पहाडको टुप्पोबाट जमिनतिर झर्दै छङ्छङ आवाज निकाल्ने झरना । भिरालो पहाडमा लडबडी खेल्दै र सुसेली हाल्दै बगेको झरनालाई हेरिरहँदा सिरको टोपी र पछ्यौरी खसेको पत्तो हुँदैन । झरनासँगै साइटसिनमा आँखा घुमाउन पाउँदा निकै आनन्द आउँछ । अझै झरनाको पानीमा डुबुल्की मार्दा त झन् मज्जा लाग्छ । निकै आकर्षक, सुन्दर र मनमोहक देखिने झरना पहाडको टुप्पोबाट कलकल गर्दै खस्छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानमा रहेको महभीर झरनाले पर्यटकलाई लोभ्याइरहन्छ । पर्यटकीय आकर्षण र सम्भावना बोकेको महभीर झरनामा हिँजोआज पर्यटकहरुको भीड लाग्ने गरेको छ । हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक नजिकै रहेको झरना स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बनेको छ ।महभीर झरना पछिल्लो समय स्वदेशी र विदेशी पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारबाट २ घण्टाको यात्रामा महभीर झरनामा पुगिन्छ । बेनी–जोमसोम सडकको नजिकै पर्ने भएकाले पनि झरनामा प्रायः पर्यटकहरु सवारीसाधन रोकेरै जाने गरेका छन् ।

पहिलेदेखि नै प्राकृतिक रुपमा रहेको यस झरना निकै कन्चन र सफा छ । पछिल्लो समय झरनालाई पृष्ठभूमीमा पारेर सेल्फी खिच्नकै लागि भए पनि पर्यटकहरु महभीर झरनामा जाने गरेका छन् । झरनासँगै आसपासका ठाउँको समेत साइटसिनको खुब मज्जा लिन सकिन्छ ।

आफ्नो आँख्खै अगाडिबाट झरनालाई नियाल्न पाइने र मोबाइलमा सेल्फी फोटो तथा भिडियो खिच्न मिल्न भएको हुँदा पर्यटकका साथै किशोरावस्थाका युवायुवतीहरु झरनामा पुगेर रमाउने गरेका छन् । अग्लो तथा भिरालो पहाडको टुप्पोबाट एकनासले तल जमिनतिर खसिरहने झरना हेर्दा आनन्द आउने पर्यटकहरुको अनुभव छ ।

साइटसिनको पर्याप्त आकर्षण बोकेको सुन्दर देखिने महभीर झरना बहुउपयोगी रहेकाले पछिल्लो समय फोटोसेसन गर्नेहरु ह्वात्तै बढेको स्थानीयवासिन्दा बताउँछन् । महभीर झरनाले हिस्तान गाउँमा थप रौनकता थपेको हुँदा केही वर्षयता स्वदेशी पर्यटकहरुको आगमनमा वृद्धि हुँदै जान थालेको छ ।

झरनामा पुगेर प्रकृतिसँगै रमाउन पाउँदा आफूलाई निकै आनन्दको अनुभूति भएको म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक कमला जिसीले अनुभव सुनाउनुभयो । हिस्तानको प्रमुख पर्यटकीय गन्तव्य मानिने महभीर झरनाको झण्डै ३ सय मिटर उचाई रहेको अनुमान गरिएको छ । प्राकृतिक रुपमा उत्पत्ति यस झरनाको मुख्य मुहान हिस्तान गाउँको गोरखर्क भन्ने ठाउँमा पर्दछ ।

पर्यटकीय सम्भावना बोकेको महभीर झरनाको पर्यटन पवद्र्धनका लागि अन्नपूर्ण गाउँपालिकाले पहल गरिरहेको जनाएको छ । गतवर्ष शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङबाट तीनलाख रुपैयाँको बजेटमा झरनासम्म पुग्ने पदमार्ग निर्माण, घेराबार, बस्नका लागि बेन्च र फलफुलका विरुवाहरु रोपिएको हिस्तानका वडा अध्यक्ष गमबहादुर फगामीले जानकारी दिनुभयो ।

वर्षात्को समयमा ठूलो हुने झरना गर्मीयाममा भने केही सानो स्वरुपमा परिवर्तन हुन्छ । गर्मीयामको समयमा सितलता प्रदान गर्ने हुँदा झरनामा पुगेर मनोरञ्जन लिने पर्यटकहरुको घुइँचो नै लाग्ने गरेको छ । अन्नपूर्ण गाउँपालिकाको भ्रमणमा निस्कनुभएकी आन्तरिक पर्यटक जमुना आचार्यले झरनामा जाँदा शारिरीक थकान मेटिनुका साथै रमाइलो र आनन्दको महशुस गर्न पाएको बताउनुभयो । झरनाको आसपासका ठाउँमा पर्याप्त पूर्वाधार विस्तारका साथै प्रचारप्रसार गर्नसके आन्तरिक र बाह्य पर्यटकहरु बढ्ने उहाँले बताउनुभयो ।

हिस्तानको महभीर झरनासँगै अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा रहेको नारच्याङ झरना र दानाको रुप्से झरना प्रमुख पर्यटकीय गन्तव्यको आकर्षणका रुपमा मानिन्छन् । हिमाली जिल्ला म्याग्दी आफैमा पनि सुन्दर छ । यहाँ रहेका पर्यटकीय झरना, तालतलैया र धार्मिक स्थलहरुको विकास गर्न सकेमा धेरैभन्दा धेरै पर्यटकहरुलाई म्याग्दी भिœयाउन सकिने प्रशस्तै सम्भावना देखिन्छ । यसैबीच नेपाल भ्रमण वर्ष–२०२० मनाइरहँदा स्थानीयले भने पर्यटकीय क्षेत्रमा पूर्वाधारहरुको विकास गर्नुपर्ने माग गरेका छन् ।

Leave a Reply