स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसका कार्यवाहक सभापति ईश्वर सुवेदीले प्रविधि नसिक्ने क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीहरु विदा हुनुपर्ने धारणा राखेका छन् । शुक्रबार २९औं वार्षिकोत्सव तथा १९औं क्याम्पस सभामा विद्यार्थीको प्रतिनिधिका रुपमा बोल्दै उनले यस्तो बताएका हुन् । क्याम्पस सञ्चालक समितिले प्राध्यापक तथा कर्मचारीलाई प्रविधिको तालिम दिएर उनीहरुलाई दक्ष बनाउनुपर्ने बताउँदै उनले तालिम र अवसर दिँदा पनि प्रविधि सिक्न र प्रयोग गर्न नजान्ने प्राध्यापक तथा कर्मचारीले क्याम्पसबाट विदा लिनुपर्ने बताए ।

अन्तर्राष्ट्रियस्तरको गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) मान्यता प्राप्त गर्न म्याग्दी क्याम्पस नजिकै पुगेको भन्दै उनले भने, ‘प्रविधि नसिक्ने प्राध्यापक–कर्मचारी विदा भए हुन्छ ।’२१औं शताब्दीको युगमा प्रविधिको विकास र प्रयोगले फड्को मारेको अवस्थामा म्याग्दी बहुमुखी क्याम्पसमा प्रविधियुक्त शिक्षण सिकाई क्रियाकलाप हुनुपर्ने स्ववियु कार्यवाहक सभापति सुवेदीको भनाइ छ ।

क्याम्पसमा अध्ययन हुने सबै विषयमा प्राध्यापकहरुले मल्टिमिडियाको प्रयोग गरेर शिक्षण सिकाई क्रियाकलाप गराउनुपर्ने उनले बताए । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई झ्यालबाट कर्मचारीले हातले लेखेर आइडी कार्ड दिने गरेको भन्दै उनले अब डिजिटल आइडि कार्ड दिनुपर्ने माग गरेका छन् । कार्यवाहक सभापति सुवेदीले लिखित कार्डको अन्त्य गरी सबै विद्यार्थीहरुलाई डिजिटल आइडी कार्ड दिनुपर्नेमा जोड दिएका छन् ।

क्याम्पसको जनशक्ति आफूले पनि प्रविधि नसिक्ने र विद्यार्थीलाई समेत प्रविधियुक्त कार्डको व्यवस्थापनमा वास्ता नगरेको आशय उनको भाषणमा देखिएको थियो । क्याम्पसमा दैनिक १३ ओटा पिरियड सञ्चालन हुँदै आएको बताउँदै उनले ती सबै कक्षामा आवश्यक मल्टिमिडियाको व्यवस्थापनमा सघाउन मन्त्रीको समेत ध्यानाकर्षण गराए । विद्यार्थीले पनि आफूलाई दक्ष बनाउनुपर्ने र आफ्नो कर्तव्य तथा दायित्व पुरा गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रम सञ्चालकले ३ मिनेटको समय उपलब्ध गराए पनि झण्डै आधा घण्टा लिएका सुवेदीले अधिकांश समय क्याम्पसको सकारात्मक टिप्पणी गरेपनि केही विषयमा भने कटाक्ष गरे ।

आफू क्याम्पसमा अध्ययनरत १ हजार विद्यार्थीहरुको प्रतिनिधि र अभिभावक भएको भन्दै उनले विद्यार्थीको मागलाई क्याम्पस प्रशासन र सञ्चालक समितिले उचित सम्बोधन गर्नुपर्ने बताएका थिए । उनले विगतमा जस्तो आन्दोलन अहिले क्याम्पसमा गर्नुपर्ने अवस्था नरहेको भन्दै क्याम्पसलाई स्ववियुले सहयोग गर्दै आइरहेको बताए । म्याग्दी बहुमुखी क्याम्पसमा अझै पनि प्रविधि प्रयोग नगर्ने प्राध्यापक तथा कर्मचारी कार्यरत छन् ।

Leave a Reply