सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाग्लुङ २ को प्रदेश सभा (ख) मा बागी उम्मेदवारी दिएका शेरमान घर्तीलाई हेलिकप्टरबाट सदरमुकाम ल्याएको छ । बुर्तिवाङस्थित होटल दरबारबाट प्रभु एअरको हेलिकप्टरमा राखेर घर्तीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइए पनि उम्मेदवारी फिर्ता लिन भने पाएनन् ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारले चाहे उम्मेदवारी फिर्ता लिने समय रहेकोमा घर्ति सदरमुकाम आईपुग्न ढिलो गरेपछि उम्मेदवारी फिर्ता नभएको हो । नेकपाले यो क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाड्ने निर्णय गरेको थियो । त्यसैले नेकपाबाट आधिकारिक उम्मेदवार थिएनन् । नेकपाले राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाएको थियो ।

तर घर्तीले कात्तिक २१ गते (बिहीबार) बागी उम्मेदवारी दर्ता गराएका थिए । मंसिर १४ गते हुने उपचुनावका लागि नेकपाकै दधिराम अर्याल प्रस्तावक र रिमबहादुर बिकलाई समर्थक बनाएर घर्तीले उम्मेदवारी दिएका थिए । उम्मेदवारी पछि कुनै पनि हालतमा आफुले उम्मेदवारी फिर्ता नलिने जिकिर गरेपनि नेकपाको केन्द्रिय कमिटिबाटै दबाब सिर्जना भएपछि उम्मेदवारी फिर्ता लिन सदरमुकाम आउँदै गर्दै समय सकिएपछि उम्मेदवारी फिर्ता भएन् ।

१२ बर्षसम्म राष्ट्रिय जनमोर्चामा रहेका घर्ती तत्कालिन समयमा माओवादीमा प्रवेश गरि २०७४ सालको स्थानिय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको मेयरका लागि चुनाव लडेका थिए ।नेकपा बाग्लुङका अध्यक्ष इन्द्रलाल सापकोटाले घर्तीलाई हेलिकप्टरबाट ल्याए पनि उम्मेदवारी फिर्ता लिने समय सकिएकोले काम नलागेको जानकारी दिए ।

‘उहाँलाई हेलिकप्टरबाट ल्याइएको हो । तर उम्मेदवारी फिर्ता लिने समय १ बजेसम्म मात्रै थियो काम लागेन’ उनले भने, ‘अब चुनाव नै हुने भयो ।’मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले उम्मेदवारी फिर्ता कसैले नलिएको जानकारी दिए । उनले उम्मेदवारी फिर्ता लिने समय सकिएको र कसैले पनि कसैले पनि उम्मेदवारी फिर्ता नलिएको बताए ।बुर्तीवाङबाट बाग्लुङ सदरमुकाम आउन सडकबाट तीन घन्टा लाग्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङ बजारमा छ ।

उम्मेद्वारी फिर्ता लिने समय घर्केला भनेर घर्तीलाई हेलिकप्टरमा ल्याइएको थियो ।उनले सुरूमा हेलिकप्टर चढ्नै आनाकानी गरे । पछि उनी हेलिकप्टर चढेर बाग्लुङ बजार त आए तर त्यतिञ्जेल उम्मेद्वारी फिर्ता लिने समय सकिइसकेको थियो ।यसअघि २०७४ सालमा तत्कालीन वाम गठबन्धनबाट विजयी भएका राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्तीको पोहोर मंसिरमा मृत्यु भएको थियो ।

Leave a Reply