उत्तरी म्याग्दीको नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । ७० वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनको तयारीका लागि अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्यटन महोत्सवको आयोजना गरिएको हो ।

अन्नपूर्ण गाउपालिकाले विश्वकौ दसौ र नेपालको नवौ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको हो । माघ १६ देखि २१ गतेसम्म नारच्याङको बेशीगाउमा महोत्सवसंगै अध्यक्ष कप खेलकुद प्रतियोगिता पनि सञ्चालन गर्न लागिएको अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

‘ओझेलमा परेको अन्नपूर्ण हिमाल र आधार शिविरलाई पहिचान गराउन महोत्सव गर्न लागेका छौ,’ अध्यक्ष पुनले भन्नुभयो ‘नारच्याङ हुदै अन्नपूर्ण आधार शिविर जाने छोटो र सजिलो पदमार्ग तयार भएको सन्देश फैलाउनु महोत्सवको मुख्य उद्देश्य हो ।’

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नया गन्तब्यको रुपमा नारच्याङ–अन्नपूर्ण आधार शिविर पदमार्ग सञ्चालन गर्न लागिएको हो । आधारभूत स्तरको पदमार्ग, झोलुङ्गे पुल र क्याम्पीङ साइटहरु निर्माणका साथै नक्सा समेत तयार पारिएको छ ।

अध्यक्ष पुनको संयोजकत्वमा मुल र विभिन्न उपसमिति गठन गरेर महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी तिब्र बनाइएको प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक कृष्णप्रसाद बरुवालले बताउनुभयो ।

स्थानीय अन्नपूर्ण युवा क्लवको समन्वयमा महोत्सव स्थलमा पूर्वाधार निर्माण सुरु भएको छ । महोत्सवसंगै वडा स्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामुहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक ओमप्रकाश फगामीले बताउनुभयो ।

ती सबै प्रतियोगितामा गाउपालिकाका ८ वटै वडाको सहभागिता हुने भएको छ । पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

यसैगरी महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार तथा प्रौढ भलिबलको बिजेता उपबिजेतालाई ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

सामुहिक नृत्य प्रतियोगिताको बिजेतालाई बीस र उपबिजेतालाई १८ हजार तथा एकल नृत्यमा बिजेतालाई दश हजार र उपबिजेतालाई छ हजार रुपैया पुरस्कार दिइने आर्थिक संयोजक आत्मा तुलाचनले बताउनुभयो ।

उपाध्यक्ष केशमाया मगरको संयोजकत्वमा अतिथि सत्कार, स्वास्थ्य संयोजक समुन्द्र बरुवालको संयोजकत्वमा स्वास्थ्य, ८ नम्बर वडाका अध्यक्ष खमबहादुर गर्बुजाको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन भएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

महोत्सवलाई सफल बनाउन नारच्याङका आमा समूह, युवा क्लव र टोल सुधार समितिले तयारीलाई तिब्रता दिएका वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो । नारच्याङको पर्यटन विकासका लागि महोत्सव र पदमार्ग कोशेढुङ्गा बन्ने उहाको अपेक्षा छ ।

नारच्याङ गाउँदेखि तीन दिनको यात्रामा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । सन १९५० को जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । अन्नपूर्ण प्रथम हिमाल र आधार शिविर म्याग्दीमा पर्छ भन्ने विषय ओझेलमा परेको थियो ।

हर्जाेगले अन्नपूर्ण हिमालको आरोहण गरेको तीन वर्षपछि मात्रै सर्वाेच्च चुचुरो सगरमाथामाथि मानव पाइला परेको थियो । त्यसैले अन्नपूर्ण प्रथम हिमाललाई जेठो हिमाल भनिन्छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको छायामा म्याग्दीको अन्नपूर्ण आधारशिविर परेकाले वर्षौंदेखि यहाँको पर्यटन उद्योग पछि परेको संरक्षण व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो ।

‘अन्नपूर्ण हिमालको प्रथम आधार शिविर म्याग्दीमा पर्छ भन्ने तत्थ्य आठ वर्षअघि पत्ता लागेको थियो,’ गुरुङले भन्नुभयो ‘पालिकाले बल्ल यसको महत्व बुझेर चासो दिन थालेकोमा हामी खुसी र उत्साही छौ ।’

यही हिमालको नामबाट अन्नपूर्ण गाउँपालिकाको नामाकरण भएको हो । यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो बाटो हो । यो हिमालले म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्ला समेटेको छ । अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको भुगोलमा पर्छ ।

तर राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा अन्नपूर्ण हिमाल कास्कीमा पर्ने भनेर प्रचार भएकाले सोही अनुसारको बुझाई र भ्रम छ । भ्रम चिर्न नसक्दा म्याग्दी जिल्लाले अन्नपूर्ण हिमालबाट लाभ लिन नसकेको गुरुङले बताउनुभयो ।

पछिल्लो केही वर्षयता नारच्याङका बासिन्दाको पहलमा आधार शिविरसम्म पदमार्गले जोडिएको छ । यसअघि मुस्ताङको ताक्लुङ हुदै जंगल, भिर, पहराको जोखिमयुक्त बाटोमा करिब एक हप्ता पैदल हिडेर अन्नपूर्ण आधार शिविर पुग्नुपर्दथ्यो ।
वि.स २०६८ मा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष गुरुङको नेतृत्वमा नारच्याङका बासिन्दाले निलगिरि खोलाको किनारै किनार आधार शिविर पुग्ने पदमार्ग पहिचान गरेका थिए । बाटो र विभिन्न खोलाहरुमा झोलुङ्गे पुल बनाएर तीन वर्षअघि नारच्याङ देखि अन्नपूर्ण आधार शिविरलाई पदमार्गले जोडिएको थियो ।

अहिले यो पदमार्ग स्तरोन्नती गरेर सहज र सुरक्षित रुपमा आवत जावत गर्ने बनाउन लागिएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो । पदमार्गमा आवासगृह, खानेपानी, झोलुङ्गे पुल लगायत पूर्वाधार तयार पारेर हेलीकप्टरबाट जाने पर्यटक र आरोहीलाई पैदलमार्गबाट पु¥याउने तयारी गरिएको उहाँले बताउनुभयो ।

‘अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र पर्यटन मन्त्रालयको सहयोगमा खोलिएको पदमार्ग सुधार र पूर्वाधार विस्तारमा प्राथमिकता दिएका छौ,’ फगामीले भन्नुभयो । होटल तथा लजको सुबिधा नभएकाले क्याम्पीङ गर्नुपर्ने बाध्यता छ । वर्षमा १० देखि १५ समूह आरोहणका लागि अन्नपूर्ण आधार शिविर पुग्छन् ।

आधार शिविरमा रहेको पञ्चकुण्ड नारच्याङ हिमतालको अर्को आकर्षण हो । पदयात्राबाट उच्च हिमालको दृश्यावलोकनका साथै हिमताल र विभिन्न वनस्पति, चराचुरुंगी पनि अवलोकन गर्न सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषी बरालले बताउनुभयो ।क्याम्पीङ पदयात्राका लागि अन्नपूर्ण आधार शिविर नयाँ गन्तब्यको रुपमा विकास हुन सक्ने उहाँको भनाई छ ।