विश्वविद्यालय अनुदान आयोग, नेपालबाट म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए)को प्रमाणपत्र प्राप्त गरेको खुसियालीमा आज क्युएएउत्सव मनाएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा मङ्गलबार एक समारोहबीच ¥याली, झाँकीसहित विभिन्न कार्यक्रम गरेर क्युएएउत्सव मनाएको हो ।

क्याम्पसले अन्तर्राष्ट्रियस्तरको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्युएए) प्रमाणपत्र पाएको खुसियालीमा म्याग्दी जिल्लास्थित विभिन्न जातीय, सामाजिक र शैक्षिक संघसंस्थाले सदरमुकाम बेनीमा झाँकीसहितको ¥याली प्रस्तुत गरेका थिए। साविकको धौलागिरी अञ्चलमा नै म्याग्दी बहुमुखी क्याम्पसले पहिलोपटक क्युएएको प्रमाणपत्र प्राप्त गरेपछि खुसियालीस्वरुप क्युएएउत्सव आयोजना गरिएको जनाइएको छ ।

विश्वविद्यालय अनुदान आयोगले क्युएए प्रमाणपत्र प्राप्तिका लागि तयार गरेको १ सय २० ओटा सूचकहरुमध्ये क्याम्पसले अधिकांश सूचकहरु पुरा गरेपछि आयोगले गएको पुस २८ गते क्युएए प्रमाणपत्र दिएको थियो । देशैभर सञ्चालित क्याम्पसहरुमध्ये हालसम्म ४३ ओटाले क्युएएको मान्यता पाएकोमा म्याग्दी बहुमुखी क्याम्पस ४१औं स्थानमा रहेको छ ।

सन् २०१२ मा क्युएएका लागि आशयपत्र प्रस्तुत गरेको म्याग्दी बहुमुखी क्याम्पसले पछिल्लो समयमा आवश्यक तयारीलाई तीव्रता दिएको थियो । गएको असोज १ देखि ५ गतेसम्म समकक्षी परीक्षण भ्रमणका लागि प्राध्यापक डाक्टर बासुदेव काफ्लेको नेतृत्वमा क्याम्पसमा अध्ययन गर्न आएको ५ सदस्यीय टोलीले गुणस्तर परीक्षण गरेपछि अनुदान आयोगलाई प्रमाणपत्रका लागि सिफारिस गरेको थियो ।

क्युएएको मान्यता प्राप्त गरेको अवसरमा क्याम्पस परिसरमा क्युएए स्मारक समेत स्थापना गरिएको छ । कार्यक्रमको म्याग्दीबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सांसद भूपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुका साथै क्युएए स्मारकको अनावरण गरेका थिए । २०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११÷१२ र स्नातक तहमा मानविकी, व्यवस्थापन तथा शिक्षा सङ्काय एवंं स्नातकोत्तरतर्फ एमबिएस विषयमा पठनपाठन हुँदै आएको छ । क्याम्पसमा हाल १ हजार भन्दाबढी विद्यार्थीहरु अध्ययनरत छन् ।

Leave a Reply