गैरआवासीय नेपालीका अभियान्ता कुल आचार्य शुक्रबार पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा रहेको न्यू होराइजन आवासीय माध्यामिक विद्यालयका विद्यार्थीलाई भेट्न विद्यालयमा पुग्दा विद्यार्थी अचम्म माने । अपरिचित ब्यक्तिले सिधै विद्यार्थीलाई सम्बोधन गदै विद्यालयमा प्रवेश गरेपछि विद्यार्थी उत्साहित भए ।

जलजला गाउँपालिकाकै धाईरिङमा जन्मिएर धाईरिङमा आधारभुत तह र विद्याज्योती मावि मल्लाजबाट माध्यामिक तहको शिक्षा हासिल गरेका आचार्यले आफ्नो संघर्षका दिनहरू विद्यार्थीलाई सुनाउन थालेपछि विद्यार्थी खुसी र जिज्ञासु बने । विपन्न परिवारमा जन्मिएर सुरू गरेका आचार्यले बाल्यकालदेखिको अवस्था देखी बेलायतमा प्राप्त गरेको सफलतासम्मको अवस्थाका बारेमा मात्रै कुरा गरेनन् ।

बेलायतको शिक्षासँग नेपालको तुलना गदैं विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धाका लागि केही टिप्स समेत दिए । बजारमा आफुँलाई अब्बल र गुणस्तरीय देखाउनपरीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षाफललाई मात्रै आधार बनाउन नहुने भन्दै आचार्यले परीक्षामा असफलताले पनि सफतालाई पच्छाउने भएकाले असफलताको बिल्ला भिराइदिने नेपाली शैक्षिक प्रणालीलाई सुधार गर्नुपर्ने बताए ।

आचार्यले आफ्नो जीवनमा संघर्षपछि प्राप्त गरेका सफलता लगाएत विभिन्न विषयमा करिव दुईघण्टा विद्यार्थीलाई सुनाए । उच्च शिक्षालगत्तै विदेशमा जाने विद्यार्थीलाई आचार्यले आफ्नो उदाहरण दिदैं विदेशको बजारमा सुहाउँदो जनशक्तीको रुपमा नेपालमै सीप सहित दक्ष बन्नुपर्ने बताए । बेलायतमा विश्वका धेरै देशबाट आएका दक्ष जनशक्तीले शैक्षिक तथा ठूला कम्पनीको नेतृत्व गरेको बताउँदै सीप नभई विदेश जाँदा आफुँले भाडा माझेर समेत जीवन निर्वाह गर्नुपरेको उदाहरण समेत विद्यार्थीलाई सुनाए ।

उनले विद्यार्थी भाईबहिनीलाई लक्ष्य अनुसार इच्छाशक्ति देखाउन आवश्यक रहेको बताउँदै आफ्नै क्षेत्रका विद्यार्थीलाई अनुभव सुनाउँन पाउँदा उत्साहित भएको बताए।‘यो कार्यक्रमले मलाई पनि उर्जा थपिएको छ,‘यहाँका विद्यार्थीलाई समयसमयमा भेट्न आउँछु’ आचार्यले भने। विद्यालयले सुरु गरेको सफल ब्यक्तिसँग विद्यार्थी कार्यक्रम अन्तरगत पहिलो

बक्ताको रुपमा आचार्यलाई रेजिना सुबेदी, निशान जिसी, प्रसन्न रेग्मी,डिजन सुबेदीले विभिन्न जिज्ञासा राखेका थिए । नेपालमा विद्यार्थीको सूची अनुसारको आवश्यक विषयमा केन्द्रित शिक्षा हुनुपर्ने, सिकाईको वातावरण, विषयबस्तु ब्यवहारिक नभई नतिजामुखी जस्ता समस्यामा बारेमा नितिगत दवाव दिन समेत विद्यार्थीले सुझाव दिएका थिए ।

सोही अवसरमा विद्यालयका प्लस टू कोर्अडिनेटर नारायण पौडेलले माध्यामिक तहको सामाजिक विषयमा नागरिकताको प्रकारका बारेमा गैरआवासीय नेपालीसँग सम्बन्धित विषयमा बारेमा विद्यार्थीको जिज्ञासालाई सहजीकरण समेत गरेका थिए । ‘विद्यार्थीले उहाँका बिचार र संघर्षका दिनहरु बुझ्ने अवसर पाए,‘सबैले मन पराएर सुने,‘विद्यार्थीको जिज्ञासाबाट समेत उत्साहित हुनुभयो’ प्रधानध्यापाक अर्जुन पौडेलले भने ।

उनका अनुसार आगामी दिनमा समेत विद्यार्थीलाई समाजमा विभिन्न क्षेत्रमा सफल ब्यक्तित्वसँग भेटघाटको अवसर मिलाउने बताए । कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष दलबहादुर जिसी ‘शिव’ले पाठ्यक्रम बाहेक विद्यार्थीलाई ब्यवहारिक शिक्षामा समेत सक्षम बनाउने बताए । यसैबीच एनआरएनए आईसीसीका निर्वतमान उपाध्यक्ष आचार्यलाई विद्यालयले भब्य स्वागतसँगै सम्मान समेत गरेको छ ।

Leave a Reply