बिना झा /समानताको पुस्ता बलात्कार बिरुद्धको एक्यबद्धता यसपालीको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको नारा हो यो जुन प्राय बिद्यालयका विद्यार्थीहरुलाई बैनर सहित सडकमा जोर जोरले दोहोर्याउन लगाउदै घुमाउदै मनाउने क्रम शुरु हुन्छ । छन्द मिलेका यी हरफहरुका शब्द संयोजन र भाव पनि निक्कै कर्ण प्रिय छन । तर के बास्तवमा हामी समानताको पुस्ता निर्माणमा साच्चै जुटेका छौ ? कि हरेक बर्षहरु झैँ यसपाली पनि छन्द मिलाउन मात्रै शब्द संयोजन गरिएको हो ? गत बर्ष म्याग्दीमा एउटा अभियान शुरु गरिएको थियो “मलाई पनि केहि भन्नु छ “ यसमा बिशेष गरी स्कुले बालबालिकाहरु सहभागी थिए ।

शुरु शुरुमा अलि अप्ठ्यारो माने पनि बिस्तारै खुल्दै जाँदा घर देखि सडक र कतिपय अवस्थामा बिद्यालय प्रांगण भित्र पनि तिनले भोग्ने गरेका लैंगिक हिंसा बारे बोल्दा हामी मध्ये सबैको आँखा रसाएको थियो र कतिपय अवस्थामा पूर्ण आश्चर्य समेतको अनुभूति भएको थियो ।्यस्ता कार्यक्रमहरु बास्तव मै अति आवश्यक छ हरेक बिद्यालय तहहरुमा किनकी यसको माध्यमले कुरा बाहिर आउने संकेत पाउदा कतिपय पीडक सामाजिक प्रतिस्ठाको डरले सचेत हुने र पीडितले आफ्नो पिडा खोलेर भन्न पाउने कारण धेरै जसो लैंगिक हिंसा रोक्न मद्दत मिल्न सक्छ तर यस्ता कार्यक्रमहरुलाई पितृसत्तात्मक मानसिकताले जहिले पनि चुनौतीको रुपमा देख्छ र यस्ता अति आवश्यक कार्यक्रमहरु समेत धरापमा पर्छन किनकी मिडिया, नागरिक समाज र निर्णायक तहमा बसेका ब्यक्तिहरु लैंगिक सम्बेदनशीलतालाई खासै महत्वको बिषय बनाउन चाहदैनन ।

के यसरी बन्छ समानताको पुस्ता ? यसमा कुनै महिला वा पुरुष दोषी होइन यो त सामाजिक संरचनाले निर्माण गरेको सोचको असर हो जसले गर्दा कतिपय असमानताहरु सामान्य लाग्छ, संस्कृतिक निरन्तरताको रुपमा स्विकारिन्छ र मनमा कुनै प्रश्न नै जन्मदैन विभेद प्रति किनकी अन्तर मनमा त्यो विभेद नै होइन जस्तो महसुस हुन।

कतिपय पुरुष पनि पितृसत्तात्मक संरचनाका बिरोधि छन भने कतिपय महिला स्वयम यसका समर्थक किनकी यो कुनै व्यक्ति भन्दा पनि संरचना को दोष हो । बास्तवमा भन्ने हो भने समानताको पुस्ता तयार गर्नमा बिद्यालयको निक्कै ठुलो भूमिका रहन्छ यदी बिद्यालयका मुख्य ब्यक्ति लैंगिक सम्बेदनशिल छन भने त्यहाँ पढ्ने बालबालिका खुलेर मनका कुरा भन्ने बाताबरण बन्छ र कतिपय अवस्थामा कुनै ठुलो दुर्घटना हुन् बाट जोगिन्छ ।

समानताको अनुभूति ब्यबहारबाट गरिन्छ न कि शब्दबाट ्र बिद्यालय उमेरका बालबालिका निक्कै सम्बेदनशिल हुन्छन सम्बन्धहरु प्रति किनकी तिनलाई दीक्षित गर्ने तिनका परिवार र गुरुबर्ग निक्कै नजिक हुन्छन जहाँ बाट ती बालबालिकाहरु प्रभावित हुने र अनुकरण गर्ने गर्छन ्र त्यसैले समाजका हरेक ब्यक्ति त्यसमाथि पनि शिक्षण पेशामा लागेकाहरु झनै सजग हुनु पर्ने हुन्छ आफ्ना कार्य र ब्यबहार प्रति ताकी ती भाबी पुस्ताले समानता र सामाजिक न्यायको कुरा तिनका ब्यबहारहरु बाट सिक्दै जाऊन ।

यदी तिनै सम्मानित व्यक्तित्व द्वारा अमानवीय कार्य गरिन्छ र समाजमा रहेका बिभिन्न शक्तिहरुको आडमा तिनलाई फूलमाला र अबिर लगाई समाजमा सम्मान दिदै डुलाइन्छ भने त्यसले सिंगो समाजलाई अदृश्य रुपमा अपराध गर्न उक्साएको भनि बुझ्न सकिन्छ । जस्तो कि मानौ कुनै बालबालिकालाई गरिएको लैंगिक हिंसाको आरोपित बिभिन्न प्रभावले प्रभावित पारी उम्किन्छ र पितृसत्तात्मक संरचनाले तिनको संरक्षण गर्छ भने स्वत समाजमा त्यस्ता गतिबिधि बढ्ने नै हो ।

यदी एकातिर समानताको पुस्ता तयार गर्ने कुरा गरिन्छ र अर्को तिर छात्रालाई महिनाबारी हुँदा प्रयोग गरिने पैड्स तयारी गर्न सिकाउदा छात्रहरु पुस्तकालय, बिज्ञान प्रयोगशाला वा खेल मैदानमा रमाउछन भने कसरी निर्माण हुन्छ समानताको पुस्ता ? कुनै पनि शिप गलत होइन, यदी छात्र छात्रा संगै राखेर महिनाबारीमा प्रयोग गरिने पैड्स बनाउन सिकाउने हो भने ती छात्रहरु पनि केहि हद सम्म सम्बेदनशील हुन्थे किनकी तिनका परिवार, समाज र साथीहरुमा पनि महिनाबारी हुने उमेरका कोहि न कोहि त रहेकै हुन्छ ।

साथै यसले छात्राहरुले आफ्नो महिनाबरिको समयमा झोलामा लुकाएर ल्याउने पैड्स झिकी तिनलाई जिस्काउने र गिज्याउने कार्य बन्द गर्थे होला । सामान्य रुपमा बुझ्दा यदी पैड्स बनाउने शिप हो भने छात्र छात्रा दुबैलाई सिकाउनु पर्यो यदि होइन भने त्यस उमेरका छात्राका लागी पैड्स बनाउनु भन्दा पुस्तकालय,बिज्ञान प्रयोगशाला वा खेलमैदान बढी लाभदायक हुन्थ्यो कि ?

अर्को समस्याको रुपमा लैंगिक हिंसा सम्बन्धि छलफल र अन्तरक्रियामा पुरुष सहभागिता शुन्य हुनुले पनि लैंगिक सम्बेदनशिलता बढाउन चुनौती थप्छ । अन्य जिल्लाहरुमा झैँ म्याग्दीमा पनि महिला हिंसा संग सम्बन्धित कार्यक्रमहरुमा महिलाको कार्यक्रम भन्दै प्राय पुरुष सहभागी हुन् नचाहने प्रवृति ले गर्दा महिला सम्बन्धि समस्या समाजको नभई सिर्फ महिला मात्रको हो भन्ने गलत बुझाईको ब्यापकता रहेको देख्दा कुनै अचम्म त लागेन तर लैंगिक सम्बेदनशीलता प्रति सम्बन्धित निकायको मौनता देख्दा खासै उत्साहित हुन् सकिएन ।

त्यस्तै महिला हिंसा बिरुद्धको अभियान शुरु भए पछी बिभिन्न ठाउँमा आयोजना गरिने महिला स्वास्थ जांच शिविर त्यसमा पनि बिशेष गरी पाठेघरको निशुल्क जांच सुन्दा मनमा प्रश्न आउथ्यो किन अरु बेला तिनको स्वास्थ महत्वपूर्ण होइन र ? अनि सशक्तीकरणको नाममा आधारभुत ३ महिने सिलाई(कटाई र ब्युटिपार्लर सम्बन्धि प्रशिक्षणले तिनमा आत्म निर्भरता बढ्ला ? कि प्रमाणपत्र मात्रै थुप्रियेला ? कतिपय अवस्थामा लैंगिक हिंसा सम्बन्धित प्रशिक्षण दिने प्रशिक्षक नै अधुरो बुझाईका साथ प्रस्तुत हुदाको पिडा बिभिन्न तहका सहभागी महिलाहरुले सुनाउदा सहि व्यक्तिलाई सहि ठाउँ दिन नसक्ताको परिणाम कति सम्म घातक हुन्छ भनि सप्रमाण देखियो ।

भनिन्छ मौनता पनि एक किसिमको हिंसा नै हो । गलत देखेर पनि चुपचाप बस्नु कुनै न कुनै रुपले हिंसा लाई सघाउनु सरह हो । त्यसैले हाम्रो समाज हामीले नै बनाउनु पर्छ । बिशेष गरी सोच परिबर्तनका लागी नागरिक समाज नै अगाडी आउनु पर्छ । चाहे जुन सुकै पेशा अंगालौ तर समाजमा समानताको पुस्ता निर्माण गर्ने जिम्मा हाम्रो पनि हो ।
लेखक महिला अधिकारकर्मी हुन् ।