त गर्न पाएको दिन प्रदेश सरकार बल्ल मजबुत हुन्छ।
अहिलेसम्म प्रदेश सरकारले अरुले नियुक्त गरेको कर्मचारी परिचालन गर्नुपर्दा हाम्रा कर्मचारी प्रदेशभन्दा केन्द्र सरकारप्रति लोयल छन्। यसले गर्दा अलि गाह्रो छ।
स्वास्थ्य यहाँकै मन्त्रालय अन्र्तगत पर्छ? स्वास्थ्य क्षेत्र सुधार गर्न केके गर्नुपर्ने देख्नुभयो?
स्वास्थ्य क्षेत्र सुधारका लागि अस्पताल सुधार र जनचेतनालाई सँगै लैजानुपर्ने देखेको छु। अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न जनशक्ति, उपकरण र पूर्वाधार अत्यावश्यक छ। यीमध्ये कुनै एक कुरा अभाव भएमा अस्पतालको सेवा सुधार हुन सक्दैन।
अर्कोतिर, हामीले जनतालाई स्वस्थ रहने कुरामा पनि सचेत बनाउनुपर्छ। नागरिकलाई उनीहरुको स्वास्थ्यप्रति सचेत बनाउने दायित्व पनि हाम्रै हो। मलाई हरेक दिन विभिन्न कडा रोग लागेका बिरामी, उहाँका आफन्तले औषधि उपचार गर्दा पैसा सकियो, अस्पतालमा पालो पाइएन भनेर फोन गर्नुहुन्छ। पछिल्लो समय नसर्ने रोगको जोखिम बढ्दो छ। हामीले जनतालाई कसरी नसर्ने कडा रोगको जोखिमबाट बच्च सकिन्छ भनेर खानपान जीवनशैली सुधार्न सिकाउने जनचेतनाको पक्षमा पनि काम गर्नुपर्छ।
हरेक नागरिकलाई स्वास्थ्यसम्बन्धी सामान्य आधारभूत ज्ञान नभएर समस्यामा हुनुहुन्छ।हामीले अघिल्लो वर्ष हृदयघात हुँदा कुन आसनमा बस्ने, घाँँटीमा केही अड्किए कसरी निकाल्ने भनेर सिकायाँै। यस्तै सामान्य कुरा सिकायौँ। त्यो कार्यक्रम ल्याउँदा जनताले निकै रुचाउनुभयो। राम्रो कार्यक्रम ल्याउनुभयो भनेर प्रशंसा पनि गर्नुभयो। तर यो वर्ष त्यो कार्यक्रममा बजेट छैन। Source and Copyright: swasthyakhabar.com