पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा निर्मित ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाले घरघरमा धमाधम मिटर जडान सुरु गरेको छ । सोमबार बगरफाँटमा एक कार्यक्रम गरी बृद्धा ७८ बर्षिया मनकुमारी सुबेदीलाई खानेपानीको मिटर हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाका वडा नं ३ का अध्यक्ष रबी भण्डारी र वडा नं १ का तुलसी सुबेदीको उपस्थितीमा मिटर वितरण सुरु गरिएको हो । बगरफाँटमा आयोजित कार्यक्रममा बगरफाँट, वारीबेनी, लामाखेतका ९ सय ५४ घरधुरीलाई माघ महिनाभित्र खानेपानी उपलब्ध गराउने पर्वत बेनी खानेपानी तथा सरफाई उपभोक्ता समितिका अध्यक्ष लोकनाथ रेग्मीले बताउनुभयो ।

उहाँले आयोजनाको सम्पूर्ण परिक्षण सकिएकाले धमाधम मिटर वितरणसँगै खानेपानी नियमित आपूर्ती गर्ने बताउनुभयो ।
कुल १२ करोड ४४ लाखको लागतमा निर्माण सम्पन्न भएको आयोजनामा सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत लगानी रहेको छ। उपभोक्ताको लगानीलाई सहज बनाउन समितिले नगर विकास कोषबाट २ करोड ६२ लाख ऋण लिएको कोषाध्यक्ष दिलबहादुर बरुवालले बताउनुभयो ।

उहाँले खानेपानीलाई अनावश्यक दुरुपयोग नगर्न अनुरोध गदैं महंगो प्रविधि भएकाले मितब्ययी बन्न अनुरोध गर्नुभयो । आयोजनाको कालीगण्डकी किनारको जुगेधारामा प्रतिसेकेण्ड १२ लिटर पानी तान्ने क्षमताको समसिवल वयल पम्प जडान गरिएको छ भने जुगेधाराको पानी १५० मिटर उचाइमा रहेको ट्याङ्कीमा विद्युतीय उपकरण प्रयोग गरिएको छ ।

मुहानमा पानी तान्ने सम्पवयल पम्प, पानी सङ्कलन गर्ने चार लाख लिटर क्षमताको फेरो ट्याङ्की, दुई वटा पानी छान्ने र थिग्राउने पोखरी, कार्यालय भवन, मुख्य पाइपलाइन निर्माण गरिएको छ ।

पम्प, ट्याङ्की, भवन, पोखरी र मुख्य पाइप लाइन निर्माणका लागि ग्लोवल टेन्टरमार्फत चन्द्र एण्ड वसन्त एएम जेभीले १० करोड ३० लाखमा ठेक्कामा सम्पन्न गरेको थियो । उक्त आयोजना सम्पन्न भएपछि कालिगण्डकी नदी तथा आसपासमा पुराना पानीका पोखरीको प्रयोग गर्ने सर्वसाधारण लाभान्वित भएको पर्वत बेनीका दलबहादुर जिसीले बताउनुभयो । पर्वतबेनीको खानेपानी आयोजना साविकको धौलागिरी अञ्चलकै ठूलो आयोजना हो ।

Leave a Reply