उत्तरी पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा निःशुल्क आँखा शिविर हुने भएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ बेनी मल्लाजको आयोजनामा आउँदो मंसिर १ देखि ३ गतेसम्म निःशल्क रुपमा आँखा शिविर सञ्चालन गर्न लागिएको हो ।

जलजला गाउँपालिका–३, स्थित माझफाँट मल्लाजमा लायन्स क्लबले निःशुल्क रुपमा आँखा शिविरको आयोजना गर्न लागेको शनिबार पत्रकार भेटघाट गरी जानकारी गराइएको छ । तीन दिनसम्म सञ्चालन हुने शिविरमा निःशुल्क आँखाको चेकजाँच गर्नुका साथै मोतियाविन्दुको शल्यक्रिया समेत गरिने लायन्स क्लब अफ बेनी मल्लाजका अध्यक्ष दिनेश बानियाँले बताए ।

क्लबको तेस्रो वैठकले हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गर्ने निर्णय गरेको क्बलका महासचिव शिव जिसीले जानकारी दिएका छन् । आँखा शिविर सञ्चालन गर्नका लागि क्बलका हेल्थ डाइरेक्टर तथा वडानम्बर १ का अध्यक्ष तुलसीराम रेग्मीलाई कार्यक्रम संयोजक तोकिएको क्लबले जनाएको छ ।

यसैगरी आर्थिक व्यवस्थापनमा चन्द्रबहादुर क्षेत्री, आवास तथा खाना व्यवस्थापनमा रविन जिसी, स्वयंसेवक परिचालनमा राजकुमार परियार र यातायात व्यवस्थापनका लागि गोरखबहादुर जिसीलाई जिम्मेवारी दिइएको महासचिव जिसीले बताए ।
शिविरमा आएका बिरामीहरुलाई निःशुल्क रुपमा चस्मा पनि वितरण गरिने भएको छ । क्लब अध्यक्ष बानियाँले १ सय पिस, लायन सदस्यहरु बिक्रम सुवेदीले १ सय पिस, दुर्गाराज भण्डारीले ५० पिस, बिशाल कँडेलले ५० पिस चस्मा निःशुल्क रुपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

आँखासम्बन्धी समस्या भएका बिरामीलाई गाउँमै उपचार सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको हुँदा शिविरमा कम्तीमा २० जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य राखिएको अध्यक्ष बानियाँको भनाइ छ । आँखा परीक्षण, परामर्श, मोतियाविन्दुको शल्यक्रियाका साथै निःशुल्क औषधी र चस्मा वितरण गरिने लायन्स क्लबका जोन चियरपर्सन दिलिप बरुवालले बताए । शिविरमा जलजला गाउँपालिकासहित म्याग्दीको बेनीबजार तथा आसपासका क्षेत्रबाट बिरामीहरु उपचार गर्न आउने जनाइएको छ ।

Leave a Reply