कास्की मोडनाइज्ड एकेडेमीको १ कक्षामा पढ्ने ७ बर्षिय ओष्कार थापाले एकबर्षदेखि खुत्रुकेमा जम्मा गरेको रकम शनिबार परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरे । जिल्लाको धवलागिरी गाउँपालिका–७, धारापानी स्थायी घरभई हाल पोखरामा रहेका थापाले बर्षभरी जम्मा गरेको ५ हजार ३ रुपैयाँमा आमा रस्बिना भण्डारी थापाले थप गरी ७ हजार ७७७ रुपैयाँ ७ औ जन्मउत्सवको अवसरमा सहयोग गरेका हुन् ।

दशैं, तिहार, जन्मदिनको दक्षिणालाई जम्मा गरेको छोरालाई सामाजिक कार्यमा सहयोगको भावना जगाउन कोषलाई सहयोग गरेको रसिलाले बताईन् । ‘छोराको जन्मदिनमा पवित्र कार्यमा सहयोग गर्ने अवसर मिलेको छ,‘खर्चको रकम काटेर सहयोग गर्नु ठूलो कार्य हो’ उनले भनिन् । कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीमार्फत कोषाध्यक्ष विनय श्रेष्ठलाई सहयोग हस्तान्तरण गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा कोषमार्फत जन्मदिन तथा विभिन्न कार्यक्रममार्फत प्राप्त सहयोगलाई विपन्नको उपचारमा खर्च गर्ने गरी स्थापना गरिएको अक्षयकोषमा जम्मा गरिने कोषका अध्यक्ष राजेश शाक्यले बताए । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको भीडमा जम्मा गरेको पैसालाई सहयोग गरेर फरक शैलीबाट जन्मदिन मनाएको बताउँदै समाजमा फरक सन्देश प्रवाह भएको बताइएको थियो।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ ।

कोषका अभियानमा जन्मदिन, विवाह, बर्तबन्ध, आफन्तको सम्झना लगाएत विभिन्न कार्यहरूमा समेत सहयोग उपलब्ध हुने गरेको छ । संस्थाको विधानमा आजिवन सदस्यता ५ हजार ५५५, ब्यक्तिगत २ लाख र संस्थागत ३ लाख सहयोग गर्नेलाई संरक्षक घोषणा गर्ने ब्यवस्था रहेको छ ।

Leave a Reply