(केशब कँडेल) म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा रहेको मंगला माविमा कक्षा कोठा भवन निर्माण भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई (शिक्षा)को आर्थिक तथा प्राबिधिक सहयोगमा चार कोठे पक्की भवनको शुक्रबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर केसीले उद्घाटन गर्नुभयो ।

उहाँले प्राधिकरणमार्फत निर्मित भवनले पठनपाठनमा सहज हुने बताउनुभयो । प्राधिकरणको ६९ लाख ६९ हजार ६०० रुपैयाँ अनुदान र विद्यालयको ८ लाख २१ हजार ४५० रुपैयाँ गरी कुल ७७ लाख ९१ हजार ५० रुपैयाँको लागतमा भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यालयमा पूर्वाधारको आवश्यकता रहेको बताउनुभयो । सोही अवसरमा गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, वडा अध्यक्ष धनबहादुर खाति, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, अभिभावक लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

भुकम्पले जिर्ण भएको भवनमा पठनपाठन असहज भएको अवस्थामा भवन निर्माणले सहज भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर अधिकारीले बताउनुभयो । विद्यालयमा रहेको एउटा पुरानो भवन समेत चुहिने अवस्थामा रहेकाले बर्खाको समयमा पठनपाठनमा समस्या भइरहेकाले थप सहयोगको अपेक्षा गरिएको अध्यक्ष अधिकारीको भनाई छ।

विद्यालयमा कक्षा ९ मा प्राविधिक तर्फ कृषि विषयको पठनपाठन समेत भइरहेको छ भने विद्यालयका शिक्षकले रचनात्मक कार्यलाई समेत प्रोत्साहन दिने गरी जन्मदिनमा उपहार सहित पठनपाठनमा विषयगत विज्ञहरुलाई समेत प्रयोग गर्ने गरेका छन् । उद्घाटन कार्यक्रमको अध्यक्षता बिब्यस अध्यक्ष अधिकारी, स्वागत प्रअ खत्री र सञ्चालन शिक्षक होमनाथ पाण्डेले गर्नुभएको थियो ।

Leave a Reply