गण्डकी प्रदेशमा फैलँदो महोत्सव संस्कृतिको विप्ल्याँटो पाटो !

0

चन्द्रप्रकाश बानियाँ/सिकारु सिकर्मीले पहिलोपटक काठको हलो बनाउँछु भनेर थेबे चलाउँदै जाँदा मुङ्ग्रो बन्यो भने आश्चर्य मानिदैन । कहिले कहीँ अर्को कुनै सन्दर्भमा कुरो उल्टो पनि हुनसक्छ । भादगाउँ भक्तपुर बन्यो । एक घर, दुई घर, चारघर, समाज, गाउँ हुदै बजार बन्यो । बजारले शहरको रूप लियो । न एकै दिनमा भादगाउँ बनेको हो न एकै दिनमा भक्तपुर बनेको हो । भादगाउँबाट भक्तपुरमा रूपान्तरणको प्रक्रियाले शदियौं खर्चेको छ । समाज विकासको स्वाभाविक प्रक्रिया हो यो । काठमाडौंमा स्याटेलाईट शहरहरू बसाउने परियोजना बन्दै छ भन्ने सुनिन्छ ।

संसारमा पूर्वयोजना बनाएर बसालिएका शहरहरूको संख्याभन्दा स्वतस्फूर्त र विस्तारै विस्तारै गाउँबाट शहर बनेका वस्तीहरूको संख्या अवश्य धेरै छ । अर्थात शहर बस्ने बसाल्ने दुई तरिका देखिन्छन् । एउटा योजनाबद्ध शहरी विकास र अर्को क्रमिक रूपान्तरण । अर्थात जसरी बनेपनि शहरहरू सउद्दे्श्य निर्मित हुन्छन् । जनआवादीको बृद्धि शहर विस्तारको कारण हुन्छ । बढ्दो आवादी व्यवस्थापनका लागि शहरहरू विकसित हुन्छन् ।

आजको विश्वका अधिकांश शहरबजारहरू हाटमेला, अस्थायी बजारबाट वस्ती विस्तार हुँदै गएर ती विस्तारित वस्तीहरू शहरमा रूपान्तरण भएका हुन् । रीतिस्थिति, परम्परा, प्रचलनहरू पनि निश्चित कालखण्डको मानव आवश्यकताबाट स्थापित भएका हुन्छन् । कुनै कुनै प्रचलनले त त्यस्तो रूप लिएको देखिन्छ जस्को परिकल्पना स्थापनाकालमा गरिएको हुँदैन । तत्कालीन समयको गर्जो टार्न बसालिएको प्रचलनले परम्पराको रूप लिन्छ । हाम्रो समाजका अधिकांश पर्व, मेला र हाटबजारहरू त्यसरी नै स्थापित भएका हुन् ।

पञ्चायतकालकै कुरा हो । पञ्चायती व्यवस्थाको मध्येकालतिर हाम्रा गाउँठाउँतिर “लाङघाली आन्दोलन” उदाउँदो अवस्थामा थियो । गाउँ गाउँमा संघसंगठनहरू निर्माण हुदै थिए । मगरहरू लाङघालीे ध्वजा मुन्तिर गोलवन्द हुदै थिए । विशेष पर्व मेलाहरूमा जनजागृति आमसभाहरूको आयोजना गरिन्थ्यो । भाषणभूषण चल्थे ।

सामाजिक विकृतिहरू उधिनिन्थे । संस्कृति र परम्पराको नाममा आफ्नो जातिसमूहमाथि हुने गरिएका शोषण उत्पीडनविरुद्ध आवाज उठाइन्थ्यो । सामाजिक विकृतिबाट समाजलाई सचेत बनाउने कोशिश गरिन्थ्यो । मेलापर्वको नाममा जमघट गरिने, संस्कृति र परम्पराको नाममा अनेक खालका विकृतिहरूलाई निरन्तरता दिइने र त्यसको शिकार आफ्नो जातिका महिलाहरू हुने गरेका घटनाको नालीबेली सुनाइन्थ्यो ।

त्यसबाट जोगिन सिकाइन्थ्यो, आह्वान गरिन्थ्यो । दिनमा मेला हाट र बेलुका दोहोरीको नाममा “कोदो माडिने” परम्पराको कारणले अको वर्ष आइपुग्दा नपुग्नदै अनेकौं “नाता कायम गरिपाउँ” भन्ने व्यहोराका नालिस उजुर लिएर अड्डा अदालत धाउनुपर्ने आफ्नो वाध्यता र अनिवार्य नियतिको बारेमा त्यही समुदायका कानून व्यवसाशयीहरूका बखानले श्रोतालार्ई मनोरञ्जन र शिक्षा दुबै दिन्थ्यो ।

सकिन्छ भने हाटमेला संस्कृतिको अन्त गर्ने, नभए पनि रातबसरेर रोदी जमाउने कुरा चटक्कै त्याग्नुपर्ने कुरा आफ्नो समुदायलार्ई लाङघाली अगुवाहरूले पढाउँथे, सम्झाउँथे । परिणामस्वरूप कैर्यौ हाटमेलाहरू बन्द पनि भए । जहाँ बन्द भैहालेनन् त्यहाँ पनि “रोदी खेल्ने” परम्परा लगभग बन्द भयो अर्थात हाटमेलाको दोहोरी संस्कृति लगभग अस्तायो ।

अवश्य त्यो अभियानले मगर समाजमा नयाँ चेतनाको ज्योति जगायो । सामाजिक विकृतिहरूलाई निमिट्यान्न पार्न नसके पनि रोक्यो, कम गर्दै लग्यो । तर त्यसले समाजको अर्को तपकालाई भने मर्कामा पा¥यो । टेलिभिजन पर्दाको अनुहार पनि देख्न नपाएको तत्कालीन समाजको मनोरञ्जनको एउटा गतिलो साधन खोसियो । कैयौंको कुत्सितस्वार्थमा धक्का पु¥यायो । त्यसैको परिणामस्वरूप दोहोरीलाई नयाँ ढङ्गबाट समाजमा पुनस्थापना गरियो । दोहोरीलाई खेलकुदसँग गाँसियो । पञ्चायतको अन्तकालतिर आयोजित हुने सबै राष्ट्रिय र स्थानीय खेलकुद कार्यक्रमहरूमा दोहोरी प्रतियोगितालाई अनिवार्य गरियो ।

संस्कृति संरक्षणको नाममा फेरि दोहोरी संस्कृतिलाई पुनस्थापित गरियो । माओवादीको सशस्त्र विद्रोहको समयमा कुना कन्दरा, गाउँठाउँहरूका हुनेखाने, साहुमहाजनहरू शहर पस्न वाध्य भए । भर्खर शहर पसेका गाउँका टाँठाबाठा, हुनेखाने, साहु महाजनहरू व्यवशाय गर्न शहर छिरेका थिएनन्, त्यस्तो ज्ञान पनि थिएन । ज्यान जोगाउन गाउँ छोडेका थिए । बेगारीले उनीहरूलाई पोल्न थालेको थियो । उनीहरूको आवश्यकतालाई दोहोरीका पारखीहरूले ठम्याए ।

माग आपूर्तिको अर्थशास्त्रको नियमले काम ग¥यो । शहरबजारमा एक, दुई, चार, आठ गर्दै टोलैपिच्छे दोहोरी साँझ चल्न थाले । यतिखेर दोहोरी साँझहरू शहरी मनोरञ्जनका अनिवार्य अङ्ग बनेका छन् । यतिखेरका दोहोरी साँझहरूले पुरानो विकृतिलाई भने बिर्सेका छन् ।

पोखरा गुरुङ, मगर र क्षत्री बाहुनहरूको सरोबर वस्ती भएको ठाउँ हो । मगर गुरुङसमाजको पुरानो रोदी परम्परा टुटेको छ । तर त्यसको बिँडो भजनमण्डलीहरूले थामेका छन् भन्नु अत्युक्ति हुदैन । पोखराको सेरोफेरो सांस्कृतिक दृष्टिले अनौठो ठाउँ हो भन्दा फरक पर्दैन । टोलटोलमा मन्दिर छन् । टोलटोलमै कीर्तन मण्डलीहरू छन् । हप्तै पिच्छे भजनकीर्तनको आयोजना हुन्छ । भजनमा देवदेवीको कीर्तन भने बिरलै हुन्छ । भगवानका गाथा किर्तनको रूपमा सुन्ने सुनाउने परम्परा हुनुपर्ने हो । पोखरा–स्याङ्जाको परम्परा भने भिन्न छ ।

सत्यनारायणको पूजाको निम्तो मान्न जम्मा भएका निम्तालुहरूले कथावाचन, पूजाप्रसादपछि मादल, झुर्मा र खैजडीको तालमा भजन र नृत्य सुरु गर्छन्  तर इश्वर भजन हुँदैन । बरु युवा युवतीबीच भजनमै जुहारी चल्छ । नाम भजन हुन्छ, गायनमा प्रणय याचना, स्वीकृति वा इन्कारीको दोहोरी चल्छ । दुरुस्तै त्यस्तै गरी पोखरामा टोलैपिच्छै, बजारै पिच्छे महोत्सवको आयोजना गरिन्छन् । महोत्सवहरूको मुख्य आकर्षण भने दोहोरी नै हुन्छ । दोहोरीविनाको महोत्सव नै हुँदैन ।

यसरी अब सिङ्गै मुलुकमा कुनै जमानामा गुरुङ मगर समाजको सांस्कृतिक परम्पराको रूपमा विकसित भएको दोहोरी गाउने रोदीघरे परम्परा अब सबैको साझा भएको छ । तदविशेष भिन्न र सभ्य पनि भएको छ । तर पोखराको सन्दर्भमा भने महोत्सवमा दोहोरी कि दोहोरीको लागि महोत्सव भनेर खुट्याउन गाह्रो छ ।

उत्सव र पर्वको सायद एउटै परिभाषा गर्न मिल्दैन । ती दुई एउटै कुरा होइनन् । सालिन्दै उही तिथिमितिमा नियमति रूपमा हुने महोत्सवहरूको आयोजनाहरू विस्तारै “पर्व” को रूपमा फेरिन थालेजस्तो देखिन्छ । हरेक नयाँ बर्षमा फेवा महोत्सव, माघे संक्रान्तिमा लेखनाथ महोत्सव, हेमजाको आलु महोत्सव आदि इतयादि । नियमित रूपमा आयोजना हुन थालेका महोत्सवहरू निश्चित तिथिमितिमा आउने स्थानीय पर्वहरूमा रूपान्तरित भैसकेका छन् । टोल टोल, वडा वडा, गाउँ गाउँ, डाँडा पखेरा र तालनदीका नाममा समेत महोत्सव आयोजना गरिन्छन् । उसै पनि हिन्दु संस्कृतिमा प्रतिदिन सरदर १० वटा पर्वतिथिहरू पर्दछन् ।

त्यसमाथि नयाँ महोत्सवहरूले विस्तारै पर्वको रूप लिन थालेपछि तिनको संख्यामा थप बृद्धि त हुने नै भो । एकैदिनमा अनेक ठाउँमा महोत्सवहरूको आयोजना गरिएको हुन्छ र ती एकै दिनमा टुङ्गिदैनन् । पोखरामा त १५ दिनसम्म चल्ने महोत्सवहरू पनि छन् । तिनले व्यापार व्यवशायमा फाइदै पु¥याउने भए पनि समाजलाई पार्नसक्ने घाटा र नकारात्मक प्रभावको कसैले हिसाव राखेजस्तो लाग्दैन । दिन दुई गुणा, रात चौगुणा विस्तारित हुँदै आएको महोत्सव संस्कृतिले समाजलार्ई कता डो¥याउने हो कुन्नी ?! – जनधारणा साप्ताहिक

Leave a Reply