मुलुकभित्र ठाउँठाउँमा तातोपानी कुण्ड छन्। यस्ता कुण्ड अस्पताल बनेका छन्। विशेषतः ग्यास्टिक, ढाडको दुखाइ, बाथ, नसा च्यापिएको र चोटपटकको दुखाइ उपचार गर्न बिरामी घन्टौं कुण्डमा डुबुल्की मार्छन्।

म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा पनि बिरामीको भीड छ। तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यका अनुसार ३५० रुपैयाँको टिकट काटेपछि ११ दिन डुब्न पाइन्छ।

तातोपानीमा महिलाको संख्या बढी हुन्छ। ‘बिहान ३ घन्टा र दिउँसो साँढे दुई घन्टा डुब्न पाइन्छ’, शाक्य भन्छन्, ‘एउटै कुण्डमा महिलापुरुषलाई आलोपालो गरेर डुब्ने व्यवस्था मिलाएका छौं।’

कुण्ड दुइटा छन्, ठूलोमा ३०० जना अटाउँछन्। सानोमा २० जना। बिरामी ठूलो कुण्डमा बस्छन्। घुमन्तेहरू चाहिँ सानो कुण्डमा। घुमन्तेहरू सय रुपैयाँको टिकट काटेपछि दुई घन्टासम्म डुब्न पाउँछन्।

म्याग्दी खोला किनारमा छ कुण्ड। कुण्डको पानीको तापक्रम ४५ देखि ४८ डिगी्र हुन्छ। त्यहाँ बिरामीहरू ९, ११, १५ र ३० दिन बस्छन्। बेलाबेलामा कुण्डका कर्मचारी ग्यालिनमा पानी ल्याएर खुवाउँछन्। एकछिन बसेपछि प्लास्टिक वा कम्बलभित्र बसेर खलखली पसिना निकाल्छन्।

तातोपानीमा घाँटीसम्म डुबाउनुपर्छ। टाउको डुबाउनु हुन्न। क्षयरोगी, जन्डिस, ब्लड प्रेसर हाइ भएका र महिनावारी भएकाले डुब्नु हुँदैन। हाफ पाइन्ट लगाएर कुण्ड प्रवेश गर्न पाइन्छ।

तातोपानीमा हुने गन्धक प्राकृतिक एन्टिबायोटिक हो। त्यहाँ डुब्दा श्वासप्रश्वास, रक्तसञ्चार र नसाको चाल सजिलो हुन्छ। बाथ, दम र जोर्नी दुख्ने समस्यामा लाभ पुग्छ।

तातोपानी क्षेत्रमा होटल र होमस्टे सुविधा छ। शाक्यका अनुसार एकैपटक १५ हजार जना बास बस्न सक्छन्। स्थानीय होटलमा ७ सय रुपैयाँमा अट्याच बाथरुमसहितको कोठा पाइन्छ।

कसरी पुग्ने : काठमाडौं–बेनी २८८ किमि, बसमा १० घन्टा। बेनी–तातोपानी ९ किमि। बेनी बजारमा बस, जिप र ट्याक्सी पाइन्छ।
सम्पर्क : वीरेन्द्रमान शाक्य–९८४७७२३५८६

Source: Nagariknews.com

Leave a Reply