बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं ४ कुडुले फेदीमा निर्माण भएको नेपालको एकमात्र शालिग्राम संंग्रहालय धार्मिक एवम् आन्तरिक पर्यटकहरुका लागि अनुपम गन्तव्य बन्दै गएको छ ।

कलात्मक शैलीमा भूमिगत रुपमा निर्माण गरिएको त्रिशुल आकारको स्वामी श्रीधराचार्य शालिग्राम संग्रहालयको अवलोकनका लागि देशका विभिन्न जिल्लाहरुबाट मानिसहरु आउन थालेपछि यसको चर्चा चुलिदै गएको हो ।
संयोगले नेपाल भ्रमण वर्षको संघारमा निर्माण भएको शालिग्राम संग्राहलय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएपछि स्थानीयहरुसमेत दंग परेका छन् ।

बागलुङ सदरमुकामदेखि करिब ३ किलोमिटरको दुरीमा रहेको यस संग्राहलयमा सवारी साधनमा बजारबाट ७ मिनेटमा पुग्न सकिन्छ । त्रिशूल आकारमा रहेको सुरुङको बाँयापट्टि धार्मिक महत्वका १ लाख २५ हजार शालिग्राम संकलन गरेर राखिएको छ । एउटै शालिग्राम १ सय किलोभन्दा बढीको रहेको मन्दिरका हेरालु कृष्णप्रसाद सापकोटाले बताए ।

प्राकृतिक र मानवीय अतिक्रमणका कारण लोपोन्मुख अवस्थामा पुगेका शालिग्रामलाई हिन्दू धर्म, संस्कारमा विष्णु भगवान्का रूपमा पुज्ने चलन छ ।कालीगण्डकी (पौराणिक नाम कृष्णागण्डकी) नदीमा पाइने शालिग्रामको दर्शन गर्नाले पुण्य मिल्ने जनविश्वास छ

संस्थापक स्वामी श्रीधराचार्यको सम्झनामा भूमिगतरुपमा निर्माण गरिएको संग्राहलय भित्रै स्वामी श्रीधराचार्य स्मृति कक्ष पनि बनाइएको छ ।उहाँको मूर्तिसँगै गण्डकी सभ्यताबारे उनले लेखेका पुस्तक, लेख, रचना र अन्य सामग्री उक्त कक्षमा छन् ।

झण्डै ६ करोडको लागतमा डेढ वर्ष लगाएर संग्रहालय बनाइएको स्वामी प्रपन्नाचार्यले बताए । उनका अनुसार लामो सुरुङभित्र सवा लाख साना ठूला शालिग्रामसहित आकर्षक रुपमा बनाइएका संरचना, धार्मिक एवम् प्राकृतिक स्थललको रेखांकनसहितको नक्साले समेत धेरैको ध्यान तान्ने अपेक्षा गरिएको छ।

संग्रहालयमा गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनी कक्ष बनाइएको छ । एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भू(बनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना देखाइएको छ ।

सङ्ग्रहालयमा मठमन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् । भारत, चीन, पाकिस्तानलगायत देशमा रहेका प्रसिद्ध नदीका शिला पनि संग्राहलयमा राखिएका छन् । समुद्री अवशेषलाई पनि नमूनाका रूपमा देखाइएको छ ।

पाठपूजा, हवन जस्ता धार्मिक कार्यमा प्रयोग हुने परम्परागत सामग्री एवं उपकरण पनि सङ्ग्रह गरिएका छन्। सुरुङको दायाँपट्टि १ सय २० जना क्षमताको हल एवम् वृत्तचित्र प्रदर्शनीकक्ष निर्माण गरिएको छ । त्यहाँ गण्डकी सभ्यताको महिमा झल्काउने र गण्डकी सभ्यता माथि पछिल्लो समय भइरहेको अतिक्रमण देखाउने वृत्तचित्र प्रदर्शन गरिनेछ ।
सुरुङभित्र राखिएको भौगोलिक नक्साको नमूना तयार पार्न नेपाली सेनाले सघाएको थियो । गण्डकी सभ्यता देखाउने नक्सांकनलाई सिसाले सुसज्जित गरिएको छ ।

संग्रहालय नजिकै निर्माणाधीन श्रीरङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरको पनि ९५ प्रतिशत काम पूरा भएको छ । २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि नयाँ बनाइएको हो । प्यागोडा शैलीको मन्दिरमा श्रीराम अंकित कालीगण्डकी नदीका शिला (ढुंगा) र सालको काठ प्रयोग गरिएको छ ।

सालको काठमा आर्कषक कला कुँदेर मन्दिरका टुँडाल, झ्याल र ढोका बनाइएका छन् । प्राचीन नेपाली कला र शैली झल्कने गरी बनाइएको मन्दिरमा ६४ टुँडाल छन् भने तिनमा विभिन्न देवी, देवताका आकृति कुँदिएका छन् । मन्दिरमा भगवान् मुक्तिनाथ, श्रीरंगनाथ, श्रीवेङ्कटेशनाथ, श्रीदेवी, भूदेवी र नीलादेवीको मूर्ति रहेको छ ।शलिग्राम संग्रहालयको अवलोकनका लागि दैनिक १ सय जना भन्दा बढि आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका सापकोटाले जानकारी दिए । सापकोटका अनुसार भारतबाट समेत धार्मिक पर्यटकहरु आउन थालेका छन् ।