डा अच्युत अधिकारी/ युनेस्को अन्तर्गतको एकेडेमी अफ साइसेन्स फर डेभलपिङ वर्ल्डले प्रत्येक वर्ष विकासोन्मुख मुलुकहरूका वैज्ञानिकहरूलाई दिने ५ हजार डलर राशीको पुरस्कार मैले पाएको छु। मैले १४ वर्षसम्म औषधीजन्य जडीबुटीमा गरेको अनुसन्धान हेरेर यो पुरस्कार दिइएको हो। पुरस्कारका लागि आफूले गरेको मुख्यरमुख्य कामको सूची उल्लेख गर्न भनिएको थियो। त्यसमा मैले टिमुरमा विशेष काम गरेको छु,जसले गर्दा भोलि नेपालको अर्थन्तन्त्रमा राम्रो हुन सक्छ भनेर लेखेको भएर टिमुरकै कारण पाएको भन्दा अन्यथा हुँदैन।

टिमुरको फाइदा के हो ?
हजारौं वर्षदेखि मान्छेले टिमुर खाइरहेका छन्। आयुर्वेदमा पनि यसबारे लेखिएको छ। मैले भन्दा पहिला भारतमा पनि अनुसन्धान भएको छ। नेपालमा पनि हाम्रा केही अग्रजहरूले क्यान्सरको उपचारका लागि यसको अनुसन्धान गरेका छन्।आयुर्वेदका अनुसार टिमुरले उच्च रक्तचापलाई नियन्त्रण गर्छ भने कलेजोको सुरक्षा गर्छ। त्यस्तै ’फुड पोइजनिङ’ हटाउँछ। टिमुरले दाँतको सुरक्षा गर्छ समेत भनिन्छ।

टिमुरबाट रसायन निकालेर हामीले अनुसन्धान गर्दा यसले मधुमेह र रक्तचापलाई नियन्त्रण गर्छ भनेर पत्ता लगायौं। यसबारे हामीले फ्रान्सका अनुसन्धानकर्तासँग मिलेर युरोपियन जर्नलमा कृति प्रकाशन गरेका छौं। यसैगरी यसले कलेजोको पनि सुरक्षा गर्छ भनेर हामी कृति प्रकाशन गर्ने तयारीमा छौं। हामीले गरेको अनुसन्धान अनुसार यसले बजारमा भएको औषधिभन्दा पनि राम्रो सुरक्षा गर्छ। यो औषधि बनेर आइसकेको छैन। यो औषधि बन्न सक्ने अनुसन्धान गरेका हौं। हामीले अझै अनुसन्धान गर्दै गएको खण्डमा औषधि बनाउन सकिने किसिमको रसायन टिमुरबाट आउँछ।

दाँत कीराले खाएको अवस्थामा पनि टिमुर धेरै उपयोगी हुन्छ। टिमुर र टिमुरबाट निस्किएको रसायनले दाँत कीरा लाग्ने व्याक्टेरियालाई मारेको ९४ प्रतिशत भेटिएको छ।डा. कृष्ण देवकोटा सरले क्यान्सरमा काम लाग्छ भनेर अनुसन्धान गर्नुभएको छ। भारतमा पनि यसको अनुसन्धान भएको छ।जापानसँग मिलेर हामीले मधुमेहको बारेमा अझै अनुसन्धान गर्दैछौं। टिमुर खाएमा लेक लाग्दैन भनिन्छ।

टिमुरमा के त्यस्तो रसायन हुन्छ जसले गर्दा लेक लाग्दैन भनेर हामीले अध्ययन गर्न लागेका छौं। टिमुरले उच्च रक्तचापलाई ठीक गर्छ भन्दैमा यसको औषधि खानेहरूले नछोड्नूहोला।आयुर्वेदमा कति डोज खाने भनेर लामो अध्ययन चाहिन्छ त्यो हामीले गर्न सकेका छैनौं। तर परम्परागत रूपमा चटनीमा हालेर खाने टिमुरले भने शरीरलाई फाइदा गर्छ। यसले ’फुड प्वाइजनिङ’ हुन दिँदैन।पहिला पहिला हैजा हुँदा पनि टिमुरको प्रयोग हुन्थ्यो। यसबारेमा पनि अध्ययन भएको छैन। मुखको क्यान्सरको उपचारमा पनि यसको प्रयोग हुनसक्छ।

कसरी भयो अनुसन्धान?
टिमुरबाट हामीले ठूलो मात्रामा ’टम्मबुलिन’ भन्ने रसायन भेट्टाएका छौं। यसबारेमा थप अध्ययन गर्न जरुरी छ। हामीले चटनीमा,चियामा हालेर खानु पनि राम्रो रहेछ। त्यसले दाँत किराले खान दिँदैन भने पेटको गडबढ हुन दिँदैन। टिमुरबाट आएको रसायनलाई भोलिका दिनमा अझै अनुसन्धान गर्यो भने त्यसको औषधि हुन सक्छ। पहिलै अनुसन्धान भएको पनि होइन। टिमुरबाट निस्किएको रसायनमा यो(यो राम्रो गुण हुन्छ,अब अझै थप अनुसन्धान गर्ने हो भने भोलिका दिनमा यो औषधि बन्न सक्छ भन्ने हामीले पत्ता लगाएका हौं।

अहिले हामीले अन्तर्रा्ष्ट्रिय जर्नलमा मात्रै प्रकाशित गरेका छौं। कसैले प्रमाणित गरेर दिएको होइन। अन्तर्रा्ष्ट्रिय जनरलमा त्यसै प्रकाशित भने हुँदैन। त्यसको लागि पनि धेरै प्रमाणहरू देखाउनुपर्छ। हामीले रक्तचाप नियन्त्रणमा आवश्यक रसायन निकालिसकेपछि फ्रान्सको विश्वविद्यालयमा सुँगुरलाई परीक्षण गरेका थियौं। त्यसो गर्दा सुँगुरलाई मुटुमा ९२ प्रतिशतले आनन्द महुशुस भएको थियो। मुसालाई मधुमेह गराएर टिमुरबाट निकालेको रसायन खुवाउँदा ठीक भयो।

मधुमेह भएको बेलामा प्यानक्रियाजले ‘इन्सुलिन’ निकाल्दैन । तर टिमुर खुवाएपछि त्यसले इन्सुलिन निकालेको थियो। सुँगुरको अनुसन्धान फ्रान्समा र पाकिस्तामा मुसामाथि अध्ययन गरिएको हो।यसले कलेजोको सुरक्षा अझै राम्रो तरिकाले गर्छ भनेर हामीले पाकिस्तानमै अध्ययन गरेका हौं। भारतमा त कलेजोका रोगीहरूलाई टिमुर उमालेर खुवाइने रहेछ तर त्यसमा कुन रसानय हुन्छ र त्यसले कसरी ठीक गर्छ भनेर हाम्रो टोलीले अनुसन्धान गरेको हो।कतिपय दन्त मञ्जनमा टिमुरकै प्रयोग हुन्छ। दाँतको सुरक्षा गर्छ भनेर नयाँ तथ्य नै पत्ता लागेको छ।

कलेजो रोगको लागि बजारमा पाइने औषधिले भन्दा टिमुरबाट आउने रसायनले राम्रो गर्छ भनेर अनुसन्धानले भनिसकेको छ तर अहिले यो मुसामा मात्रै परीक्षण गरिएको छ। मुसापछि बाँदर र त्यसपछि बल्ल मानिसका लागि औषधि बनाइन्छ। यसको प्रक्रिया लामो छ। हाम्रो पहाडदेखि हिमालसम्म टिमुर लगाउन सकिन्छ। यसले गरिब किसानलाई फाइदा पुग्छ अन्य क्षेत्रमा केही नभए पनि टिमुर लगाउन सकिन्छ। मैले यही भएर टिमुरको अनुसन्धानमा अलि धेरै प्रयास गरेको छु। रसायनशास्त्र केन्द्रीय विभाग कीर्तिपुर Source: setopati.com