पाटन अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरेका बेनी नगरपालिका–१०, पात्लेखेतका प्रेमप्रसाद शर्मा एकबर्षको अवधीमा करिब १० पटक पाटन अस्पतालमै पुगेर फलोअफ जाँच गरे। चिकित्सकले निको नभएसम्म नियमित चेकजाँचका लागि आउन अनुरोध गरेपछि शर्माले छोरालाई लिएर शल्यक्रिया गरेपछि काठमाण्डौ र पोखरासम्म धेरैपटक पुगे। घाउमा इन्फेक्सन, मासिक चेकजाँचले हैरानी खेप्दै आएका शर्माले विगत तीन महिनादेखि बेनी अस्पतालबाटै सेवा पाइरहेका छन् ।

बेनी अस्पतालले गुणस्तरीय सेवाका लागि पाटन अस्पताल (पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान) सँग सहकार्यले शर्माजस्तै धेरै बिरामीले राहत पाएका छन् ।अन्य जटिल समस्याका कारण पोखरा र काठमाण्डौ जानै पर्ने अवस्थाका बिरामीलाई समेत पछिल्लो तीनमहिना यता अस्पतालमै सम्भव भएसम्म उपचार गर्ने गरिएको छ।‘पाटन अस्पतालबाट पाउने सेवा बेनी अस्पतालमै पाएको छु,‘समय र पैसा दुवैको बचत भएको छ’ आइतबार नियमित फलोअफमा आएका शर्माले बेनीअनलाइनलाई भने ।

पाटनमा चेकजाँच गर्न जाँदा यहाँबाट दुईजना अनुभवी चिकित्सक बेनी अस्पतालमै जानुभएको छ भन्ने जानकारी पाएपछि फलोअपका लागि काठमाण्डौ जान रोकिएको शर्माको भनाई छ । पाटन अस्पतालबाट बेनी अस्पतालमा सर्जरीतर्फ यूगल नेपाल र मेडिसिनमा डा. सुदिप अधिकारी कार्यरत छन्।

अस्पतालमा शर्माको उपचारकै क्रममा डा. नेपालले पछिल्लो तीन महिनामा रिफर खोज्दै आउने धेरै बिरामीको उपचार भएको बताए । ‘सम्भव भएसम्म हामीले सेवा दिएका छौ,‘धेरै खर्च गरेर रोग निको हुन्छ भन्ने बिरामी पनि भेटिनुहुन्छ’ नेपालले भने । उनले तीन महिनापछि आफुँहरु जाने र सोही ठाउँमा अनुभवी चिकित्सकको आगमन हुने बताए ।

पाटन अस्पतालसँग सहकार्य गरिएपछि आधुनिक उपकरणको प्रयोग, गुणस्तरीय उपचार र शल्यक्रिया सहितको प्रसुती सेवामासँगै विशेषज्ञ चिकित्सकको उपस्थितीमा नियमित एपेन्डिक्स, हर्निया, हाईडोसिल,सहित माईनर सल्यक्रियाको सुविधालाई सहज भएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । उनले जनरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति सेवाका लागि छुट्टै शाखा समेत बनाइएको बताए ।

विशेषज्ञ (कन्सलटेन्ट) चिकित्सकको आगमनसँगै अस्पतालमा बिरामीको चाप समेत बढेको छ । अस्पतालमा बिशेषज्ञ चिकित्सकको अस्पतालमै दरबन्दी भएपनि प्राप्त नहुदाँ पाटन स्वास्थ्य प्रतिष्ठानबाट सहयोग लिइएको बताए । अस्पतालमा निक साईमन्स इस्टिच्युटको सहयोगमा अप्रेशनसहितको प्रसुती सेवा जिल्ला अस्पतालमै सञ्चालन गरेपछि महिला तथा बालबालिकालाई धेरै सहज भएको छ । बिरामीको गुनासो कम गर्ने र प्रभावकारी सेवा दिने प्रयास जारी रहेको बेनी अस्पतालले जनाएको छ ।

Leave a Reply