पब्लिक प्राध्यापक संघ म्याग्दी बहुमुखी क्याम्पसका सभापति नारायणप्रसाद सुवेदीले क्याम्पसको उत्पादन लगेर आफ्नो संघसंस्थामा लगाउने अनि क्याम्पसमा क्वाइलिटी छैन ? भन्ने भन्दै प्रश्न गरेका छन् । शुक्रबार म्याग्दी बहुमुखी क्याम्पसको २९औं वार्षिकोत्सव तथा १९औं क्याम्पस सभामा प्राध्यापक र कर्मचारीको तर्फदेखि बोल्दै उनले क्याम्पसमा क्वाइलिटी (गुणस्तरीय शिक्षा) छैन भन्नेहरुलाई यस्तो प्रश्न गरेका हुन् ।

सभापति सुवेदीले बजारका केही भद्र भलाद्मीहरुले म्याग्दी बहुमुखी क्याम्पसमा क्वाइलिटी छैन भन्दै क्याम्पसमा अध्ययनरत दक्ष जनशक्ति लगेर आ–आफ्नो संघसंस्थामा लगाएको बताए । गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए)को प्रमाणपत्र प्राप्त गर्ने अन्तिम चरणमा पुगेको क्याम्पसलाई अनावश्यक आरोप लगाउनु उचित नभएको उनले तर्क गरे । म्याग्दी क्याम्पसको हरेक सङ्कायमा अध्ययनरत विद्यार्थीहरु आफैमा दक्ष र सक्षम भएको बताउँदै उनले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि जोड दिइएको बताएका छन् ।

समाजमा हरेक वर्गका मानिसहरु हुने भन्दै सुवेदीले भने, ‘परेवाले आँगनमा चारो खोज्छ, कागले जुठेल्नोको जुठो खोज्ने र गिद्धले सिनो खोज्ने गर्दछ ।’ क्याम्पसमा क्वाइलिटी छैन भन्ने व्यक्तिहरु पनि विभिन्न स्वभाव र धारणाका रहेको उनको भनाइ थियो । क्याम्पसको कक्षा ११ देखि नै स्नातकोत्तर तहसम्म अध्ययन तथा अध्यापन कार्यलाई गुणस्तरीय बनाउन क्याम्पस प्रशासन र सञ्चालक समितिले आवश्यक पहल गरिरहेको उनले बताएका छन् ।

क्याम्पस सभामा सभापति सुवेदीले क्याम्पसमा शैक्षिक गुणस्तर सुधारसँगै आवश्यक गृहकार्य गरिएको बताउँदै भौतिक संरचना निर्माणका साथै क्युएए प्राप्तिका लागि अगाडि बढेको बताएका थिए । सामुदायिक क्याम्पसतर्फ आफूलाई दक्ष र सक्षम बनाउँदै अगाडि बढिरहेको म्याग्दी बहुमुखी क्याम्पस क्युएए मान्यता प्राप्तिको नजिक पुगेको छ ।

Leave a Reply