म्याग्दीमा पहिलोपटक मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने रोग स्क्रब टाइफसको बिरामी भेटिएका छन् । बेनी नगरपालिका वडा नं ९ की ६६ बर्षिया एक बृद्धामा उक्त रोग देखिएको हो । गण्डकी प्रदेश अन्तरगत म्याग्दी, मुस्ताङ र मनाङमा हालसम्म नदेखिएको स्क्रब टाइफसको बिरामी म्याग्दीमा भेटिएसँगै रोगका बारेमा सचेतना फैलाउनुपर्ने बेनी अस्पतालमा कार्यरत पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठानका रेसिडेन्स चिकित्सक सुदिप अधिकारीले बताए । बेनी अस्पतालमा तीनमहिनाका लागि खटिएका डा. अधिकारीसँग स्क्रब टाइफसका बारेमा बेनीअनलाइनका हरिकृष्ण गौतमले गरेको छोटो कुराकानी ।

म्याग्दीमा पनि स्क्रब टाइफस रोगको संक्रमित भेटिए,यो कस्तो रोग हो ?
सर्वप्रथम यहाँलाई धन्यवाद,।म्याग्दीमा पहिलोपटक भेटिएको स्क्रब टाइफस मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने रोग हो। धेरै सरुवा रोगहरु मध्येको एक हो। माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । गण्डकी प्रदेश भित्रको म्याग्दी,मुस्ताङ र मनाङ जिल्ला बाहेकमा यो रोगको संक्रमण फैलिसकेको थियो। बेनी अस्पतालमा दुईजनामा यो संक्रमण देखिएपनि हामीले अर्को एक बिरामीमा परिक्षण गर्दा पोजिटिभ देखिएपछि म्याग्दी जिल्ला पनि स्क्रब टाइफस फैलिएको जिल्लामा परेको छ। यो मानिसबाट मानिसमा सर्दैन।

यो रोगबाट संक्रमिण बिरामी कस्तो अवस्थामा अस्पतालमा आउनुभएको थियो? संक्रमणको लक्षण के के हुन त ?
जरोको उपचारका लागि अस्पतालमा आउनुभएको थियो। उहाँलाई टाउको दुख्ने, खोकी लाग्ने जस्ता समस्यालाई निगरानी गर्दा स्क्रब टाइफसको संक्रमणको आशंका गरेका थियौं। उहाँलाई किर्नाले टोकेको वरिपरिर रातो बिमिरा देखिएको थियो। निगरानीमा राखेर उपचार गरेपछि अहिले घर फर्किनुभएको छ। स्क्रब टाइफसका बिरामीको लक्षणको कुरा गर्नुपर्दा आँखा रातो हुने, झाडापखला लाग्ने,टाउको दुख्ने, पसिना धेरै आउने, मुख्य अंगहरुले काम गर्न छोड्ने,किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ।टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ । यस्तै धेरै समस्याहरु देखिन्छन्। यो रोगका बारेमा धेरैलाई जानकारी छैन् ।

कस्तो ठाउँमा स्क्रब टाइफसको संक्रणको जोखिम हुन्छ त ?
निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । विषेश गरी खेतबारी, बनजंगल,झाडी तथा धेरै घाँसदाउरा राख्ने ठाउँमा देखिने गर्दछ। नेपालमा २०७२ सालको भुकम्पपछि भौतिक संरचनामा क्षतीसँगै मुसाहरुको बासस्थान समेत परिवर्तन भएको अवस्थामा त्यसयता रोग धेरै जिल्लामा फैलिएको छ। विश्वमा पहिलो पटक सन् १९३० मा जापानमा देखा परेको थियो भने नेपालमा सन् २००४ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक अनुसन्धानमा ज्वरो आएकामध्ये तीन प्रतिशतलाई स्क्रब टाइफस हुने गरेको अनुमान सहितको एउटा खोज सार्वजनिक भएको थियो झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त माइट झाडप्मा सर्ने र सो झाडीमा मानिस जाँदा माइटले मानिसलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ । धेरै त्रसित हुनुपदैन् तर हेल्चेक्राई गरे ज्यानै जाने रोग हो ।

Illustration: Ratna Sagar Shrestha/THT

यो रोगको उपचार सम्भव छ त ?
यो रोगको उपचार सम्भव छ। धेरैले यसलाई लामखुट्टेबाट सर्ने डेंगुको जस्तै औषधी हुदैन भनेर समेत बुझ्ने गर्दछन् । त्यो सत्य होईन् । औषधिका रूपमा एन्टिबायोटिक हुन्छ । अन्य औषधीले यसलाई निको बनाउन सकिदैन् । डक्सिसाइक्लिन नामक एन्टिबायोटिक प्रयोग गरेमा बिरामीको ज्यरो नियन्त्रण गर्न सकिन्छ । गर्भवती र ९ बर्षमुनिका बालबालिकालाई प्रयोग गर्ने अर्को औषधी समेत हुन्छ । त्यसैले बिरामीले समयमै उपचारका लागि स्वास्थ्य संस्थामा पुगेमा रोगलाई सजिलै उपचार गर्न सकिन्छ ।

स्क्रब टाइफस बारे जनचेतना फैलाउन कस्तो कार्यक्रम आवश्यक छ त ?
यहाँ धेरैलाई स्क्रब टाइफसका बारेमा जानकारी नै छैन् । त्यसैले यस रोगका बारेमा जनस्तरसम्म रोगका बारेमा प्रचारप्रसार गर्नुपर्छ।

विज्ञापन