नविन जुग्जाली/ नौरथाको दिन थियो । एक जना भक्त आफ्नो सात वर्षे बालकलाई लिएर मन्दिरतर्फ लाग्यो । बाबु छोरा भगवती दुर्गाको मन्दिरको नजिक पुगे । त्यहाँ पुग्दा धेरै जना भक्तजनहरुको घुइँचो लागिरहेको थियो । त्यहाँ धेरैजसो भक्तहरु पञ्चबली दिनका लागि सबैले आ–आफ्नो किसिमको भाकल लिएर गएका थिए । कसैले बोका, कसैले राँगा, कसैले कुखुरा, कसैले परेवा, कसैले हाँस लिएर उभिएका थिए ।उता पूजारीलाई भ्याइ नभ्याई थियो । यो दृश्य देखेर बालकले आफ्नो पितालाई सोध्न थाल्यो, यो मन्दिर कसको हो ? पिताले जवाफ दियो, बाबु यो मन्दिर भगवती दुर्गा माताजीको हो ।

भगवती दुर्गा माताजी को हुन् पिता ? पिताले जवाफ दियो, भगवती दुर्गा माताजी तिम्रो माताको पनि माता, मेरो पनि माता, तिम्रो पनि माता, हामी सबै प्राणीहरुको माताजी हुनुहुन्छ । बालक, पिताजी उसो भए यतिका धेरै मान्छेहरु यहाँ किन भेला भएका हुन् ? पिताले जवाफ दियो, भगवती दुर्गा मातालाई खुशी पार्न यिनीहरु टाढा टाढाबाट पूजा गर्न आएका हुन बाबु । पूजा भनेको के हो पिताजी ? बाबु पूजा भनेको सबै प्राणीहरुको आदर र सम्मान गर्नु नै सच्च पूजा हो ।

यसरी सम्वाद गर्दै ती बाबुछोरा मन्दिरको नजिकै पुगे । त्यहाँ पुग्दा त्यस बालकले अर्को एउटा अनौठो दृश्य देख्यो । पूजारीले धमाधम बोका, राँगा, परेवा, कुखुरा र हाँस छप्काइरहेको थियो । सबै पशुपंक्षीहरुको शरीरबाट रगत बगिरहेको थियो । सबै पशुपंक्षीहरु छटपटाउँदै मरिरहेका थिए । यो दृश्य देखेर त्यस बालकले फेरि सोध्यो, पिताजी यो पुजारीले यी पशुपंक्षीहरुलाई किन मारेको हो ? बाबु यसरी पूजा गरियो भने दुर्गा माताजी प्रसन्न भई आशिर्वाद दिनुहुन्छ ।

बालकले सोध्यो, अनि अघि हजुरले भगवती भनेको त सबै प्राणीहरुको माता हुनुहुन्छ भनेको होइन फेरि किन यी पशुपंक्षीहरुलाई मारेको ? आफ्नो सन्तानलाई यसरी हत्या गर्दा दुर्गा माताजी कसरी खुसी हुन सक्नु हुन्छ ? यसपाली पितालाई जवाफ दिन मुश्किल प¥यो र पिताले भन्यो, बाबु तिमीले यस्ता कुराहरु अहिले नै बुझ्न सक्दैनौ पछि तिमी पाको भएपछि आफै बुझ्नेछौ ।

यस कथाको सन्देश के हो भने हामीले यस्ता धर्म संस्कृतिहरु मानिरहेका छौं । जो सानो बालकले पनि बुझ्न सक्दैन । बालकले बुझ्न नसक्ने धर्म, संस्कृतिलाई हामीले महान पर्व भनेर मनाइरहेका छौं । जुन संस्कृतिले सारा प्राणीहरुको अपमान गरिरहेको छ । त्यो संस्कृति कसरी महान हुन सक्दछ । जहाँ घृणा र हिंसाको तरबार चलिरहेको छ । त्यहाँ पूजा कसरी हुन सक्छ ? जहाँ आँसु र रगतको भेल बग्दछ, त्यहाँ दुर्गाको मन्दिर कसरी हुन सक्दछ ? यसकारण कथाको त्यस बालकले मात्रै होइन मैंले पनि यस्तो खालको धर्म, संस्कृति अहिलेसम्म बुझ्न सकिरहेको छैन ।

मैंले बुझेको संस्कृति भनेको नितान्त बेग्लै छ । जहाँ प्रेम र सम्मान हुन्छ, त्यहाँ पूजाको समान विना पनि पूजा भइसकेको हुन्छ । यसैले यस्तो पूजालाई लाटोले बुझ्न सक्छ । बहिरोले बुझ्न सक्छ, बालकले बुझ्न सक्छ, पशुपंक्षीले बुझ्न सक्छ ।
एउटा उक्ति छ, दया यस्तो भाषा हो, जुन भाषालाई लाटोले बुझ्न सक्छ र बहिरोले सुन्न सक्छ । यहाँ बलि शब्दलाई वध भनि बुझेको हो कि जस्तो लाग्न थालेको छ । वास्तवमा बलि भनेको उपहार हो । बलिराजाले आफ्नो अहंकारको शिरलाई ईश्वर सामु उपहार दिएका थिए भन्ने पौराणिक किंवदन्ती छ ।

ठीक यसै गरी यहाँ पञ्चबलिको कुरा छ । यसको प्रतिकात्मक अर्थ यस्तो छ, राँगा– क्रोध, बोका–काम, परेवा–मोह, कुखुरा–लोभ, हाँस–अहंकार ।ध्यान, तप, साधनाद्वारा हामीभित्र भएका अथाह शक्तिलाई जागरुक बनाउन सक्छौ भने दुर्गा शक्ति उत्पन्न हुनसक्छ । त्यसै दुर्गा शक्तिको सामु पञ्चबली दिन सक्यौं भने मात्रै मनुष्यष्को जीवनमा सुख, शान्ति, आनन्द प्राप्त हुनसक्छ भन्ने दिव्य सन्देश हो ।

तर आज मनुष्यले स्वयम् आफूभित्र भएका पशुत्वलाई छुन सकेको छैन । बाहिरको पशुलाई धमाधम ढालेर विजयादशमी मनाएको छ । मनुष्यले एकातिर पशुत्वबाट मुक्त हुन पाऊँ भनी प्रार्थना गरेको छ । अर्कोतिर आफ्नो पेटमा पशु ग्रहण गरि हिंडिरहेको छ । मनुष्यले बाहिर सुख, शान्ति, सुस्वास्थ्यको शुभकामना बाँड्दै हिंडेको छ । भित्रभित्र उसले दुःख, अशान्ति, रोग, शोकको बाटो रोजेको छ । यस्तो खालको ढोंगी, पाखण्ड, खोक्रो धर्म संस्कृतिले जीवनको उन्नति, आत्माको कल्याण, मनको पवित्रता कहिल्यै ल्याउन सक्दैन ।

र अर्थहीन सभ्यताले मनुष्यलाई कतै पु¥याउन सक्दैन । खास गरी तान्त्रिक ग्रन्थमा उल्लेख गरे अनुसार शरदकालीन यस महान नवरात्रीको समयमा वायुमण्डलका प्रत्येक अणु परमाणु अत्यन्तै क्रियाशील हुने भएकोले यस समयमा नवदुर्गाको स्तुति पाठ, पूजन एवम् ध्यान साधना गर्नाले धन, ऐश्वर्य,विद्या, शक्ति, सुख, शान्ति, ज्ञान प्राप्त हुन्छ भन्ने कुरा ग्रन्थमा उल्लेख गरेको पाइन्छ । अहिले जुन ढंगबाट दशैंतिहार मनाइँदैछ । त्यो बिलकुलै अनौठो ढंगले मनाइन्छ । यहाँ स्तुति, पुजन तथा ध्यान साधनाको अत्तोपत्तो छैन । केवल खाने, पिउने, मोज गर्नेसँग सम्बन्धित देखिन्छ ।

यसैले हिन्दू समाजमा धेरै हिन्दू धर्मावलम्बीहरुलाई दशैं होइन दशा बनेको छ । ओठले सुख, शान्ति, सुस्वास्थ्य एवम् दिर्घायुको शुभकामना दिनेहरुको जिन्दगीमा त्यस्तो सौभाग्य देखिँदैन किनकी यहाँ धर्म, संस्कृति गायब हुँदै गएको छ । विकृति नायक हुँदै आएको छ । अबको दिनहरुमा पनि यस्ता विकृतिलाई संस्कृतिको दर्जा दिएर अगाडि बढ्ने हो भने हिन्दू संस्कृति, हिन्दू सभ्यता चाँडै नै पतन हुने निश्चितप्रायः छ ।
यसकारण संसारलाई बदल्नुछ शुरु आफैबाट गर्नुछ भन्ने गुरु डा. योगी विकासानन्दको नारालाई मूल मन्त्र बनाई वर्षौं अघिदेखि आजसम्म निरन्तर योगसाधना गर्दै आउनुभएका साधक साधिकाहरुको यसपाली दशैं पर्व प्रेरणादायी एवम् आदर्शमय बनोस् । जसले गर्दा समाज परिवर्तनमा ठूलो टेवा पुगोस् भनी शु्भकामना व्यक्त गर्दछु ।

विज्ञापन