---Advertisement---

गाउँपालिकाको योजना सुन्दै मंगला माविका विद्यार्थी

On: December 25, 2019 8:52 PM
Follow Us:

मंगला गाउँपालिका–२, बाबियाचौरमा रहेको मंगला मावि कक्षा १० मा अध्ययनरत अनुषा सापकोटाले गाउँपालिका भित्रका विकास निर्माण सहितमा सम्रग योजनामा बारेमा सञ्चारमाध्यमबाटै जानकारी पाउने गरेकी थिईन् । उनीजस्तै प्रमिला पौडेलले आफ्नै विद्यालय नजिक रहेको गाउँपालिकाका गतिविधिहरु विभिन्न कार्यक्रमको अवसरमा शिक्षक तथा अभिभावकबाट जानकारी पाउने गरेकी थिईन् ।

विद्यालयको कक्षा १० मा अध्ययनरत ५० जना विद्यार्थीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले विद्यालयमै आएर विद्यार्थीलाई सम्रग गाउँपालिकाको गतिविधि सुनाएपछि अचम्म माने। विद्यार्थीलाई सम्बोधन गदैं शिक्षा सहित गाउँपालिकाको नियमित तथा दिर्घकालिन योजना सुनेपछि विद्यार्थीले समेत खुसी मानेका थिए ।

गुणस्तरीय शिक्षाका लागि विद्यालयले सुरू गरेको ‘विषय विज्ञ’सँग विद्यार्थी अभियान अन्तरगत बुधबार प्रशासकीय अधिकृत गौतमले विद्यार्थीलाई स्थानीय तहको योजना तर्जुमा तथा कार्यान्वयन प्रक्रियाका विषयमा जानकारी गराएको विद्यालयका सामाजिक शिक्षक हुमनाथ पाण्डेले बताए।

‘उहाँको उपस्थितीले विद्यार्थी थप जिज्ञासु बनेका थिए,‘हामीले ब्यवहारिक शिक्षालाई उच्च प्राथमिकता दिएका छौ’ पाण्डेले भने । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत गौतमले विद्यार्थीसँग करिव एक घण्टा विताएका थिए ।सोही अवसरमा गौतमले विद्यार्थीको जिज्ञासालाई सम्बोधन गदैं गुणस्तरीय योजना तथा कार्यान्वयनमा विद्यार्थीले समेत चासो देखाउनुपर्ने बताए ।

‘मैले सबै माविमा यो अभियानलाई जोड्ने छु,‘विद्यार्थीमार्फत समुदायमा पुग्ने सन्देशको प्रभाव दिर्घकालिन हुन्छ’ गौतमले भने । उनले विद्यार्थीको सक्रियतामा समाजमा सकारात्मक गतिविधिलाई नेतृत्व गर्न सकिने भएकाले पनि मंगला माविको अभ्यास निकै उत्कृष्ट भएको बताए । सोही अवसरमा विद्यालयका प्रधानाध्यापक गम बहादुर खत्रीले विद्यार्थीलाई पाठ्यक्रममा आधारित शिक्षा बाहेक ब्यवहारिकलाई समेत प्राथमकिता दिएको बताए ।

विद्यालयको सोही अभियान अन्तरगत मंगलबार गरिमा विकास बैंक बावियाचौर शाखाका प्रबन्धक जितबहादुर गर्बुजाले वित्तिय शिक्षाका बारेमा जानकारी गराएका थिए । यसैबीच गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले समेत विद्यार्थी केन्द्रित कार्यक्रम अन्तरगत विभिन्न योजनाहरुमा विद्यालयमै पुगेर यस अगाडी सुनाइसकेका छन् । गाउँपालिकामा विद्यार्थीसँग जनप्रतिनिधि भन्ने अभियान समेत रहेको छ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।