अर्जुन कार्की
बागलुङ, २१ माघ ।
दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक बागलुङ नगरपालिकाले जितेको छ । मंगलबार फाइनल खेलमा बागलुङले उपदयपुरको चौदण्डीगढी नगरपालिकालाई ५–२ गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।सुरुवातदेखि आक्रमक खेल प्रस्तुत गरेको बागलुङले खेलको पहिलो मिनेटमै कप्तान प्रमेश थापाको गोलबाट अग्रता लिएको थियो । चौदण्डीगढीका डिफेन्डरले डिबक्समा बल किलिएर गर्न नसक्दा कप्तान थापाले गोल गरेका हुन् ।

पहिलो हाफको १८ औ मिनेटमा बागलुङका उत्तम गुरुङले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलबारमा लाग्दै फिर्किएको थियो । उक्त बललाई सिद्धान्त मगरले गोलको दिशा दिन सकेनन् । बागलुङको लागि दोस्रो गोल २१ औं मिनेटमा ध्रुव घिमिरेले गरेका थिए । उनले डिबक्स बाहिरबाट प्रहार गरेको बलले गोलको दिशा लिएको थियो । यस्तै खेलको २५ औं मिनेटमा चौदण्डीगढीको लागि कप्तान सरद राईले पेनाल्टीमा गोलगर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए । किपर विट भएको अवस्थामा बागलुङका जिवन गुरुङले गोललाइनमा ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा कप्तान राईले गोल गरेका हुन् ।

यस्तै बागलुङको लागि खेलको ३४ औं मिनेटमा उत्तम गुरुङले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै पहिलो हाफमा बागलुङलाई ३–१ गोलअन्तर बनाएका थिए । चौदण्डीगढीका डिफेन्डर सौजन राईले दिएको पासलाई गोलरक्षक शक्ति राईले हातले समातेपछि डिबक्स भित्रै फ्रिकिक प्राप्त भएको थियो ।दोस्रो हाफमा पनि आफ्नो आक्रमक रणनीतिलाई जारी राखेको बागलुङले ४९ औं मिनेटमा गोविन थापाले गोल गर्दै अग्रतालाई बढाएका थिए ।

खेलको ७५ औं मिनेटमा बागलुङका डिफेन्डर निशान थापाले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीमा चौदण्डीगढीका कप्तान सरद राईले गोल गर्दै खेललाई ४–२ को अन्तरमा ल्याएपनि ७७ औं मिनेटमा बागलुङका उत्तम गुरुङले आफ्नो लागि दुई र टिमको लागि पाँचौं गोलगर्दै उपाधि जिताए ।उपाधि जितेको बागलुङले नगद ३ लाख रुपैयाँ प्राप्त गरेकोछभने चौदण्डीगढीले उपविजेता भन्दै २ लाखमा चित्त बुझाएको छ ।


यस्तै सेमिफाइनल पुग्ने भीमाद नगरपालिका तनहुँ र बेनी नगरपालिका म्याग्दीले ६०–६० हजार प्राप्त गरे ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी बागलुङका उपकप्तान तथा डिफेन्डर निशान थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै उच्च गोलकर्ता र उत्कृष्ट फरवार्ड बागलुङका ध्रुव घिमिरे, उत्कृष्ट गोलकिपर बागलुङका सौगात खड्का, उत्कृष्ट डिफेन्डर जीवन गुरुङ र उत्कृष्ट मिडफिल्डर उत्तम गुरुङ घोषित हुँदै समान ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको समन्वयमा भएको उक्त प्रतियोगितामा १० ओटा नगरपालिकाले नाम दर्ता गराएपनि अन्तिम समयमा दाङको तुलसीपुर उपमहानगरपालिका उपस्थित नभएपछि ९ नगरपालिकाले प्रतिस्पर्धा गरेका थिए ।

नगरपालिकाले २०७४ सालमा प्रदेश नम्बर ४ स्तरीय मेयरकप प्रतियोगिता संचालन गरेको थियो । नगरपालिकाले शहिद दिवसको अवसरमा नगरपालिकाहरु विच आत्मिय भावना बनाउन र खेलकुदको विकासको लागि प्रतियोगिता सुरु गरेको जनाएको थियो । पहिलो प्रतियोगितामा वालिङ नगरपालिका स्याङ्जाले उपाधि जितेको थियो ।

Leave a Reply