म्याग्दीको बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट झण्डै डेढसय जना महिलाहरु लाभान्वित भएका छन् । अन्ष्टेट्रिक, फिस्टुला र पाठेघर खस्ने रोगीको स्क्रिनिङ रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी शिविरमा महिलाले उपचार सेवा लिएका हुन् ।

बेनपा–१, रत्नेचौरको स्वास्थ्यचौकीमा आयोजित शिविरमा जाँच गराएका १ सय ३७ जना महिलाहरुमध्ये १ सय ३ जनाको पाठेघरको मुखमा क्यान्सरको जाँच गरिएको स्वास्थ्य शाखाले जनाएको छ । तीमध्ये १३ जना महिलामा क्यान्सरको शङ्का पत्ता लगाइएको, ७ जना महिलाको पाठेघर खस्ने समस्या भेटिएकाले रिङपेशरी राखिएको र १३ जना महिलाहरुलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर गौरव भट्ट, बेनपाका स्वास्थ्य संयोजक लिला गौतम र रत्नेचौर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले शिविरमा आएका महिलाहरुको उपचार गर्नुका साथै परामर्श सेवा उपलब्ध गराएका थिए । हालसम्म बेनी नगरपालिका अन्तर्गत ३ ओटा वडामा महिलालक्षित शिविर सम्पन्न गरिएकोमा बाँकी सबै वडामा पनि शिविर सञ्चालन गर्ने तयारी रहेको छ ।

शिविर उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले महिलाहरुलाई लक्षित गरेर शिविर सञ्चालन गर्न नगरपालिकाले जोड दिएको बताए । बेनपाका उपप्रमुख सन्जु बरुवालले ग्रामीण भेगका महिलाहरुको स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना गरिएको बताउँदै यसलाई निरन्तरता दिने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा र बेनी अस्पतालका डा. भट्टले पनि मन्तव्य राखेका थिए ।
रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलको अध्यक्षता, स्वास्थ्यचौकी इन्चार्ज होमनाथ गौतमको सञ्चालन र सिनियर अनमी सरितादेवी शर्माको स्वागतमा सम्पन्न शिविर उद्घाटनसत्रमा स्वास्थ्य संयोजक गौतमले शिविर आयोजना गर्नुको उद्देश्य र आवश्यकतामाथि प्रकाश पारेकी थिइन् ।

Leave a Reply