शिब बोहरा  कालिगण्डकी किनारमा एक किशोरीको शव फेला परेको छ । बागलुङ नगरपालिका–३ गुठी घर भएकी १७ वर्षीया बिजु जिसीको शव मृत अवस्थामा फेला परेको हो ।असोज १७ गतेबाट बेपत्ता भएकी उनको ११ दिनपछि पर्वतको बिहादी गाउँपालिकास्थित कालिगण्डकी नदीको किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बिजु बेपत्ता रहेको भन्दै उनका श्रीमान अशिम खड्काले जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दर्ता गराएका थिए ।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईका अनुसार उजुरीपछि प्रहरीले खोजि तिब्र पारेको थियो । प्रहरीले खोजि गर्ने क्रममा पर्वतमा शव फेला पारेको थियो । उनको शव अहिले जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

पर्वतको जलजला गाउँपालिका –५ लेकफाँट माइती घर भएकी बिजुको विवाह गत भदौ २ गते भएको लेकफाँटका वडाध्यक्ष तिलकबहादुर जिसीले बताउनुभयो । बिजुले बागलुङ नगरपालिका–३ गुठिका ३४ वर्षीय अशिम खड्कासँग भागि विवाह गरेको र विवाह दर्ता पनि नगराएको वडाध्यक्ष जिसीको भनाइ छ ।

‘गत भदौ २ गते भागेर विवाह गरेको बुझिएको छ, उमेर १७ वर्ष मात्र भएकोले उनीको विवाह दर्ता भएको छैन’ वडाध्यक्ष जिसीले भन्नुभयो, ‘बिजु र सासू ससुराका बीचमा सम्बन्ध राम्रो नरहेको भन्ने थाहा पाएको छु ।’ बिजुले आत्महत्या नै गरेकी हुन भन्ने प्रमाण नभेटिएकोले हत्या पनि भएको हुन सक्ने दृष्टीकोणबाट अनुसन्धान गर्नुपर्ने माइती पक्षको भनाइ छ ।वडाध्यक्ष जिसीका अनुसार बिजु बेपत्ता भएपछिबाट नै श्रीमान अशिमले उनको खोजी गरेका थिए । बिजुको शव भेटिएपछि अशिम पनि सोही स्थानमा पुगेर शवलाई पर्वत सदरमुकाम ल्याउने काममा जुटेका थिए ।घटनाको विषयमा अनुसन्धान गर्न प्रहरीले बिजुका परिवारलाई पर्वत लगेको छ ।

Leave a Reply