पुष्प दुलाल / पृष्ठभूमिमा मुस्कुराइरहेको धौलागिरी हिमाल । वरिपरि ठूल्ठूला पहाड । हरियो बनजंगल । चराचुरुङको चिर्बिरचिर्बिर आवाज । स्वाँ गर्दै सुसाएको कालिगण्डकी । स्वच्छ हावाको सिरसिरे सिरेटो । वारी फाँटमा सुन्दर बजार ।

पारिपट्टी तारेभिर ।वर्णन गर्दा शब्दहरु नै गल्लान् कि जस्तो हुने यो ठाउँ हो पर्वतको कुस्मा र बागलुङको बीचमा रहेको कालिगण्डकीमा निर्माणाधीन विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, स्काइ साइक्लिङ र स्वीङको । यो बञ्जी जम्पका २ वटा विशेषता छन् ।पहिलो हिमाल हेर्दै बञ्जी गर्न पाइने नेपालको पहिलो बञ्जी । बञ्जी गर्ने स्थानबाट मात्रै होइन, बञ्जीको डोरीमा झुन्डिएको अवस्थामा पनि धौलागिरि हिमाल देखिन्छ । सायदै संसारको पनि पहिलो हुनसक्छ ।

दोस्रो, विश्वकै दोस्रो अग्लो झोलुङगे पुलबाट गरिने बञ्जी । यो बञ्जीको उचाइ करीव २२८ मिटर अग्लो छ । कालीगण्डकीको यो बञ्जी भोटेकोशीकोभन्दा ६५ मिटर अग्लो हो ।बागलुङ र पर्वतलाई पुलैपुलको जिल्लाको रुपमा समेत चिनिन्छ । यहाँ दर्जनौं अग्ला झोलुङगेहरु छन् ।

हालसम्म विश्वमा बनेका बञ्जीजम्पमध्ये चीनले सन् २०१८ मा बनाएको बञ्जीजम्प विश्वकै सबैभन्दा बढी उचाइ भएको बञ्जीजम्प मानिन्छ । सिसाको पुलसहितको त्यस बञ्जीजम्पको उचाइ २६० मिटर छ । दोस्रोमा मकाउ टावरको उचाइ २३३ मिटर छ ।यो पुलको लम्बाई ५२५ मिटर छ । पुलले बागलुङको नारायणस्थानलाई जोड्छ । जहाँ रिसोर्ट निर्माण भइरहेको छ ।

२०७३ बैशाख ११ गते शिल्यानास भएको उक्त बञ्जीजम्प २०७७ बैशाखदेखि सञ्चालनमा आउने आयोजनाको प्रवद्र्धक कम्पनी दि क्लिफका सञ्चालक नेत्र पराजुलीले जानकारी दिए ।

बञ्जी र स्वीङका लागि बनाइने पुल ठूल्ठूला प्वालसहितको एडभेञ्चर्स फिल गराउने खालको छ । पुलबाट हिँड्दा तल नदी छर्लङ्गै देखिन्छ, जसले पर्यटकलाई आकाशमा हिँडेजस्तो अनुभव दिलाउनेछ । पुलका केही भागमा सिसा लगाइने छ । र, ४ ठाउँमा फोटो खिच्ने स्टेशन पनि बनाइएको छ ।पुलमा ८ वटा लठ्ठा छन् । एउटा लठ्ठाको भारवहन क्षमता २१० टन छ ।नेपालमा अहिलेसम्म यस्ता किसिमका पुलहरु नबनेको पराजुलीको दाबी गर्छन् । यो पुल एशियाको सबैभन्दा अग्लो पनि हो ।

यो बञ्जीबाट खोलामा झरेर हिँड्दै माथि आउनुपर्दैन । यसमा रहेको हृवीङको सिष्टमले आफैं तानेर पुलमा ल्याउनेछ । बञ्जीमा ४ देखि ५ सेकेन्डको फ्री फल हुनेछ । बञ्जी गरेर पुलमा फर्किन करीब ५ मिनेट लाग्ने छ । स्वीङको फ्रि फल १० सेकेन्डको हुनेछ । स्वीङ गर्न करीब ६ मिनेट लाग्ने बताइएको छ । यो स्वीङ विश्वकै लामो भएको पराजुली बताउँछन् । स्वीङको लम्बाइ ६०० मिटर छ ।

‘खासगरी, पोखरा आउने र मुस्ताङ जाने पर्यटकलाई लक्षित गरेर हामीले बञ्जी जम्प, स्काई साइक्लिङ र स्वीङ बनाएका हौं,’ बञ्जी गर्ने ठाउँबाट धौलागिरी हिमालको दृश्य देखाउँदै सञ्चालक पराजुलीले भने, ‘यति सुन्दर ठाउँमा एकपटक आउन मन कस्लाई पो नलाग्ला र ?’

यो परियोजनाका लागि २० करोड रुपैयाँ खर्च लाग्ने उनले जानकारी दिए । ११ जना प्रवद्र्धकहरुले १२ करोड रुपैयाँ लगानी गरेको र ५ करोड रुपैयाँ प्रभु बैंकबाट ऋण लिएर खर्च गरिसकेको पराजुलीले बताए । र, थप ३ करोड रुपैयाँ प्रभु बैंकसँग ऋण माग गरेको पनि उनले सुनाए । उक्त ऋण स्वीकृत भइसकेको छ ।

पुल तरेपछि बागलुङको नारायणनाथ पुगिन्छ । त्यहाँ स्तरीय रिसोर्ट बनिरहेको छ । रिसोर्ट छेउबाट स्काइ साइक्लिङ छ । डेढ सयम मिटर साइक्लिङ गरेर अर्को डाँडामा पुगिन्छ । त्यहाँ कफी हाउस सञ्चालन हुनेछ ।

२० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा पहिलो चरणमा ३० वटा रुम बनाउने र दोस्रो चरणमा २० वटा रुमहरु थपेर ५० पुर्‍याइने उनले जानकारी दिए ।

रिसोर्टमा भिल्लाजहरु बनाइने छ । स्वीमिङ पुल, स्टिम वाथ र वातानुकुलित रुमहरु रहनेछन् । यो ठाउँ पोखराबाट ५७ किलोमिटर दुरीमा रहेको छ भने मुस्ताङ जाने बाटोबाट करिब २ किलोमिटर दूरीमा छ ।

ह्याङ्गिङ ब्रिजमा रसियामा ४१५ मिटर लामो पुल छ । रसियाको उक्त पुलको डिजाइन अनुसार नेपाली इञ्जिनियर आरके मल्लिकले यो पुलको डिजाइन गरेका हुन् । यस्तो झोलुङगे पुल विश्वकै लामो भएको पराजुलीको दाबी छ

शुल्क कति ?

यो पुल तर्दा पनि शुल्क लाग्छ । तर, के कति रकम लिने भनेर निर्धारण गरिनसकिएको उनले जानकारी दिए । बञ्जी, स्वीङ र स्काइ साइक्लिङको मुल्य पनि निर्धारण नगरिसकिएको उनले जानकारी दिए । यद्यपि भोटेकोशीभन्दा केही महंगो हुने उनके अनुमान छ ।

यसरी आयो बञ्जीको आइडिया

अहिले बञ्जी बनाइरहेको स्थानभन्दा केही तल अर्को निकै अग्लो झोलुङे पुल बनाइएको छ ।स्थानीयबासीको पहलमा नेपाल सरकारले उक्त पुल बनाइदिएको हो । उक्त पुल बनाउने बेलामा स्थानीय विकास मन्त्रालयको सचिव दिनेश थपलिया थिए । उनै थपलियाले बञ्जी जम्पसहितको पुल बनाउन सुझाब दिएको पराजुली बताउँछन्।

त्यसपछि मात्रै आफूहरुमा बञ्जी जम्प बनाउनुपर्छ भन्ने चेतना आएको उनले सुनाए । र, उनीहरुले दि लास्ट रिसोर्टको राजु कार्कीसँग सल्लाह गरे । कार्कीकी श्रीमति विदेशी नागरिक तर अहिले अंगिकृत नागरिकता लिएर नेपाल बसिरहेकी छन्

‘हामी सरकारी पुलमै बञ्जीजम्प बनाउने तयारीमा थियौं । अनुमति पनि पायौं । तर, राजु भाईको श्रीमतिले सरकारको पुलमा बञ्जी बनाउँदा अख्तियारदेखि अनेक लफडा भोग्नु पर्छ, निजी पुल हालेर बञ्जी बनाउने हो भने मात्रै आफूले लगानी गर्ने बताउनु भयो । र, हामीले त्यसै गर्यौं,’ पराजुलीले भने ।

निजी पुल बनाउने बेलामा दिनेश थपलिया पर्यटन सचिव थिए । उनीहरु पर्यटन मन्त्रालय पुग्दा सचिव थपलियाले फटाफट काम गरिदिए । छेउछाउमा सरकारी जग्गा नपरेकाले र थपलिया पर्यटन सचिव भएकाले स्वीकृति लिन सजिलो भएको पराजुलीले सुनाए ।तैपनि सबै प्रक्रिया पूरा गर्दा १ वर्ष लाग्यो ।यो बञ्जी सञ्चालनमा आएपछि नेपालको साहसिक पर्यटनमा नयाँ आयाम थपिने पराजुली बताउँछन् । Copyright: clickmandu.com

Leave a Reply