गोपाल आचार्य ÷ धवलागिरी गाउँपालिका–५, मलम्पारकी लालकुमारी छन्त्याललाई केही महिनायता खान मन नलाग्ने, मुख मिठो नहुने, आलस्य, कमजोरी हुने जस्तो समस्याले सताइरहेको थियो। भौगोलिक रुपमा विकट बस्तीमा बस्ने नेपालीले आफ्नो समस्यालाई सामान्य सम्झिएकी थिईन् ।

निको हुने विश्वासका साथ गाउँमै उपचार गराएपनि निको नभएपछि लायन्स क्लब अफ बेनी पिस सिटीले धौलागिरि गाउँपालिका–७, ताकममा आयोजना गरेको दुईदिने वृहत स्वास्थ्य शिविरमा चेकजाँच गर्दा कलेजोमा समस्या देखिएको चिकित्सकले जानकारी दिएपछि छागाबाट खसेजस्तै भईन् । छन्त्यालजस्तै ताकम हिलापोखरीकी अनिता नेपाली र चन्द्रकला नेपालीलाई काम गर्दा छिट्टै थकाई लाग्ने, काम गर्न गाह्रो हुने, हात खुट्टा गलेर आउने, खाना खान मन नलाग्ने जस्ता समस्याले पिरोलेपछि गाउँमै निशुल्क बृहत स्वास्थ्य शिविरमा पुगिन् ।

पेटमा पानी भरिएर निकै ठूलो समस्या भोग्दै आएका बिरामीलाई थप उपचारका लागि रिफर गरियो । सडक सञ्जाल पुगेको गाउँमा समेत जनचेतनाको अभावका कारण बेलाबेलामा पेट फुल्ने र ठूलो हुने समस्या देखिएपनि रोग पालेर बस्न बाध्य महिलाले गाउँमै डाक्टर आएको खवर पाएपछि जाँच गर्न पुगेका ८० बर्षिय धनबीर दमै, कुलबहादुर छन्त्यालले आफ्नो समस्या खुलेर डाक्टरलाई सुनाए ।

शिविरमा घरमै रोग लुकाएर बसेका धेरै बिरामीले सेवा पाएका छन् । ‘खुट्टाले नसक्ने भएका कारण स्वास्थ्य चेकजाँचमा टाढा जान सकेको थिईन्,‘घरदैलोमा डाक्टर आउँदा सजिलो भयो’ बृद्ध हर्कलाल हर्मेलले भने । उनले डाक्टरले दिएको औषधी नियमित खाने बताए ।

दुर्गम भेगका सर्वसाधारणहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरमा जटिल रोगका समस्या भएका बिरामीको पहिचान गरिएको क्लबका अध्यक्ष नरेश श्रेष्ठले बताए। ‘पहुँचको अभावमा रोग लुकाउनुभएका धेरै बिरामीलाई गाउँमै सेवा दिन पाइएको छ,‘भविस्यमा पनि यस्तै सेवामुलक कार्यलाई निरन्तरता दिन्छौ’ श्रेष्ठले भने । बृद्धबृद्धामा प्रायः एउटैखाले समस्या देखिएको उनले बताए ।

महिला र बृद्धबृद्धाले रोग लुकाउने गरेको देखिएको उनको भनाई छ। शिविरमा मेडिकल कलेज पोखराका स्त्रीरोग विशेषज्ञ डा. सविता थापा,मेडिसिन तिर्थलाल उपाध्याय,हाडजोर्नी डाक्टर कृष्णबहादुर विष्ट,रोडियोलोजी डा. नवराज पौडेल, बालरोग डा. रासनी बास्ताकोटी, ,छाला तथा यौनरोग डा. सौरभ अर्याल,नाककान,घाटी डा. पुशेव्र शाह, र दन्तरोग टिकाराम गुरुङ सहित २३ जनाको चिकित्सकको टोलीले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा नाककान घाटीका दुईसय १० ,हाडजोर्नी दुइसय ७०,छाला तथा यौन रोगका एकसय पचास,पेट,छाती र मुटी रोगी,तिनसय,दन्त सम्बन्धि दुइसय पचास र स्त्रीरोग २५० जना, भिडियो एक्सरे २ सय, जनाले शिविरबाट सेवा लिएको क्लवले जनाएको छ । शिविरमा करिव १३ सयको हाराहारीमा बिरामीले सेवा लिएको क्लवले जनाएको छ ।

शिविरमा ताकम बाहेक गाउँपालिकाको मुना, मुदी, लुलाङ, मराङ र छिमेकी मालिका गापाको देविस्थानबाट समेत सर्वसाधारणहरु स्वास्थ्य सेवा लिन शिविरमा आएका थिए ।

शिविरमा विरामीहरुलाई निशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो । शुक्रबार शिविरको उद्घाटन गर्नुहुँदै संविधानसभाका सदस्य नवराज पौडेलले लायन्सले दुर्गम भेगका सर्वसाधारणहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न शिविरको आयोजना गरेर उदाहरणीय कार्य गरेको बताए । त्यस्तै पैसाको अभावमा रोग पालेर बसेका दुर्गमका सर्वसाधारणहरुलाई शिविरबाट ठूलो राहत महशुष गर्ने गाउँपालिका अध्यक्ष थमसरा पुनले बताईन् ।

क्लबका संस्थापक तथा ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यले आर्थिक अभावकै कारण उपचारबाट बन्चित भएकालाई विभिन्न माध्यमबाट सदरमुकाम तथा गाउँमै सेवा दिन तयार रहेको बताए। गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डाक्टर रविन्द्र श्रेष्ठले गाउँपालिकाबाट मेडिकल कलेज पोखरामा उपचार गर्न आएमा १० प्रतिशत छुट दिने बताए । ‘रोग पालेर बसेका बिरामीको खोजीमा शिविरको ठूलो योगदान छ,‘महिलाहरुले लाजले रोग लुकाउँछन’ डा. श्रेष्ठले भने ।

उनले घरपरिवारको असहयोगले समेत उपचारको अभावमै मृत्यु रोज्नुपर्ने बाध्यता समेत रहेको बताए । ओमकुमारी शान्तिकोष सहआयोजक भएको शिविरको धौलागिरि जन युवाक्लब ताकम र स्थानीय आमा समुहले व्यवस्थापन गर्नुभएको थियो । क्लब र चिकित्सक सहितको टोलीलाई ताकमवासीहरुले नौमति बाजाले भव्य स्वागत समेत गरेका थिए । यसैबीच रिफर गरिएका बिरामीलाई लायन्स र ओमकुमारी शान्ति कोषमार्फत उपचारमा सघाउने प्रतिबद्धता जनाइएको छ ।

Leave a Reply