आफ्नो स्वर्गीय छोराको सम्झना गर्दै जन्मदिनको अवसर पारेर सोमबार ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग भएको छ । म्याग्दीको बेनी नगरपालिका–७, विरेन्द्रचोकका सिर्जना र शिव भट्टचनले छोरा रोहित भट्टचनको स्मृतिमा जिल्लाको परोपकारी संस्था शान्ति कोषलाई सहयोग गरेका हुन् ।

शान्ति कोषको सचिवालयमा आयोजित एक कार्यक्रममा सिर्जना भट्टचनले स्व. छोरा रोहितको जन्मदिनको अवसर पारेर सम्झनास्वरुप कोषलाई नगद १० हजार रुपैयाँ हस्तान्तरण गरेकी छन् । उक्त रकम सिर्जनाले ओमकुमारी शान्ति कोषका अध्यक्ष एवं म्याग्दी जिल्लाका समाजसेवी राजेश शाक्यलाई हस्तान्तरण गरेकी थिइन् ।

छोराको सम्झनास्वरुप शान्ति कोषलाई आर्थिक सहयोग गरेको उनले बताइन् ।नगद रकम ग्रहण गर्दै कोषका अध्यक्ष शाक्यले जन्मदिनको अवसरमा सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् । उनले प्राप्त सहयोगलाई गरिब तथा विपन्नको उपचारमा खर्च गर्ने बताउँदै संस्था निरन्तर रुपमा सामाजिक क्षेत्रमा क्रियाशिल हुने बताए ।

कार्यक्रम शान्ति कोषका अध्यक्ष शाक्यको अध्यक्षता र प्रथम उपाध्यक्ष एवं म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । ओमकुमारी शान्ति कोषले जिल्लामा आर्थिक अभावकै कारण उपचारबाट बञ्चित गरिब, विपन्न र दिन दुःखीलाई सहयोग तथा आर्थिक सङ्कलनको अभियान समेत सञ्चालन गर्दै आइरहेको छ । कोषले हालसम्म मुटुरोगी, मृर्गौलापीडितका साथै विभिन्न किसिमका रोगहरुबाट ग्रसित व्यक्तिहरुलाई उपचार खर्चका लागि सहयोग गरिरहेको जनाएको छ ।

Leave a Reply