मालिका गाउँपालिका–६, जनप्रिय मावि दरबाङमा कक्षा ९ मा अध्ययनरत बिजया रेग्मीले शुक्रबार विद्यालयमा आयोजित प्राथमिक उपचार सम्बन्धि कार्यक्रममा निकै चासो दिएर सहभागी भईन् । दुर्घटनाबाट हुने क्षतिबाट जोगिन आवश्यक पर्ने प्राथमिक उपचारका बारेमा मालिका गापा–७ बिमकी जेनिशा गर्बुजाले समेत विद्यालयमा आयोजित कार्यक्रमबाट जानकारी पाईन् ।

गाउँपालिकाले सञ्चालन गरेको ‘उपाध्यक्ष विद्यालय स्वास्थ्य शिक्षा’ अभियान अन्तरगत विद्यार्थीलाई कुनैपनि घाइतेको प्रारम्भिक उपचारका बारेमा जानकारीमात्रै गराइएन एक जनाले पाँचजनाको ज्यान जोगाउन सकिने सन्देश समेत प्रवाह गरिएको थियो । सामान्य घटना देखेर समेत अत्तालिने विद्यार्थीले प्राथमिक उपचारका बारेमा अनुभवी चिकित्सक डा. लक्ष्मी पाण्डेको तालिमबाट निकै उत्साहित भएका थिए ।

प्राथमिक उपचारका बारेमा स्कुले विद्यार्थीमार्फत समुदायमा सचेतना फेलाउने अभियान अन्तरगत किसानी मावि बिम र जनप्रिय मावि दरबाङमा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले प्राथमिक उपचारका विधिका बारेमा विद्यार्थीसँगै समुदायका विभिन्न सेवामा आवद्ध भएकालाई जानकारी गराउने बताईन्। ‘दशा बाजा बजाएर आउँदैन,‘प्राथमिक उपचारले ठूलो जोखिमलाई टार्न सकिन्छ’ बिटालुले भनिन् ।

उनले गाउँपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राथमिकत उपचारका पाँचवटा चरणका बारेमा जानकारी सहित एक विद्यार्थीले पाँचजनालाई सन्देश प्रवाह गर्ने प्रतिबद्धता सहितको कार्यक्रम सुरु गरिएको बताईन् ।विद्यार्थी केन्द्रित तालिमलाई सार्वजनिक सवारीसाधनका चालकलाई समेत जानकारी दिने बताइएको छ ।

यता शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा जनप्रिय माविका प्रधानाध्यापक दिवाकर सुबेदीले निकै सान्र्दभिक कार्यक्रम भएको बताए । उनले कुनैपनि घटना पूर्व सूचना विना नै आउने भएकाले प्राथमिक उपचारमा आवश्यक पर्ने साम्रागी तथा उपचारका विधिका बारेमा सहज रुपमा जानकारी गराउन आवश्यक रहेको बताउँदै कार्यक्रममार्फत विद्यालयका सबै विद्यार्थीलाई सीप हस्तान्तरण गरिने बताए ।

कार्यक्रम अन्तरगत हरेक विद्यालयलाई दरबाङका वडा अध्यक्ष सन्तनाथ सुबेदी र बिमका वडा अध्यक्ष सुविन जुग्जाली मार्फत विद्यालयमा जानकारीमुलक साम्रागी सहित फस्र्ट एड किट समेत वितरण गरिएको थियो । पानीमा डुबिरहेको, कुकुरको टोकाइ, सर्प टोकाइ, हाथ खुट्टा भाँचिएका, नाकबाट रगत बगिरहेको, ब्लिडिन्ग आदिजस्ता अवस्थाहरुमा कसरी प्राथमिक उपचार गर्ने र ज्यान कसरी बचाउन सकिन्छ भन्ने बारेमा विद्यार्थीले समेत चासो देखाएका थिए ।

Leave a Reply