नोवल कोरोना भाइरस संक्रमणको शंकामा अस्पताल पुगेर परीक्षण गर्नेहरु बढेका छन् ।कोरोना भाइरस संक्रमणको आशंकामा चीनबाट फर्किएका दुई बिरामीलाई शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेसनमै राखिएको छ, एक जनाको अवस्था गम्भीर छ । उनीहरुको लक्षण कोरोना भाइरससंग मिल्दोजुल्दो छ तर परिक्षणको रिपोर्ट भने आइनसकेको अस्पतालले जनाएको छ ।

गत डिसेम्बर ३१ मा चीनको वुहानमा नयाँ भाइरस देखियो उक्त भाइरसलाई नै नोबेल कोरोना भाइरस भनेर चिनिन्छ । यो भाइरस नयाँ प्रजातिको भाइरस हो । यो पहिलो पटक मानव जातिमा पहिचान भएको हो । यसले मानिस र पशुलाई आक्रमण गर्दछ ।

कोरोना भाइरसको संक्रमणले डिसेम्बर ३१ यता एक चिकित्सक सहित ५६ जनाको मृत्यु भइसकेको छ, भने चीनमा मात्र झन्डै २,००० व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ । छिमेकी मुलुकमा तीब्र रुपमा फैलिएको यो भाइरस नेपालमा पनि प्रवेश गरेको छ ।

चीनबाट फर्किएका ३२ बर्षीया पुरुषलाई गत शुक्रबार कोरोना भाइरस संक्रमणको पुष्टी भएको हो । त्यस्तै हङकङ र चिनबाट फर्किएका अन्य तिन जनामा पनि कोरोना भाइरसको आशंका गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको नेपालस्थित कन्ट्री अफिसले यो नयाँ भाइरस भएकाले यसबारे अनुसन्धान थालिएको बताएको छ । चीन बाहेकका देशमा संक्रमितको संख्या नगण्य देखिएकाले आपतकालीन घोषणा गरेको छैन ।

कोरोना भाइरसका मुख्य लक्षण

  • –उच्च ज्वरो आउने ।
  • –श्वासप्रस्वासमा अत्यधिक समस्या ।
  • –रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने ।

कोरोना भाइरस लाग्न नदिन के गर्ने ?

  • –साबुनपानीले बारम्बार हात धुने, साबुनपानी उपलब्ध नभएमा स्यानिटाइजरको प्रयोग गर्ने ।
  • खोक्दा र हाच्छ्यु गर्दा नाक र मुख छोप्ने ।
  • –फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने ।
  • –जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने ।
  • –माछा, मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाने ।
  • –मास्क लगाएर मात्र हिँड्ने ।

नेपालमा भाइरसको संक्रमण पुष्टि भइसक्दा पनि अहिलेसम्म स्वदेशमै परीक्षण थालिएको छैन । विमानस्थलमा सतर्कता आपनाइए पनि परीक्षण प्रविधि अभावमा स्वास्थ्यकर्मी लक्षणको अवलोकन मै सीमित छन् । Source: News24nepal.tv

Leave a Reply