जिल्ला र पालिकास्तरीय सरकारी तथा गैरसरकारी कृषि एवं पशु सेवा सरोकारवालाहरुसँग समीक्षा वैठक सम्पन्न भएको छ। मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा कृषि र पशु सेवासम्बन्धी विषयमा समीक्षा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले सुआहारा कार्यक्रमलाई स्थानीय तहले आन्तरिकीकरण गरेर सञ्चालन गर्नुपर्ने बताए । उनले सुआहारा कार्यक्रमले पोषणको साथसाथै महिला तथा बालबालिकाको स्वास्थ्य अवस्था सुधार्न कार्यक्रम गरिरहेको बताउँदै यसलाई समुदायस्तरमा निरन्तर सञ्चालन गरी प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

पछिल्लो समय सर्नेभन्दा पनि नसर्ने खालका रोगको जोखिम बढ्दै गएको भन्दै जिसस प्रमुख केसीले यसको न्युनीकरणका लागि खानपान, शारिरीक व्यायाम र सरसफाइका साथै नियमित चेकजाँचमा ध्यान दिनुपर्ने बताए । उनले जिल्ला समन्वय समितिमार्फत सुआहारा कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सम्बन्धित स्थानीय तह र वडासँग आवश्यक पहल गर्ने समेत बताएका थिए ।

कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले सुआहाराले कुआहारालाई नष्ट गर्नुपर्ने बताउँदै स्थानीय कृषि उत्पादनलाई गुणस्तरीय बनाउनुपर्ने बताए । उनले नेपालको विकासका लागि कृषि, पर्यटन र जलविद्युतको विकासलाई जोड दिनुपर्ने भन्दै कृषि र पशुपालनको क्षेत्रलाई प्रभावकारी रुपमा परिचालन गर्न सकेमा आर्थिक उपार्जन हुने धारणा राखेका छन् ।

सुआहारा कार्यक्रमका बागलुङ–म्याग्दी संयोजक चिरञ्जीवी दाहालले मन्तव्य राखेको कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रम मिलन म्याग्दीका उपाध्यक्ष कमला थापाको अध्यक्षता र सुआहारा म्याग्दीका फिल्ड संयोजक बालकुमारी पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र प्रमुख गोविन्दराज कोईराला, भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र प्रमुख नारायण कुसुम, सुआहाराका कार्यक्रम संयोजक दाहाल र घरायसी खाद्यान्न उत्पादन तथा बजारीकरण अधिकृत साक्षी पौडेल, फिल्ड संयोजक बालकुमारी पुन, स्थानीय तहका कृषि र पशु शाखा संयोजकले सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा ग्रामीण नमुना कृषक तथा स्थानीय स्रोतव्यक्तिले अनुभव सुनाएका थिए ।

Leave a Reply