अनकन्टार जंगल, चारैतिर सेताम्मे हिउँ, पदैलमार्ग पुरिएको अवस्थामा एक्कासी जंगलमा अलपत्र चारजना नेपाली पर्यटकको शनिबार उद्धार गरिएको छ ।

समुन्द्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खोप्राबाट छिमेकी नारच्याङको लेकगाउँ हुदै फर्किने क्रममा गत बिहीबार बाटो बिराएर बाक्लो हिउँ जमेको जंगलमा फसेका चारजना यूवाको जोखिम मोलेर उद्धार गरिएको हो ।

बाटो बिराएर अलपत्र परेको जानकारी लगत्तै उद्धारमा खटिएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर, शसस्त्रका डिएसपी प्रकाश माँझी सहितको टोलीलाई स्थानीयको साथले फसेका यूवालाई उद्धार गरिएको हो ।

तराईमा समथर क्षेत्रमा यात्रा गरेका यूवासँगै पहाडमा घुलमिल भएका दुईजना गरी अफसिजनमा बाख्लो हिउँ थिचोल्दै खोप्रा पुगेर फर्किएका यूवाहरु फसेको स्थानमा पुग्न स्थानीयले समेत जोखिम मोल्नुपर्यो ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गको रेलेखर्कको जंलगबीचको खोंचमा रहेका सर्लाही जिल्लाका अंकित शाह, अभिसेक महतो, दोलखाका संजित लामा र धनगढीका सुमन भट्टलााई चर्को आवाज निकाल्दै गएको टोलीले फेला पारेको थियो ।

अलपत्र परेको स्थान आसपासका क्षेत्रमा पुगेर निरन्तर जानकारी गराइरहेका प्रजिअ ढकाल, स्थानीयसँगै उद्धारमा खटिएका प्रनाउ कुँवर सहितको टोलीले हिउँले जमेर पुरै सेताम्मे भएको स्थानमा स्थानीयको सहयोगमा अस्थायी बाटो बनाएर पुगेका थिए । ‘हिउँले बाटो पुरिएको थियो,‘सबैको साथले यूवाहरुलाई सकुशल उद्धार गरियो’ प्रजिअ ढकालले भने ।

उनले स्थानीयको सहयोगबाट उत्साहित भएको बताए । शुक्रबार दिउँसो खोजीकार्यमा लागेका स्थानीय साँझ जंगलमै रात विताएका थिए । विहान पुनः अर्को टोली थपिएपछि खोचमा बसेका यूवाहरुलाई निकालिएको थियो ।

खोजीकार्यमा पुगेका दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले ज्यान हत्केलामा राखेर उद्धारमा जुटेको बताए । ‘यो एउटा जोखिम उद्धारको नमुना हो,‘हिउँमा चिप्लिएर समेत चारजना यूवालाई ल्याउन सफल भइयो’ उनले भने ।

लेकगाउँबाट पुगेको टोलीका सदस्य र यूवाहरुको टोलीले आवाजको आधारमा ठाउँ पहिचान गरेका थिए । उद्धारको क्रममा अंकित र सुमन बिरामी अवस्थामा भेटिएका थिए । उनीहरुलाई स्थानीयले बोकेर ल्याएका थिए ।

हेलिकप्टरमार्फत तत्कालै पोखरा पठाइएको थियो । जंगलभित्र भारी हिउँ भएकाले समेत आसपासका बस्तीहरु समेत नदेखिने तथा पैदल हिड्न समेत समस्या भएको अलपत्र परेका यूवाहरुले बताएका थिए ।

अलपत्र अवस्थामा भेटिएका यूवाहरुले आफुँले ज्यानको आश मारेको अवस्थामा जोखिम मोलेर उद्धार गरिएको बताउँदै धन्यवाद दिएका थिए। ‘नयाँ ठाउँमा हिउँले बाटो भेटिएन्,‘आसपासका क्षेत्र पनि नदेखिने अवस्थामा तीनरात जंगलमै विताउनुप¥यो’ लामाले भने । उद्धार गरिएका दुईजना इन्जिनियर र दुई चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी भएको बताइएको छ ।

उद्धारमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुन गर्बुजाले समेत हेलिकप्टर सहित आवश्यक तयारीमा सहयोग गरेका थिए । फोनको लोकेशन तथा यूवाहरुको आवाज आएको क्षेत्र रेले खोलाको माथिल्लो भागको रेलेखर्क क्षेत्रमा खोजी केन्द्रित गरिएको थियो । एकैदिनमा खोप्राबाट तल बस्तीमा पुग्ने भएकाले यूवाहरुले खासै खाना तथा आवश्यक तयारी नगरी फर्किएका थिए ।

Leave a Reply