संरक्षण अभावमा ढोलठानका तत्कालीन राज डिम्बबम मल्लको डढेकोट दरबार खण्डहरमा परिणत भएको छ। नेपाल एकीकरणका लागि तत्कालीन राजा पृथ्वीनारायण शाहले ससाना राज्यहरूलाई आक्रमण गर्ने क्रममा गोर्खाली सेनालाई पराजित गरेर शक्तिशाली राज्य मानिएको तत्कालीन  पर्वत राज्यका एकीकरणकर्ता राजा डिम्बबम मल्लको ग्रिष्मकालीन राजधानी ढोलठाननजिकै रहेको यस दरबारको ऐतिहासिक र पुरातात्विक महत्व छ।

पृथ्वीनारायण शाहको देहवसानपछि बहादुर शाहले विसं १८४० मा  ढोलठानका तत्कालीन राजा डिम्बबम मल्लसँग युद्ध गर्न गोर्खाबाट सेना पठाएका थिए। युद्धका लागि आफ्नो राज्यतर्फ गोर्खाली सेना आएको खबर पाएपछि डिम्बबम मल्लले पर्वते फौज लिई बहादुर शाहका सेनालाई बाटोमा नै रोकेर युद्ध गरेका थिए।

पर्वतको ज्ञादी र सिरुवारीमा भीषण युद्ध हुँदा डिम्बबम मल्लले गोर्खाली सेनाका ५ सय जना सैनिकलाई मार्नुका साथै युद्धमा बँचेका अरू सैनिकलाई पक्रेर बेनीमा ल्याई थुनामा राखिएको इतिहासमा उल्लेख रहेको इतिहासकार कर्णबहादुर बानियाँले जानकारी दिए। ‘नेपालको संक्षिप्त इतिहास’ नामक पुस्तकमा उल्लेख भएअनुसार ढोलठान तत्कालीन पर्वत राज्य अन्तर्गतको सबैभन्दा शक्तिशाली राज्य थियो।

यहाँका राजा डिम्बबम मल्लले ढोलठानलाई ग्रिष्मकालीन र बेनीलाई शीतकालीन राजधानी बनाएका थिए। गर्मीमा ढोलठान र जाडोमा बेनीको दरबारमा बसेर राज्य सञ्‍चालन गर्ने गरेका प्रशस्तै प्रमाण भेटिएका इतिहासकार बानियाँले बताए। बानियाँका अनुसार यस क्षेत्रमा प्रचलित ‘कहिले राजा बेनी बागलुङ, कहिले राजा ढोर’ लोकगीतले पनि राज डिम्बबम कहिले बेनी र कहिले ढोलठानलाई राजधानी बनाउथे भन्ने कुराको पुष्टि गर्दछ।

अलपत्र दरबार

विसं १८४२ मा पुनः दोस्रोपटक बहादुर शाहले गोरखा र पाल्पाको संयुक्त फौज पठाई पर्वते सेनालाई पराजित गरेपछि पर्वत राज्यलाई विशाल नेपालमा गाभ्न सफल भए। यस्तो दरबिलो र गर्विलो इतिहास रहेको ऐतिहासिक विरासतको स्थल डढेकोट दरबार अहिले भने अलपत्र अवस्थामा रहेको स्थानीय वुद्धिजीवी नीलकण्ठ शर्माले जानकारी दिए।

राजा डिम्बबम मल्लले पुरातात्विक शैलीमा निर्माण गरेको  दरबारमा आगलागी भएपछि उनले ढोलठानमा पुनः अर्को दरबार बनाएर तल सरेका र आगोलागेर डढेकोले पुरानो दरबार रहेको ठाउँलाई डढेकोट दरबार भनिएको स्थानीय शिक्षक एवं बुद्धिजीवि शिव बानियाँले बताए। सुरक्षित छ कोत डढेकोट दरबार रहेको ठाउँका ढुंगा र पर्खाल अहिले अलपत्र अवस्थामा रहेका छन्। दरबारनजिकै रहेको कोत भने स्थानीयले सुरक्षित राखेका छन्। त्यो कोतमा विभिन्न आकृतिका ढुंगाका मूर्ति, त्रिशूल लगायतका पुरातात्विक सामग्रीहरू अहिलेसम्म पनि सुरक्षित छन्।

आँखैअगाडि देखिन्छन् १८ हिमाल र ६७ गाउँ

डढेकोट दरबार केवल ऐतिहासिक महत्वले मात्रै होइन पर्यटकीय दृष्टिकोणले समेत अत्यन्त सम्भावनायुक्त ठाउँ हो। यहाँबाट पूर्वोत्तरतर्फ नजर घुमाउँदा धौलागिरि, माछापुच्छे, अन्नपूर्ण, नीलगिरी, गुर्जा, मानापाथी लगायतका १८ वटा हिमालको अत्यन्तै मनकोहक दृश्य देखिन्छ।

पर्यटकीय सम्भावनाको अनुपम स्थान

म्याग्दीको बेनी नगरपालिका-५ गाजनेको धुरीमा अवस्थित डढेकोट दरबार क्षेत्र प्रचुर पर्यटकीय सम्भावनाले युक्त अनुपम स्थान भएको बेलाबेलामा यहाँ पुग्ने गरेका पर्यटकहरूले बताएका छन्।

त्यसैगरी ढडेकोट दरबारदेखि तल्लोपट्टि चौधौं शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्बबम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले समेत नेपालभर प्रसिद्ध छ। यो मन्दिर केभहिलको नजिकै छ। मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो।

बेनीबजारदेखि नजिकैको क्षेत्र भनेको पुलस्त्य पुलहाश्रम, ढोल्ठान दरबार, जगन्नाथ मन्दिर रहेको गाजनेको धुरी, टोड्केको धुरीलगायत क्षेत्र नै भएकाले ती क्षेत्रको व्यापकरूपमा प्रचारप्रसार गर्न सक्ने र यी ठाउँहरूको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बुझाउन सक्ने हो भने नेपाल र भारतका मात्रै होइन तेस्रो मुलुकका हजारौं पर्यटक यहाँ आउन सक्ने प्रशस्तै आधार रहेका छन्।

गण्डकी प्रदेशकै एक मात्र ‘जगन्नाथ मन्दिर’ रहेको ठाउँ

१४ औं शताब्दीमा यहाँका तत्कालीन राजा डिम्बबम मल्ल (दिलीप) ले निर्माण गर्न लगाएको शिखर शैलीको भगवान् जगन्नाथको मन्दिर यहाँको प्रमुख आकर्षणमध्येको एक हो। गण्डकी प्रदेशमा नै भगवान् जगन्नाथको यहाँबाहेक अन्यत्र कहीँ पनि मन्दिर नभएको मन्दिर पुनर्निमाण समितिका अध्यक्ष यामबहादुर बानियाँले बताए। राता अक्षता नचढ्ने सो मन्दिरमा बेसार मिसाएर पहेंला अक्षताले पुजा गर्ने गरिन्छ।

 

 

Leave a Reply