दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने उद्धेश्यले लायन्स क्लव बेनी पिस सिटीले आयोजना गरेको स्वास्थ्य शिविरमा करिव १५ सय बिरामीले सेवा लिएका छन् । धवलागिरी गाउँपालिका–७ ताकममा आयोजित दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा शनिबार ९ सय १४ र आइतबार ६१७ जनाले सेवा लिएको लायन्स क्लव बेनी पिस सिटीका बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

आर्थिक तथा विभिन्न कारणले सहरबजारमा उपचारका लागि जानबाट बन्चित भएकालाई क्लवले विशेषज्ञ चिकित्सक सहितको टोली गाउँमै पुर्र्याएपछि बिरामी उत्साहित भएका थिए । शिविरमा नाक, कान, घाँटी, पेट, आँखा, दाँत स्त्रीरोग, हाडजोर्नी, बालरोग, छाला तथा यौन रोग लगाएत विभिन्न रोगबाट ग्रसित भएका बिरामीले उपचार लिएको क्लवका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

विपन्नता तथा विभिन्न कारणले रोग लुकाएर बस्न बाध्य गाउँलेलाई शिविरले रोगको पहिचानमा सहज भएको श्रेष्ठको भनाई छ। गण्डकी मेडिकल कलेज पोखराका प्रिन्सिपल रविन्द्र कुमार श्रेष्ठको नेतृत्वमा स्त्री रोग विशेषज्ञ हाडजोर्नी, रेडियोलोजी, बालरोग, छाला तथा यौन रोग विशेषज्ञ, नाक, कान घाँटको टोली सहित बेनीस्थीत निलगिरी डेन्टरमा कार्यरत डा. विवेक सुनारको डेन्टलको टोलीले सेवा दिएको छ ।

बेनी अस्पतालको प्राबिधिक सहयोगमा सञ्चालन शिविरमा धवलागिरी गाउँपालिका अन्तरगतका ताकम, मुना, मुदी, लुलाङका साथै छिमेकी मालिका गाउँपालिकाको देविस्थानबाट समेत विरामी आएका थिए । शिविरमा बिरामीको स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरण गरिएको थियो।

Leave a Reply