म्याग्दीको सदरमुकाम बेनीमा पछिल्लो समय फेरागन,नुफिन,डाइजेपाम जस्ता लागुऔषधसँगै गाँजा,चरेस र ट्याबलेट प्रयोग बढेको म्याग्दी प्रहरीले जनाएको छ। गएको सोमबार बेनी नगरपालिका–७,मंगलाघाटबाट दुईजना पक्राउ परेपछि प्रहरी झस्किएको छ । प्रहरीले प्रयोगकर्ता र कारोबारीले प्रयोग गर्ने शब्दहरू नै प्रयोग गरी खोजीकार्य तिब्र पारेको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए । प्रनाउ कुँवरसँग गरिएको छोटो कुराकानी

तपाईँ जिल्लामा प्रवेश गर्दाको केही दिनमै ठूलो परिमाणमा लागू औषध भेटियो, आक्रामक योजनाको संकेत मान्न सकिन्छ?

लागु औषधको दुर्व्यसन र बेचबिखन ठूलो सामाजिक समस्याको रुपमा बढने क्रममा रहेको छ । मेरो म्याग्दी जिल्ला प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेको पहिलो हप्तामै ठूलो परिमाणमा लागू औषध सहित कारोबारीहरुलाई पक्राउ गर्न सफल भएका छौ । लागू औषधको समस्या जुन रुपमा बढदो छ र यसबाट मानव र सामाजिक विकासमा पर्ने नकारात्मक प्रभावहरुको कारण यस बिकृति र अपराध विरुद्ध आक्रामक रुपमा नै प्रहरी परिचालन गर्ने योजना छ ।

म्याग्दीमा हरेक बर्ष लागू औषध बरामद हुन्छ, यसलाई प्रयोगकर्ता बढेको मान्न सकिन्छ?
लागु औषधको बरामदीलाई दुबै अर्थमा व्याख्या गर्न सकिन्छ । यसले बढदो दुर्व्यसन र समस्यालाई ईंगित गर्दछ भने समस्या समाधानका लागि प्रहरी सक्रियतालाई समेत यसले संकेत गर्दछ । जति प्रहरी सक्रियता बढ्यो यस्ता समस्याहरु त्यति नै नियन्त्रणमा आउँछन । तथ्याङ्क नै नभए पनि समग्र विश्वमा र नेपालको परिवेशमा पनि लागुऔषध दुर्व्यसनको समस्या बढदो छ ।

यहाँ भित्रिने लागू औषधको सञ्जाल कहाँबाट जोडिएको छ त? यहाँबाट सिमावर्ती इलाकामा समेत पुगेको देखिन्छ त?
मैले भर्खर यस जिल्लाको कमाण्ड सम्हालेको छु र अपराध विश्लेषण समेत गरिरहेको छु । यहाँको लागू औषधको अपराध प्रवृत्ति हेर्दा लागू औषधका कारोबारीहरुले नवलपरासीको बर्दघाट र रुपन्देहीको बेलहिया नाकाबाट लागू औषध भित्रयाउने गरेको पाईएको छ । सीमावर्ती भारतका शहरहरुमा नेपालमा प्रतिबन्धित लागु औषधहरुको सहज उपलब्धताको कारण लागू औषध कारोबारी र दुर्व्यसनीहरुले ति नाकाहरुलाई प्रयोग गर्ने गरेको पाईएको छ।

प्रयोगकर्तामा स्कुले विद्यार्थी समेत छन भनिन्छ, यो डरलाग्दो अवस्था होईन त?
समग्र नेपालमा नै लागू औषधको कारोबार र दुर्व्यसनमा कानूनी दायरामा ल्याईएका व्यक्तिहरुको उमेर समुहको विश्लेषणले के दर्शाउँदछ भने ५५५ व्यक्तिहरु २४ बर्ष भन्दा कम उमेर समुहका रहेका छन । यसमा निसन्देह कलेज र स्कुले विद्यार्थीहरु समेत पर्दछन । राष्ट्रको भविष्यको रुपमा रहेका कर्णधारहरु ज्ञान प्राप्ति र चरित्र निर्माणको क्रममा यस्तो भयानक दुर्व्यसनमा फँस्नु भनेको अत्यन्त दुखद हो ।

लागु औषधको कारोवारीको सञ्जाल तोडन, प्रयोग घटाउन कस्तो किसिमको कार्यक्रम आवश्यक पर्छ?
लागुऔषधको समस्यालाई नियन्त्रण गर्नका लागि कानून कार्यान्वयन र सचेतना अभिवृद्धिका कार्यक्रमहरु सँगसँगै लैजानु पर्दछ । लागू औषधका कारोबारी र दुर्व्यसनीहरु पक्राउ र बरामदको अभियानलाई तिव्रता दिने योजना रहेको छ । दिगो र दिर्घकालिन समस्या समाधानको लागि “समुदाय प्रहरी साझेदारी“ कार्यक्रम मार्फत स्थानीय तह, सामाजिक संघ संस्था, विद्यालय र समुदायसँग साझेदारी गरी बिशेष पाठयोजना र जनचेतनामुलक सामाग्रीहरु सहित सम्पूर्ण विद्यार्थीहरुमा सचेतना अभिवृद्धि गर्ने योजना रहेको छ।

यसै गरी समुदाय र अभिभावकहरुका लागि समेत बिशेष सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ । हामीलाई सूचना प्राप्त भएको दुई मिनेटमै प्रयोगकर्ता र कारोबारीलाई नियन्त्रणमा सकिने भएकाले अब समुदायसँग सहकार्य गरी तिब्र गतिमा अभियान सञ्चालन गछौ ।

Leave a Reply