विद्युतीय चुरोटको धुवाँले बिरामी र मर्नेको संख्या बढ्दो

धेरैले चुरोटको तुलनामा ‘भेप’ को असर कम हुने विश्वास राख्छन्। निकोटिनलाई बाफमा परिणत गरेर स्वाद लिन आविष्कार भएको भेप सन् २००३ मा चीनबाट सुरू भएको हो। त्यसपछि, सन् २००५ मा अमेरिकामा देखा परेयता दुई दशक नपुग्दै भेपले संसारका कैयन देशमा चर्चा बटुल्न थाल्यो।

भेप सुरूमा सबैलाई नौलो हुने नै भयो, त्यसैले छोटो समयमै व्यापकता पायो। धेरैले भेपलाई चुरोटको विकल्पका रूपमा लिएका छन् भने कोही सोखका रूपमा पिउँछन्। तर धेरैलाई भेप पनि चुरोटजत्तिकै हानिकारक छ भन्ने थाहा नहोला! अमेरिकाका केही राज्यमा त प्रतिबन्ध नै लगाइएको छ।

केही साताअघि अमेरिकामा भेपले ज्यान गएको खबर बाहिरिएको थियो। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको पछिल्लो तथ्यांकअनुसार भेप प्रयोगबाट बिरामी हुनेको संख्या दुई हजारभन्दा बढी पुगेको छ। ‘भेपिङ’ कै कारण कम्तिमा ४२ जनाको मृत्यु भएको पनि देखाएको छ।

मृतकमध्ये औसत आयु ५३ वर्ष रहेको केन्द्रले जनाएको छ। मृतकको उमेर १७ देखि ७५ वर्षबीच छ। ७९ प्रतिशत भेप प्रयोग गर्नेको उमेर ३५ वर्ष हो। न्यूयोर्कको ब्रोङ्क्सका १७ वर्षीय किशोर भेपिङका कारण मृत्यु हुने सबैभन्दा कम उमेरका व्यक्ति भएको रेकर्ड छ। भेप प्रयोग गर्नेमध्ये ७० प्रतिशत पुरुष रहेको रेकर्डले देखाउँछ।

भेपिङका कारण मृत्यु हुनेमा फ्लू र निमोनियाको लक्षण देखिएको अध्ययनमा छ। मृत्युको खास कारण अझै पत्ता नलागे पनि धेरैले ‘टेट्राहाइड्रोक्याबिनोल (टिएचसी)’ र ‘भिटामिन-ई एसिटेट’ मिसिएको भेप लिएको अनुमान छ। रोग नियन्त्रण तथा रोकथाम केन्द्रले केही अमेरिकी विरामीको अध्ययन गर्दा भेपको फ्लेवरमा यी तत्व मिसाइएको पत्ता लागेको थियो। यी दुवै तत्व हानिकारक भनिन्छ।

धेरै समयअघि न्यूयोर्क, रोहिड आइल्याण्ड र मिशिगनले स्वादयुक्त भेप बेचबिखनमा प्रतिबन्ध लगाएको थियो। अमेरिकाकै म्यासाच्युसेट्स भेप उत्पादनमा प्रतिबन्ध गर्ने पहिलो अमेरिकी राज्य बनेको थियो। तीस लाखभन्दा बढी जनसंख्याले धूमपान गर्ने चीनमा पनि सेप्टेम्बर अन्तिम साताबाट भेपको अनलाइन बिक्री प्रतिबन्ध छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेपका कारण मृत्यु संख्या बढेसँगै आफ्नो मुलुकमा भेप प्रतिबन्ध घोषणा गरेका छन्।

भेपिङले सिर्जना गरेका रोग चुनौती हुनसक्ने मान्यताका साथ अमेरिकाले भेप उत्पादन तथा बिक्री संसारभर प्रतिबन्ध लगाउने योजना बनाउँदै गरेको न्यूयोर्क टाइम्सले लेखेको छ। अमेरिका भेपका लागि सबभन्दा ठूलो बजार भएकाले उक्त निर्णय गरिएको हो।

भारतले पनि गत सेप्टेम्बरबाट भेप आयात, उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाएको छ। मेक्सिको, सिगांपुर, ब्राजिल र थाइल्याण्डले समेत नागरिक स्वास्थ्यको चिन्ता र युवा वर्ग निकोटिनको लतमा फस्ने डरले भेप प्रतिबन्ध लगाइसकेको छ।सन् २०११ मा सात लाख जनसंख्याले भेपिङ गरेको र सन् २०१८ आइपुग्दा ४१ लाख जनसंख्या भेपिङमा सक्रिय रहेको तथ्यांक छ। सन् २०२१ सम्म संसारका ५५ लाख जनसंख्याले भेपिङ गर्नसक्ने अनुमान युरोमोनिटर इन्टरनेसनलले गरेको छ।

पछिल्लो अप्रिलमा पहिलोपटक भेपिङले निम्त्याएको असर इलिनोइस र विस्कन्सिनमा पहिचान गरिएको थियो। यसअघि भेपिङले देखाएको फोक्सोसम्बन्धी बिरामीबारे बेलायत र जापानमा रिर्पोट भएको थियो। ग्रिक वैज्ञानिकहरूका अनुसार छोटो समय मात्र भेपिङ गर्दा पनि फोक्सोमा क्षति र समस्या देखिन्छ। अमेरिकी जर्नल अफ फिजियोलोजी ‘लंग सेलुलर’ मा उक्त कुरा उल्लेख छ। वैज्ञानिकहरूका अनुसार प्रोफेलिन ग्लाइकोल, निकोटिन र विभिन्न प्रकारका स्वादले फोक्सोमा असर गर्छ।

नेपालमा समेत भेपको प्रभाव छ। सन् २०१६ बाट नेपालमा धेरै देखापरेको भेप युवा पुस्तामाझ अन्य देशमाझैं लोकप्रिय हुँदैछ। अचेल यसको आकर्षण घटिरहेको ‘द भेप नेपाल’ का सागर श्रेष्ठ बताउँछन्। चुरोटको लत छुटाउन चाहनेको चासो भेपमा बढी भएको सागर बताउँछन्। उनका अनुसार प्रायः २५ वर्षमाथिले भेपिङ गर्छन्। १८ वर्ष नपुगेकालाई बिक्रीवितरण गर्नु गैरकानुनी मानिन्छ।

सागरका अनुसार चुरोटको तुलनामा भेप स्वास्थ्यका लागि कम असरदायी छ। चुरोटमा १२ प्रतिशत देखि १३ प्रतिशतसम्म निकोटिन हुन्छ भने भेपमा १ प्रतिशत देखि ५ प्रतिशत मात्र हुने उनको भनाइ छ।

‘भेपका कारण मृत्यु हुन्छ भन्ने कुरा आइरहेको छ। तर यसमा राम्ररी अध्ययन भएको छैन। भेपमा टिएचसी वा भिटामिन-ई तेल मिसाएर प्रयोग गर्दा मात्र यो हानिकारक हुन्छ,’ उनले भने।

टिएचसी गैरकानुनी भएकाले नेपालसहित धेरैजसो राष्ट्रमा यसको बिक्रीवितरण गैरकानुनी मानिन्छ। ‘पैसाको लोभले कालोबजारमा यो बिक्री भइरहेको छ। टिएचसी र भिटामीन-ई मिसाएका कारण फोक्सो फुल्ने भएकाले मानिसको ज्यान जान्छ,’ उनले भने, ‘नभए चुरोटको तुलनामा भेपिङ ९५ प्रतिशत सुरक्षित छ।’प्रहरी अस्पतालका डाक्टर मनोज यादवको धारणा भने फरक छ। ‘भेप कम हानिकारक छ भनेर व्यवसाय गर्नेहरूले यसो भन्नु स्वाभाविकै हो। तर यो स्वास्थ्यका लागि हानिकारक नै छ,’ उनले भने, ‘भेपका कारण फ्लू, टाउको दुख्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन्।’

नेपालमा भेपरोगी छुट्याउने प्रविधि हालसम्म छैन। फोक्सोसम्बन्धी बिरामी भए पनि भेप नै कारण हो भनेर छुट्याउन सकिँदैन।’युवाहरू भेपका फ्लेवर र बासनाले बढी आकर्षित छन्,’ उनले भने, ‘चुरोट खाँदा गन्ध आउने तर भेपले नआउने भएकाले बढी आकर्षण भएको हो।’

अमेरिकाजस्तो राष्ट्रमा त भेपबारे अलमल भइरहँदा हामीकहाँ यसबारे धेरै जानकारी नहुनु सामान्यै हो। अमेरिकामा एकातिर सरकारले भेप प्रतिबन्ध लगाउँदैछ भने अर्कोतिर यो समस्या समाधानको उपाय नभएको तर्क उठिरहेको छ।

हालै मात्र न्यूयोर्क टाइम्समा प्रकाशित सम्पादकीयमा भेप तुरुन्तै प्रतिबन्ध गर्दा समस्या उल्टो थपिने तर्क उल्लेख छ। पहिलो त भेप रोकेपछि यसको कालोबजारी मौलाउने सम्पादकीयको जोड दिएको छ। त्यस्तै, भेपका कारण मृत्यु किन भइरहेको छ भन्ने प्रस्ट नभएकाले यसमा थप अध्ययन हुन जरूरी छ।

धेरैले प्रयोग गरिरहेको भेप बन्द हुँदा ती प्रयोगकर्ता फेरि चुरोटमा आकर्षित हुने सम्भावना अधिक हुने पनि न्यूयोर्क टाइम्सको तर्क छ। न्यूयोर्क टाइम्सले भेपको समस्या सल्टाउन केही उपाय पनि सुझाएको छ। भेपलाई चुरोट र धूमपानकै श्रेणीमा राखेर उमेरको पाबन्दी, विज्ञापनमा कडाइ लगायत व्यवस्थासहित कानुन बनाउनुपर्छ।

बेलायतमा यो किसिमको कानुन बनिसकेको छ। त्यहाँ भेपको प्याकेजिङदेखि विज्ञापनसम्म कडा नियम लागू छ। अमेरिकामा यस्तो छैन। त्यसैले जुनसुकै उमेरकाले यो निर्वाध प्रयोग गर्न सक्छन्।भेप प्रतिबन्धको साटो विस्तृत अध्ययन गरेर बजार नियन्त्रण गर्नु उचित हुने न्यूयोर्क टाइम्सको भनाइ छ। Source: Setopati.com

(न्यूयोर्क टाइम्सलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लेखका सहयोगमा तयार पारिएको)