घायलश्री/‘जीवनको आनन्द लिन आर्थिक होइन मानसिक अवस्था ठिक हुनपर्छ ।’ यस भनाइसँग ठ्याक्कै मेल खान्छ बेनी म्याग्दी निवासी कृष्णप्रसाद आचार्यको जीवन । शिरभरि सेतै हिमाल भएर उमेर फुलेको छ तर मनभरि रातै गुराँस भएर काम गर्न सक्ने उनका इच्छाहरु फुलेका छन् । शरीरले ७७औं वसन्त पार गर्नै लाग्दापनि उत्तिकै उत्साह, उत्तिकै जोस र फुर्ति भेटिन्छ उनीसँग ।

पिता हरिलाल उपाध्याय र माता गङ्गाकुमारी उपाध्यायको कोखबाट १९९९ चैत्र २ गते सोमबारका दिन कुहुँ गाविस–८, थाइवाङ हालको मङ्गला गाउँपालिका–२, थाइवाङमा जन्मिएका आचार्य सानैदेखि सामाजिक कार्यमा रुचि राख्दथे । दुःखमा पनि हाँसोका साथ काम गर्नसक्ने खुबी भएकै कारण २१ वर्षको उमेरमै कुहँु गाउँपञ्चायत ८ नम्वर वाडको वाड अध्यक्ष भएर काम गर्न सफल भए ।

२३ वर्षदेखि ३१ वर्षसम्म उपप्रधानपञ्च र ३२ वर्षदेखि ३६ र ३७ देखि पुनः ४१ वर्षसम्म दुई कार्यकालका लागि कुहुँ गाउँपञ्चायतको प्रधानपञ्चको रुपमा रहेर सामाजिक सेवामा काम गरेको तथा मङ्गला मावि बाबियाँचौरको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर शिक्षा क्षेत्रमा योगदान पु¥याएको पूरानो इतिहास छ उनीसँग ।उनले भोगेका कथा कुनै चलचित्रभन्दा कम छैनन् ।

पिताजीले उमेरको ६६औं वसन्त पार गर्दैगर्दा १९ वर्षकी गङ्गा कुमारीलाई वेहुली बनाएर थाइवाङको पुरानो घरमा भियाएको तीन वर्षपछि अर्थात् पिताजी ६९ वर्षको उमेर हुँदा उनलाई संसार देख्ने अवसर मिल्यो । ९ वर्षको उमेरमा पुलाचौर आएर पं तारानाथ रेग्मी ज्युको घरमा दुई वर्ष बसेर संस्कृत अध्ययन गरेका आचार्य ११ वर्षको उमेरमा बेनी बजारको हाल प्रकास मावि रहेको प्राङ्गणमा भाष्करानन्द स्वामी ज्युसँग संस्कृत अध्ययन गर्दैगर्दा १४ वर्षको उमेरमा भागवत वाचन गर्न सक्षम भए।

१५ देखि १७ वर्षसम्म थप अध्ययनका लागि काठमाडौंको रानीपोखरी अवस्थित संस्कृत छात्रवासमा बसेर संस्कृत अध्ययन गरेका उनले १६ वर्षको उमेरमा पूर्व मध्यमा उत्तीर्ण गरे । १८ वर्षको उमेरमा बाबुको आग्रहमा घर फर्किए । २०१९ बैशाख २१ गते आफ्नै निवास थाइवाङमा रातको एक बजे आफ्नै काखमा बाबु गुमाउन पुगेको त्यो दिन अहिले आफू ७७ वर्ष पार गर्दैगर्दा पनि उनलाई हिजै जस्तो लाग्ने गर्दछ ।

बीस वर्षिय कलिलो उमेरमाथि आइपरेको घर ब्यवहार तथा पारिवारिक जिम्मेवारीले उनलाई थिच्नुसम्म थिच्यो, र पनि जीवनमा हिँड्न बाँकि हजार किलोमिटरको यात्रा बल्ल शुरुवात भएको स्मरण गर्दै जीवनरुपी डुङ्गा खियाउँन लागिरहे आचार्य । ३९ वर्षको उमेरमा आफूभन्दा २३ वर्ष जेठी आमा गुमाएका आचार्यको जन्मपत्रिका अर्थात् चिना उनी गर्भावस्थामै लेखिएको थियो ।

विश्वहिन्दू महासङ्घ म्याग्दीका वर्तमान जिल्ला अध्यक्ष हुन् ७७ वर्षिय आचार्य । गतवर्ष जिल्लामा भएको महासङ्घको तेस्रो अधिवेशनले उनलाई जिल्ला अध्यक्षका रुपमा चयन गरेपछि उनको दैनिकी फेरिएको छ । उनको नेतृत्वमा रहेको जिल्ला कार्य समितिले बेनी नगरपालिकाका दश वाडहरुमै ‘विश्वहिन्दू महासङ्घ वाड कार्यसमिति’ गठन गरेको छ ।

‘विश्वहिन्दू महासङ्घ जिल्ला युवा समिति’, ‘विश्वहिन्दू महासङ्घ जिल्ला महिला समिति’ समेत गठन गरेर युवाहरुमाँझ हिन्दू धर्मको महत्व दर्शाउँदै प्रसार तथा प्रचारमा सरिक भएका छन् । त्यतिमात्र होइन जिल्लाका पाँच गाउँपालिकामा समेत विश्वहिन्दू महासङ्घ गाउँपालिका समिति गठन गरेर जिल्लाभित्र विश्वहिन्दू महासङ्घको धेरै शाखा भएको नेपालको पहिलो जिल्ला भनेर म्याग्दी जिल्लालाई चिनाउन सफल भएका छन् उनी ।

जीवनमा आइपर्ने हरेक कठिनाईहरु हामीलाई दुःख दिनका लागि आएका हुँदैनन् । बरु यी कठिनाईहरु हाम्रो परीक्षा लिन आएका हुन्छन्, हामीभित्र लुकेको सामथ्र्य र शक्तिलाई बाहिर निकाल्नका लागि आएका हुन् भन्ने विचारबाट प्रभावित उनी जीवनमा आइपर्ने जस्तै दुःख र कष्टहरुलाई पनि ग्रहण गर्न सक्छन् ।

सबैभन्दा ठूलो जोखिम त केहीपनि जोखिम नलिनु हो भन्ने मान्यता राख्दै अन्य धर्मले बढी महत्व पाइरहेको म्याग्दी जिल्लाका हर क्षेत्रहरुमा हिन्दू धर्मको प्रचारमा सरिक भएका छन् । ‘बन्धुत्व भाव जोगाउँ ! हिन्दू धर्मको रक्षा गरौँ !! भन्ने कुरालाई मूल मन्त्र मान्दै आएका उनले नेपाललाई हिन्दू राष्ट्रका रुपमा चिनाउन चाहान्छन् । ७७ वर्षिय आचार्यले हिँड्दै गरेका पाइलाहरु नरोकियून् ! समाज र राष्ट्रप्रति उनले देखेका सपना उनकै अगाडि फुल्न सकून्, हार्दिक शुभकामना ।