बेनी नगरपालिकाका एक किसानले साग बेचेर एक सिजनमा एक लाख रुपैयाँभन्दा बढी कमाइ गरेका छन्। वडा नम्बर २ ज्यामरुककोटको खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्कीले साग बेचेरै एक सिजनमा एक लाखभन्दा बढी कमाइ गर्दै आएका छन्।  म्याग्दीमा नै सबैभन्दा बढी साग उत्पादन गर्ने जिल्लाका अगुवा कृषक कार्कीले मुख्य याममा दैनिक ५० किलोसम्म साग बेच्छन्। आफ्नै सीप र अनुभवबाट साग उत्पादन गर्दै आउएका उनलार्ई गाउँमा सडक पुगेपछि झन् सजिलो भएको छ।

हाडेभीर–लभ्लीहिल–भकुण्डे जोड्ने सडक बनेपछि गाउँको कृषि उत्पादनले बजार पाउनुका साथै उत्पादित तरकारी समयमा नै बजारमा पुर्‍याउन सहज भएको हो। कार्कीले मार्फा रायो, स्थानीय रायो, फापर, चमसुरलगायतका जातका साग खेती गरेका छन्।

विगत ४० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका कार्कीले चार रोपनी जग्गामा साग लगाएका छन्। ‘बजारमा सागको माग छ, खबरा लभ्लीहिलको साग भनेपछि सबैको रोजाइमा पर्छ,’ उनले भने, ‘पहिलेपहिले साग त्यत्तिकै कुुहिएर जान्थ्यो। गाईवस्तुलाई खुवाउनुपथ्र्यो। सिन्की बनाउने चलन थियो। अहिले यही साग मेरा लागि लाख कमाउने माध्यम बनेको छ।’

अहिले साग प्रतिकिलो ३५ देखि ४० रुपैयाँसम्म बिक्री हुने गरेको उनले जानकारी दिए। कार्कीले सागसँगै अन्य तरकारी बाली पनि उत्पादन गर्दै आएका छन्। काउली, बन्दागोभी, गाजर, धनियाँ पनि बेच्छन्।  उनलाई परिवारले पनि खेतीपातीमा सघाउँदै आएको छ। उनकी श्रीमती र छोरा नारायण दैनिकरुपमा कृषि उत्पादनमा खट्ने गरेका छन्। कार्की व्यावसायिक केरा खेतीलाई पनि  अघि बढाउने योजनामा छन्। तर, सरकारी निकायबाट सहयोग नपाएको कार्कीको गुनासो छ।

Leave a Reply