सुवास लामिछाने/ जिल्ला अस्पताल पर्वतले मृगौला उपचारका लागि डायलासिस सेवा सुरु गर्ने भएको छ । अस्पतालमा सेवा सुरु भएपछि पर्वतका मृगौला रोगीले चर्को शुल्क तिरेर डायलासिसका लागि निजी अस्पताल तथा पोखरा काठमाडौंं धाउनु पर्ने छैन ।आर्थिक अवस्था कमजोर भएकाहरूले यो सेवाबाट बढी लाभ लिन पाउनेछन् । अस्पतालले पहिलो पटक मृगौला बिग्रेपछि रगत सफा गर्ने डायलासिस सेवा दिन लागेको हो । चर्को शुल्क तिरेर निजीमा जाने बिरामीले अब सरकारी अस्पतालमा नै निःशुल्क सेवा पाउने अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडीले बताए ।

मृगौलाको उपचारका लागि ३ वटा डायलासिस मेसिन ल्याउन थालेको पहाडीले जानकारी दिएका छन् । आर्थिक अभावले गर्दा कुनै पनि बिरामीको मृत्यु नहोस् भन्नका लागि निःशुल्क सेवा दिन लागिएको उनी बताउँछन् ।

मृगौला रोगका बिरामीको किड्नी फेल भएपछि डायलासिस सेवा लिन जरुरी छ । डायलासिस गरिएन भने बिरामी नबाँच्ने चिकित्सक बताउँछन् । धौलागिरि अञ्चलमा केही समय अघि बागलुङ अस्पतालले मात्र डायलासिस सेवा सुरुवात गरिएको भए पनि म्याग्दी, मुस्ताङ र पर्वतमा भने अहिले सम्म यो सेवा थिएन ।

जिल्ला अस्पतालमा यहि फागुनको पहिलो साता भित्रै डायलासिस सेवा सुरु गर्ने तरिकाले आफू लागेको पहाडीले बताए । त्यसको लागि अस्पतालले ६ जना स्टाफ नर्सलाई तालिम दिन लगाइसकेको उनले बताए । डायलासिसका ३ वटा मेसिन पनि अस्पतालले पुषको दोस्रो साता भित्र भित्र्याउदै छ । जसको लागि अहिले मेसिन राख्ने ठाउँको तयारीमा अस्पताल ब्यवस्थापन समिति लागिपरेको हो ।

पहाडीका अनुसार प्रदेश सरकारले डायलासिसका ३ वटा मेसिन सहयोग गर्दैछ भने १ मेसिन बेल्जियम बस्ने पर्वतेलिहरुको तर्फबाट प्राप्त हुनेछ। देशभरका सरकारी अस्पतालको सेवा खस्कदो अवस्था भएको बेला यहाँ भने एक पछि अर्को सेवा थपिदै लगिएको छ ।यो बाहेक अन्य सेवाहरु पनि थप्ने तयारीमा अस्पताल लागिपरेको छ। निकट भविष्यमा न्युरो सर्जरी सेवा पनि सुरु गर्ने तयारी अस्पतालको छ । सरकारी अस्पतालमा पर्याप्त सेवा नहुँदा सर्वसाधारणले महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो ।

Leave a Reply