राम थापा ‘अविरल’
बागलुङ, १० माघ ।
उमेर चार महिना । भारी जीउ । हाँसको झैँ चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चहार्छ, चारो टिप्छ। यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी दिनहरु काटिरहेको छ ।

गत असोज ११ गते ‘अर्पणा पोल्ट्री फार्म’मा आएदेखि यसको आयु र तौलको गन्ती शुरु भयो । डेढ महिनाअघि १२ किलो २०० ग्राम रहेको भाले अहिले बढेर १४ किलो पुगेको छ । दैनिक ५० ग्रामका दरले बढिरहेको भालेको तौल १६ किलोसम्म पुग्ने आँकलन कुखुरा पालकको छ ।

‘यो भाले परीक्षणका लागि लामो समय पालिएको हो’, फार्मका सञ्चालक विजय शर्माले भने, ‘अब यो धेरै समय यहाँ रहँदैन होला ।’ ‘ब्रोइलर’ कुखुराको आयु र तौलबारे अनुभव लिन नबेची राखिएको उनको भनाइ छ । उक्त भालेले अहिलेसम्म छ किलोभन्दा बढी दाना खाइसकेको छ । उचित हेरचाहले भाले निरोगी छ ।

‘भाले किन्नका लागि धेरैले सोधिरहनुभएको छ, वनभोज जाने या त्यस्तै समूह आए बेच्ने तयारीमा छु’, शर्माले भने ।
उक्त भालेलाई अहिले बेच्दा बजार मूल्य तीन हजार दुई सय रुपैयाँ पर्छ । बागलुङ नगरपालिका–३ रातामाटास्थित ‘फार्म’मा पुग्ने जो कोही दङ्ग मानेर भाले हेर्छन् । कतिले उचाल्छन् पनि । भालेसँगै हुर्किएका दुई पोथी पनि छन्, जसको तौल आठ किलो पुगेको छ ।

नाफा घाटा हेर्दा बुढो हुञ्जेल कुखुरा पाल्नु व्यावसायिक हितमा नभए पनि परीक्षणले नयाँ सिकाइ भएको कुखुरापालक शर्माको भनाइ छ । ४५ दिन काटेपछि ‘ब्रोइलर’ कुखुराको तौल दैनिक ५० ग्रामका दरले बढ्ने गर्छ । ४५ देखि ६० दिनभित्र कुखुरा बेच्न योग्य हुन्छ । ‘ब्रोइलर’ कुखुराको आयु छदेखि आठ महिनासम्म हुने बताइन्छ ।

शर्मा विसं २०६१ देखि कुखुरापालन व्यवसायमा छन् । घर व्यवहारदेखि, बालबच्चाको पढाइसम्म सोही व्यवसायबाट धानिएको छ । ‘फार्म’मा अहिले एक हजार कुखुरा छन् । उनलाई व्यवसायमा श्रीमती गीताको दरिलो साथ छ ।

‘१६ वर्ष भयो कुखुरापालनमा लागेको, ४५ हजार रुपैयाँबाट शुरु गरेको लगानी अहिले १२ लाख रुपैयाँ भन्दा बढी पुगेको छ’, गीताले भनिन् । शुरुमा घरकै सानो कोठाबाट शर्मा दम्पतीले कुखुरापालन व्यवसाय शुरु गरेका थिए । अहिले आधुनिक खोर बनाएर कुखुरापालन गरिरहेका छन् । वर्षमा छ ‘लट’ कुखुरा तयार हुन्छन् ।

एक पटकमा झण्डै रु ६० देखि ७० हजारसम्म मुनाफा निस्कन्छ । बजार मूल्यमा आउने उतारचढावले कहिलेकाहीँ आम्दानी घटबढ हुन्छ । अहिले जिउँदो ‘ब्रोइलर’ कुखुरा प्रतिकिलो रु २३० मा बिक्री भइरहेको छ । कुखुरापालनसँगै शर्मा दम्पतीको मासु, किराना र खाजा पसल पनि छ ।

‘फ्रेस हाउस’का लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङबाट गत आवमा एक लाख ९४ हजार रुपैयाँ अनुदान आएको थियो । त्यसमा तीन लाख रुपैयाँ थपेर मापदण्डअनुसारको व्यवस्थित ‘फ्रेस हाउस’ सञ्चालन गरिएको शर्माले बताए । व्यवसायमा शर्मा दम्पतीको लगाव र मेहनत देखेर गाउँले पनि छक्क पर्छन् ।

‘विदेशको सपनालाई सधैँका लागि त्यागेर गाउँघरमै बसी केही गर्ने सोचका साथ अघि बढेको छु’, शर्माले भने, ‘परिवार र छिमेकीको पनि राम्रो साथ छ ।’ शर्माले यसअघि रोजगारीका क्रममा तीन वर्ष अरबमा बिताएर फर्किएका हुन् । ‘अब त मैले पनि विदेश जान दिन्न, यहीँ सुखदुःख गरेर बस्ने हो’, शर्माकी श्रीमती गीताले भनिन्, ‘ठूलो देश जाने चक्करमा न काम भयो, उल्टै दलालले पैसा खाए ।’

वर्षौंदेखि काम गरे पनि कुखुरापालनमा अहिलेसम्म कुनै सरकारी अनुदान नपाएको शर्मा दम्पतीको गुनासो छ । कुखुरापालकका लागि अनुदानभन्दा अनुभव आदानप्रदान र तालीम बढी महत्वपूर्ण हुने उनले बताए ।
रासस

विज्ञापन