हरिप्रसाद पौडेल/ स्थानिय तहको निर्वाचन भएको करीव साढे दुइ वर्ष भइसक्यो । २०७४ वैषाखमा स्थानिय तहको निर्वाचन पश्चात सवै स्थानिय तहमा निर्वाचित जनप्रतिनिहरुले स्थानिय सरकार को अभ्यास गरिरहेका छन् । निर्वाचन हुँदाको अवस्था आयोजना तथा वजेटको सोही वर्षको कार्यान्वयनको चरणको अन्तीम समयमा चलिरहेको हँुदा सैद्धान्तिक मिलान भन्दा वाहेक केही थिएन । राज्यले तिनतहको सरकारको परिकल्पना गरेर सोही अनुरुप कार्यान्वयनमा जाँदा केही चुनौतिहरु नभएका भने होइनन् ।

हरिप्रसाद पौडेल

नयाँ निति निर्माण वनेका निति निर्माणको कार्यान्वयन तिनतहका निति तथा कार्यक्रमको कार्यान्वयन यी स्थानिय तहका असहजता लाई देशको वारोमा केही चासोराख्ने आम नागरीकलाई थाहा भएको विषय हो तथापी यतीनै वहानामा स्थानिय तहहरु चुप लागेर वस्ने स्थिती भने पक्कै होइन ।स्थानिय तहको अभ्यास गरेको यो सम्पुर्ण निर्वाचित कालखण्डको आधा आधि वेंसि समय ब्यतित भइसक्दा समेत विकासको कुनै खाका पस्कन नसक्नु यो जननिर्वाचित प्रतिनिधिहरुको लाचारी वाहेक केही होइन भने नागरीकहरुको भावना माथिको खेलवाड समेत हो भन्दा अतिसयोक्ती हुदैन ।

केही दिन अगाडी वेनी नगरपालिकाले आ.व. २०७६÷०७७ को प्रथम चौमासीकको योजना तथा कार्यक्रमवारेमा सार्वजनीक सुनुवाई कार्यक्रमको आयोजना ग¥यो । सार्वजनीक सुनुवाई कार्यक्रमको स्वागत मन्तब्यमा वेनी नगरपालिकका उपप्रमुखले हामिले निरन्तर विकासको काम अगाडी वढाउन खोजेको छौ तर २ मिनेटमा सवैकाम हुन नसक्ने भएकोले केही देखिन नसकेको हो भनेर जनता फुल्याउने र झुक्याउने भाषको प्रयोग गरेको सुनियो ।

कार्यकालको आधा समय ब्यतित हुँदा समेत वेनी नगरपालिकाका सवै दशवटा वडामा भएका संभावनाहरुको खोजी र दिर्घकालिन योजनाको खाका नागरीकलाई पेश गर्न नसकेको वेनी नगरपालिकाले विकासमा अगाडी वढ्यो भनेर नागरीकले कसरी विश्वास गर्ने ?

साविकको जिल्ला समदरमुकाम समेत रहेको यस वेनी नगरपालिका समुन्द्र सतहवाट करीव ११०० मिटर देखी २४०० मिटर सम्मको उचाइमा फैलिएको छ भने करीव करीव सवै किसिमको हावापानी रहेको तथा मुक्तिनाथको प्रवेश द्वारको रुपमा समेत यसलाई लिने गरिन्छ । म्याग्दी का ठुला तिन नदिहरु जयन्ती मंगला र काली नदीको भरपुर उपयोग गर्न सकिने यस नगरपालीकामा वैंक तथा वित्तिय संस्थाहरुको सवैभन्दा वढी उपस्थिती रहेको छ ।

कृषि पशु धार्मिक पर्यटन, पदयात्रा, ऐतिहासीक पुरातात्विक महत्वका स्थानहरु समेटेर संग्राहलय वनाउन सकिने जस्ता अथाह संभावना वोकेको वेनी नगरपालिकामा नाप्रतिनिधिमुलक संस्था वनिसकेपछी एकले अर्काेलाई दोसारोपण गर्दै आफू चोखिने वहाना वाहेक कुनै काम गर्न नसक्नुले नागरीकहरुमा जनप्रतिनिधिमुलक संस्था प्रतिनै अविश्वास र वितृष्णा आउने अवस्था देखिन्छ ।

वेनपा १ रत्नेचौर यसैपनी वाग्लुङ्ग वेनी मोटरवाटोमा रहेको हुँदा यातायात को सुविधामा जोडीइसकेको छ, वेनपा ४ वेनी दर्वाङ्ग मोटर वाटोको सहज पहुँचमा रहेको छ भने वेनपा ६ को छेउ हुँदै वेनपा ९ र १० समेत लाई चिरेर वेनी पाखापानी मोटरवाटोले काटेको छ भने वेनपा ९ वेनी जोमसोम मोटरवाटोमा समेत पहुँच राख्दछ वाकिरहेका वडाहरुमा मोटरवाटोको ट्रयाक खुलेको अवस्था छ, साथै सवै वडाहरुमा विजुलिवत्तिको समेत केन्द्रिय प्रशारण लाईन पुगेको छ यि सवै आधारभुत तहका पुर्वाधार स्थानियत तहको निर्वाचन हुनु अगावै तयार भएका थिए ।

यो समेत वेनी नगरपालिकाको विकासका लागी सहज वातावरण निर्माण गराउने तत्व हुन भने वेनपा १ र २ तरकारी तथा दुध जन्य उत्पादनमा लागीरहेका छन त्यसैगरी वेनपा ३ र ४ सुन्तला जन्य उत्पादनमा लागेका भुगोल हुन भने ५ र ६ सामान्य जिवन यापन गरीरहेका भुगोल हुन तथापी दुध र कुखुरामा केही गर्नका लागी अभ्यास गरिहेका भुगोल हुन भने ९ र १० मासु जन्य उत्पादमा लगाउन सकिने संभावित भुगोल हुन र यि सवै स्थानवाट उत्पादीत वस्तुको नजीकको वजार वेनपा ७ र ८ हो ।

साथै ज्यामरुककोट, डढेकोट, गलेश्वर, महारानी, स्वर्गाश्रम, पौलस्त्यश्रम लगाएतका ऐतिहासीक पुरातात्विक महत्वका स्थानहरु समेत यसै वेनी नगरपालीकामा रहेका छन यी सवै विषय वस्तुहरुलाई एकिकृत गरेर योजनावद्ध रुपमा अगाडी वढ्न लाई वेनी नगरपालिका लाई के ले छेक्यो ? छेक्यो त खाली मेयर लाई वडा अध्यक्ष हरुले, वडा अध्यक्षहरुलाई अहमताले । के जनता ले यही वुझेर वस्ने हो ? वेनी नगरपालिकका जनप्रतिनिधिहरु ले जुँगाको लडाई लडेर नागरीकलाई साँढेको जुधाई वाच्छाको मिचाई गराउन पाइन्छ ?

जनप्रतिनिधि ज्यूहरु ! केही गर्न खोज्नुभयो भने अझैपनी साढे दुइवर्ष वाँकी छ गर्नका लागी । राम्रा जनचाहना समेटेर योजना ल्याउनुहोस तपाईहरुलाई सहयोग गर्न आम नागरीकहरु तैयार छौं । वडा अध्यक्ष ज्यूहरु तपाइको वडाको जनताको चाहना अनुसारको जम्मा जम्मि एउटा योजना ल्याउनुस कुलमा १० वटा वडामा १० वटा योजना खाका सहित पेश गर्नुस कार्यपालिकाले पास गरेन भने नागरीक सामु आउनुस नागरीकहरु तपाईहरुको साथमा छौ ।

मेयर साप जम्मा १० वटा परिपुरक योजना प्रत्यक वडामा एक एक वाटा पर्ने गरी ल्याउनुस कार्यपालीकामा पास हुन सकेन भने नागरीक सामु योजना फाल्दीनुस ढ्यांग्रो ठोकेर पास गराउने जिम्मा नागरीकलाई छाड्दिनुस । गर्नपनी नखोज्ने गर्न दिएन पनी भन्ने गरेर तै चुप मै चुप वस्न जनप्रतिनिधिहरुलाई मिल्दैन । २०७६÷०७७ को योजना ल्याइसक्नुभएको छ तर परिमार्जन गर्नचाहनुभयो भने सर्वशक्तिमान तपाईहरुनै हुनुहुन्छ ०७७÷०७८ मा योजनावद्ध कार्यान्यन हुन सकेन भने अन्तिम वर्षको योजना पाइप र जाली वाँड्ने र भोट वटुल्ने योजना भन्दा केही आउन सक्दैन अनी विकास कहिले हुने ।

सवै समय र अवस्थामा पक्ष र प्रतिपक्ष, वहुमत र अल्पमतको गलत सोचाइका कारण कोही अदालत सम्म पुग्ने त कोही आफ्नो जननिर्वाचित दायित्व चटक्कै भुलेर कमिसन का चक्करमा भुल्ने गरेपछाडी कसरी लिन्छ नगरपालीकाले गती ? दुःख लाग्छ म्याग्दी जिल्लाका अन्य गाउँपालिकाहरुको विकासमा चासो र त्यसले लिएको गती देख्दा र वेनी नगरपालिका अधोगतीमा भासिदै गएको देख्दा । खासमा वेनी नगरपालीका वाट म्याग्दी जिल्लाका अन्य स्थानिय तहले सिक्नुपर्ने थियो तर त्यो लेवलको काम त गर्न सकेन सकेन अन्य स्थानिय तहलाई पछ्याउन समेत वेनी नगरपालीकाले सकेको छैन ।

ग्रामिण वाटाहरु चौडा हुँदै गएका, स्वास्थ्य शिक्षामा गुणात्मक फड्को मारेका अवस्थामा अन्य निकाय पुग्दा वेनी नगरपालिका का वासिन्दाले पाइरहेको निःशुल्क औषधिको सुविधा समेत वाट वञ्चीत हुनुपरीरहेको तितो यथार्थ हाम्रासामु रहीआएको छ, १५ वेडवाट कागजी रुपमा ५० वेडमा स्तरोन्नती भएपछी साविक जिल्ला अस्पतालवाट पाउने ७० प्रकारका औषधीहरु निःशुल्क उपलब्ध हुन छाडेपश्चात तत्कालिन अवस्थामा पाइरहेको सुविधा उपलब्ध गराउन वेनी नगरपालिकाले पहल गर्न सकको अवस्थामाा प्राथमिक स्वस्थ्य केन्द्र स्थापना हुन सक्ने थियो त्यतातर्फ ध्यान कस्ले पु¥याउने ? वेनी नगरपालीका का वडा नं. ७ र ८ देखी वाहेकका नागरीक सिंचाईको त कुरै छाडौ आधारभुत तहको पिउने पानि नपाएर काकाकुल सरह भएका छन् त्यसले छोटेराजनको रुपमा आफुलाई ब्याख्या गर्ने वडा अध्यक्षज्यूहरु लगाएत कुनैपनी जनप्रतिनिधिलाई छुन सकेको होइन।

विकास वाहिर वाट ल्यायर हुने होइन तर विकासका मोडेल वुझ्न सकिन्छ आदरणीय कार्यपालिका ज्यूहरु । छिमेकवाट पनी केही सिक्ने अभ्यास गर्नुस हाम्रो नजिकको छिमेकी जिल्लाहरुलाई नै हे¥यो भने पनी केही सिक्न सकिने देखिन्छ, वाग्लुङ्गको पञ्चकोट, कुडुले, भकुण्डे वा पर्वतको यान्त्रीक पुल, लामो पुल आदिलाई उदाहरणको रुपमा लिन सकिन्छ साथै वाग्लुङ्ग नगरपालिकालाई सामान्य आँकलन गर्ने हो भने सामाजिक विकासमा ठुलो फड्को मारेको हेर्न सकिन्छ ।

वेनी नगरपालिकामा विकासको प्रचुर संभावना रहेको छ त्यसैले नागरीक साझेदारी गर्ने गरी ठूला आयमुलक ब्यवसायहरु तथा आम सर्वसाधारणलाई अपनत्व हुने गरी आधारभुत तहको विकास गर्न ढिला भइसक्यो, नागरीक आजपनी यातायात, खानेपानी, आधारभुत स्वास्थ्य, आधारभुत शिक्षावाट वञ्चित भइरहेका छन यती त सम्वोधन गर्ने प्रयास गरौं । राजनितिक वहुमतको दम्भ, अल्पमतको निरिहता दुवै विकासका वाधक वनेका छन् यसतर्फ सचेत वनौं जिम्मेवार जनप्रनितिधि, जिम्मेवार राजनितिक दल र जिम्मेवार नागरीक वनौ विकास सम्भव छ विकास तपाइहरुकै पालामा सम्भव छ विकास हाम्रै सहभागितामा सम्भव छ ।

 

Leave a Reply