मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले खासै राम्रो बजार नपाएको गुनासो आइरहेको सन्र्दभमा बाग्लुङका कृषकले सुन्तला बेमौसममा बिक्री गरी राम्रो आम्दानी गर्न सुरक्षित भण्डारणतर्फ अग्रसर भएका छन् ।

सिगानामा हाल २ परम्परागत र १ आधुनिक सुन्तला भण्डारण गृह छन् । ३ वर्षदेखि परम्परागत भण्डारण गृहमा सुन्तला राखेर बेमौसममा महँगो मूल्यमा सुन्तला बिक्री वितरण गर्दै आएका सिगानाका अगुवा कृषक टोपबहादुर खड्काले बताए । अर्का कृषक अनन्तबहादुर खड्काले गत वर्षदेखि सुन्तला भण्डारण गृह निर्माण गरेर बेमौसममा सुन्तला बिक्री गर्दै आएका छन् ।

सिगाना सुन्तलाका लागि प्रख्यात छ । सिगानालाई सुन्तला गाउँका रुपमा समेत चिनिँदै आइरहेको छ । वार्षिक २ करोड बढीको सुन्तला उत्पादन हुँदै आएको भए पनि मौसममा तीव्र प्रतिस्पधाले सस्तो मूल्यमा किसानले सुन्तला बिक्री गर्न परेको भन्दै गण्डकी प्रदेश सरकारले २० टन क्षमताको विद्युत्बाट चल्ने सुन्तला चिस्यान केन्द्र (कोल्ड रुम) निर्माण गरेपछि अधिकांश कृषकले सुन्तला भण्डारण गर्न थालेका हुन् ।

गत वर्ष गण्डकी प्रदेश सरकारले सिगानामा क्रियाशील गणेश व्यावसायिक कृषि सहकारीमार्फत ३० लाख रुपैयाँको लागतमा सुन्तला चिस्यान केन्द्र निर्माण गरेपछि यहाँका कृषकले उत्पादन भएका सुन्तला भण्डारण गरेर बेमौसममा बिक्री गर्न थालेका हुन् । आधुनिक सुन्तला चिस्यान केन्द्रमा अहिले ७ जना कृषकको १६ टन सुन्तला भण्डारण गरिएको सहकारी संस्थाका अध्यक्ष रामबहादुर खड्काले बताए ।

 

जिल्लाको बागलुङ नगरपालिका–८ का कृषक टोपबहादुर खड्काले ८ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । उनले उत्पादन गरेका केही सुन्तला मौसममा नै बिक्री गर्छन् भने केही सुन्तला बगैंचा नजिकै निर्माण गरिएको भण्डारण गृहमा राखेर चैत वैशाखमा महंगोमा बिक्री गर्दै आएका छन् ।

तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना अन्तर्गतको व्यावसायिक सुन्तला उत्पादन संकलन तथा भण्डारण उपआयोजना (प्याक्ट) कार्यक्रमले प्रदान गरेको १० लाख अनुदानमा २०७४ सालमा निर्माण गरिएको भण्डारण गृहमा अहिले सुन्तला राखिएको खड्काले बताए । ‘अहिले सुन्तलाको बजार मूल्य ६० रुपैयाँ प्रतिकेजी पर्दछ,’ खड्काले भने, ‘२ महिनापछि भण्डारणगृहमा राखिएको सुन्तलालाई १५० रुपैयाँ प्रतिकेजीमा बिक्री वितरण गर्न सकिने हुँदा यसको निकै महत्व छ ।’

कृषकले सुन्तलाको ग्रेडिङ समेत गर्दै आएका छन् । सुन्तलालाई ३ श्रेणीमा ग्रेडिङ गरिन्छ । पहिलो श्रेणीको सुन्तलाको बजार मूल्य निकै महंगो हुने चिस्यान केन्द्रमा सुन्तला राखेका शिव खड्काले बताए । ग्रेडिङ गरेका सुन्तला पोखराको बजारमा खपत हुन्छ ।

परम्परागत चिस्यान केन्द्रमा माटो, बालुवा तथा गिट्टीको समिश्रणमा ढुंगाको गाह्रो निर्माण गरिएको हुन्छ भने आधुनिक चिस्यान केन्द्र विद्युत्बाट सञ्चालन हुन्छ । दुवै प्रकारका भण्डारण गृहमा ४ महिनासम्म सुन्तला सुरक्षित गर्न सकिने अर्का कृषक लोकबहादुर थापाले बताए । ‘अहिले जहाँतहीँ सुन्तला फल्ने भएका कारण सुन्तलाको मूल्य त्यति धेरै पर्दैन,’ थापाले भने, ‘बेमौसममा धेरै मूल्य पार्नका लागि बाग्लुङ जिल्लाका अन्य किसानले आफ्नै घरमा पनि भण्डारण गृह बनाउन थालेका छन् ।’ – खेमराज गौतम/रासस

Leave a Reply