म्याग्दीका निर्मल पुर्जा मगर ७ महिनाभित्र ८ हजार मिटरभन्दा माथिका सबै १४ हिमाल चढ्ने अभियानमा छन् ।यसअघि उनले १० वैशाखमा अन्नपूर्ण, २९ वैशाखमा धौलागिरि, २ जेठमा कञ्चनजङ्घा र ९ जेठमा एकै दिन सगरमाथा र लोत्से, र ११ जेठमा मकालु हिमाल आरोहण गरेर ३१ दिनभित्रै यी पाँच हिमाल चढ्ने कीर्तिमान बनाइसकेका छन् ।सन् २००३ मा बेलायती सेनामा भर्ना भएका ३५ वर्षीय निर्मल ‘स्पेशल फोर्स’मा छानिने पहिलो गोर्खाली थिए । तर, उनका लागि दाम र शानको सैनिक जागिरभन्दा हिमाल चढ्ने भोक तीव्र थियो ।

त्यसैले उनले मार्च २०१९ मा जागिर छाडेर हिमाल आरोहण अभियान थालेका छन् ।कात्तिकसम्म आफ्नो अभियान पूरा गर्ने अदम्य साहसका साथ अघि बढेका  हिमालखबरले गरेको संक्षिप्त कुराकानी :

सात महीनामा आठ हजार मिटरभन्दा माथिका सबै १४ हिमाल आरोहण गर्ने अभियान थाल्नुको उद्देश्य के हो ?

पहिलो त मानिसको क्षमता देखाउन हो । म कुनै ‘रेकर्ड’ राख्न हिमाल चढिरहेको छैन । मेरो प्रतिस्पर्धा मैसँग मात्र हो । म म्याग्दीको सानो गाउँमा जन्मिएँ । पृष्ठभूमि जस्तोसुकै भए पनि सोच सही छ भने मानिसले असम्भव जस्तो ठानिएका सबै काम गर्न सक्छ भन्ने देखाउन म अभियानमा लागेको हुँ ।

दोस्रो उद्देश्य, हिमालमा जलवायु परिवर्तनले पारेको असर उजागर गर्नु हो । सन् २०१४ मा मात्र हाम्रो आरोहण टोलीले आमादब्लम हिमालको क्याम्प १ मा हिउँ पगालेर खाना बनाएका थियौं । तर गत वर्ष त्यहाँ पुग्दा हिउँ थिएन । जारको पानी आधार शिविरबाटै लैजानुपरेको थियो । यस्ता घटनालाई विश्वव्यापी मञ्चमा लैजानुपर्छ भन्ने मलाई लागेको छ ।

तेस्रो चाँहि नेपालमा पर्यटन प्रवर्द्धन गर्ने, भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन मद्दत गर्ने, सामाजिक काममा सहयोग पुर्‍याउन पनि मेरो उद्देश्य हो।

यो अभियानको सोच चाँहि कसरी पलायो ?

सन् २०१७ मा ५ दिनमा सगरमाथा, लोत्से र मकालु हिमाल आरोहण गर्दा पनि ममा थकान महसुस भएन । खराब मौसमका कारण मकालुु आधार शिविरमा हेलिकोप्टर आउन नसक्दा लगातार १८ घण्टा हिँडेको थिएँ । त्यही बेला हिमालमा थप केही गर्न सकिन्छ भन्ने सोच आयो ।

सेनामा भएकाले धेरै कुरा प्रचार गर्न सकिने अवस्था पनि थिएन । गत चैतमा राजीनामा दिएपछि मात्र यो अभियान सार्वजनिक गरेको हुँ ।

अभियानको नाम ‘प्रोजेक्ट पोसिबल’ राख्नुको अर्थ के हो ?

सकारात्मक सोच र व्यवस्थित तरिकाले कुनै पनि काम गर्ने हो भने सम्भव हुन्छ भन्ने देखाउन अभियानको नाम ‘प्रोजेक्ट पोसिबल’ राखिएको हो। धैर्य र निरन्तर लगाव हुने हो भने हरेक काम सम्भव हुने मेरो आफ्नै जीवन भोगाइले पनि देखाएको छ ।

अभियानबारे कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

प्रतिष्ठित पर्वतारोहीले पनि सात महीनामा १४ हिमाल चढ्न सम्भव छैन भनिरहेका छन् । ३१ दिनमा ६ वटा हिमाल चढेर अभियान सम्भव हुने आधार तयार पारेका छौँ । कठिनमध्येको अन्नपूर्ण हिमालबाट आरोहण सुरु गर्दा धेरैलाई हाम्रो अभियान सफल हुनेमा विश्वास थिएन । यतिबेला पहिलो चरणको अभियान सफल भएसँगै सहयोगी हात बढ्ने अपेक्षा गरेका छौं ।

आरोहणका लागि खर्च चाहिँ कसरी जुटाइरहनुभएको छ ?

अभियानको कूल खर्च करीब ७ लाख ५० हजार पाउण्ड लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा ३ लाख ५० हजार पाउण्ड खर्च भएको छ । दोस्रो चरणमा पनि ३ लाख ५० हजार पाउण्ड नै खर्च हुने र तेस्रो चरणमा १ लाख पचास हजार पाउण्ड आवश्यक पर्ने आकलन गरेका छौं ।

बेलायतको घर धितोमा राखेर लिएको कर्जा र व्यक्तिगत बचतबाट जम्मा ५५ हजार पाउण्डबाट अभियान शुरु भएको हो । मैले आफूसँग भएको सबै पैसा खर्च गरिसकेको छु । र, पहिलो चरणको सफलतासँगै सबैको सहयोगले अभियान सफल हुनेमा विश्वस्त छु ।

सगरमाथामा आरोहीको लाम लागेको तपाईंको तस्वीरले चर्चासँगै आरोहण व्यवस्थापनबारे नकारात्मक प्रतिक्रिया पनि आइरहेका छन् । कस्तो महसुस भइरहेको छ ?

मलाई लाग्छ, एकै पटक सबै आरोही चुचुरोमा पुग्न खोज्दा भीड भएको हो । भीडको उचित व्यवस्थापन गर्नैपर्छ । जस्तो कि यो पटक हामीले अप्रिलमा अन्नपूर्ण आरोहण गर्यौँ । सगरमाथा आरोहण पनि अलि छिटो सुरु गर्न सकिन्छ । प्रकृति सबैका लागि हो, धनीले मात्र हिमाल आरोहण गर्न सक्ने अवस्था सिर्जना गर्नु हुन्न । सभार: हिमाल खवर 

Leave a Reply