“सानो छ खेत सानै छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान”

स्कुलमा मेरो नेपाली किताबमा किसानको रहर कविताको यो अंश आज पनि उत्तिकै याद आउँछ । नेपालको हिमाली जिल्ला म्याग्दीको एक पर्यटकीय स्थल टोड्के तिर जाँदा बाटोमा यी किसानी जीवनका हरफ खुब याद आयो मलाई ।

कृषि प्रधान देश हाम्रो नेपालको कुना कन्दराका किसानहरुका जीवन आज पनि यही नै त हो । पसिना रोपेर सुन फलाउने जादुगर हुन् किसान । हिलोमा खेलेर धानका बाला झुलाउने, माटोमा रोपेर मकैका घोगा लगाउने, दिन रात मेहनत गरी भएको छाकमा रमाउने, यी सब एक वास्तविक किसानको परिचय हो ।

‘मानो रोपेर दिनरात नभनी आफ्नो बासकै ख्याल नगरी सास रहुन्जेल मुरी फलाउने आशमा भर पर्ने पेशा हो किसानी ।’ माटोमा खालिखुट्टै गाडिएर छोरा नातीलाई भनेजस्तो जुत्ता चप्पल किनिदिन सक्नु नै उसको सपना हुन्छ । सुनौला बाला दिनरात सुम्सुम्याउँछ तर सुनका बाला सदैव उनका आशामा मात्रै सिमित रहन्छ ।

धान, मकै, कोदो, आलु, भटमास, अन्य थुप्रै बालीका धेरै ज्ञान भएका वैज्ञानिक हुन् किसान । जसका बारे अलिकति थाहा पाउन पनि आजको पिँडीलाई गुगल सर्च गर्नु पर्छ । हामी आम नेपाली किसान कै छोरा छोरी वा नाती नातीनी नै हौँ । तर नेपालमा श्रमको कदर अन्य विकसित मुलुक भन्दा कम नै छ त्यसकारणले किसानी पेशा उँभो लाग्न सकेको छैन ।

यहाँको भौगोलिक स्थिति र दुरदृष्टि नभएका राष्ट्रचालकहरुका कारणले आज पनि नेपाली किसानहरु उही पुरानै शैलीमा किसानी गर्दै आइरहेका छन् । मौलिकता छ, सुन्दरता छ, नेपालीपन छ तर देशमा खाद्य वस्तुको आयात पनि दिन प्रति दिन बढ्दो छ । आवश्यकता छ मौलिकता जोगाउन, आवश्यकता छ नेपालीपन फैलाउन र सँगै आवश्यकता छ उत्पादन बढाई आयात घटाउन पनि ।

यी तस्विरहरु नेपालको हिमाली जिल्ला भनेर चिनिने म्याग्दी जिल्लाको सदरमुकाम बेनीबाट पर्यटकीय स्थल टोड्के जाने क्रममा सिंगा तातोपानी कटेर सिमलचौरबाट कुहुँ तिर उकालो लाग्ने क्रममा बिच बाटोबाट लिइएका हुन् । देखिएका कोक्रेवाङ र आसपासका क्षेत्र र त्यहाँका व्यस्त किसानको जीवन निकै  लोभ लाग्दो र रमणीय छ ।

यो समय यहाँका किसानहरु धान काट्ने, बिटा लाउने, दाँइ गर्ने, कुन्यु लगाउने र धान भित्र्याउनमै व्यस्त छन् । यसपटकको बडा दशैंकै दिनमा परेको असिना पानीले उनीहरुको मानो रोपेर मुरी फलाउने आशालाई तुसारापात गरिदिएको छ तर पनि खेतमा रमाउँदै भाका हाली गीत गुन्गुनाउँदै उनीहरु आफ्नो काम कर्तव्य पुरा गरिरहेछन् । चाहे उनीहरुका लागि नीति बनाउनेले आफ्नो काम कर्तव्य बिर्सोस् उनीहरु कदापि पनि आफ्नो कर्तव्य बिर्सँदैनन् । प्रस्तुतकर्ता पोकली ओखलढुंगाका बसन्त ढुंगाना (यात्री) सिविन नेपाल, म्याग्दीको कार्यक्रम अधिकृत हुन । 

विज्ञापन