न्यूज २४ टेलिभिजनका बागलुङ संवाददाता रविना बोहोरालाई सामाजिक सञ्जालको दुरुपयोग गरि चरित्र हत्याको प्रयास गर्ने बागलुङका निर्माण व्यवसायी राजिन खड्काले लिखित माफी मागेका छन् ।

मेयर कप फुटबलको कार्यक्रम सञ्चालनसँग जोडेर बागलुङ नगरपालिकाबाट आर्थिक लाभ पछि प्रभावित भएको आशयको स्टाटस र पत्रकार बोहोराको तस्बिर समेत खड्काले आफ्नो फेसबुकमा राख्नुभएको थियो । तर, आफुले स्टाटस र फोटो राखेको केही घण्टामै आफ्ना शुभेच्छुकको तिव्र दबाब पछि हटाएका थिए ।

नेपाल पत्रकार महासंघ बागलुङको पहल र समन्वयमा पत्रकार महासंघ भवनमा मंगलबार भएको दुई पक्षिय छलफलमा खड्काले तस्बिर सहित अनुमान र आग्रहका आधारमा आरोपित गर्नु आफ्नो कमजोरी भएको भन्दै सार्वजनिक रुपमा माफी माग्नुभएको महासंघका सचिव राम थापाले बताउनुभयो ।

पत्रकार बोहोराले छलफलको शुरुवातमै स्टाटसमा उल्लेख गरिएको आरोपका आधार सहित पुष्टि गर्न चुनौति दिनसाथ आफ्ना बारेको समाचार लेखे पछिको आक्रोश मनमा रहेको र त्यही व्यक्त भएको उल्लेख गर्दै खड्काले आफुलाई माफी दिन आग्रह गर्नुभएको थियो ।

केही महिना पहिले ठेकेदार खड्काले निर्माण जिम्मा लिएको बानपा १ रामरेखा र जैमिनी नगरपालिकाको कालोपत्रे दुई दिन र दई महिनामै उक्किएको समाचारका कारण पत्रकार बोहोरालाई लक्षित गरेर स्टाटस लेखेको उहाँको स्वीकारोक्ति थियो ।

‘मेयर कपमा ठुलो धन राशी खर्च गरेर प्रतियोगिता गर्ने नगरपालिकाले पूर्वाधार तर्फ पनि ध्यान दिओस्, त्यसमा पत्रकारको ध्यान जाओस् भन्ने आशय हो,’ ठेकेदार खड्काले भन्नुभयो,‘तर पहिले नै मेरो बारेमा समाचार लेखेकाले पत्रकार बोहोरााई लक्षित गरेर तस्विर समेत राखेर लेख्नु मेरो कमजोरी हो, म आत्मआलोचना सहित माफी माग्दछु ।’ निर्माण व्यवसायी खड्काले आगामी दिनमा समेत गल्ती नदोहो¥याउने लिखित प्रतिवद्धता समेत जाहेर गरेको महासंघले जनाएको छ ।

आरोपित खड्काले आफ्नो फेसबुक वालबाट समेत स्टाटस मार्फत माफी माग्ने सहमति समेत भएको छ । सडक निर्माणमा लापरवाही भएको समाचारका बिषयलाई लिएर खड्काले जिल्लाका पत्रकार र पत्रकारितालाई बदनाम गर्ने गरि आरोपित गरेकाले महासंघको पहलमा छलफलका लागि बोलाइएको र खड्काले जिल्लाका पत्रकार समक्ष आफ्नो गल्ती भएको स्वीकार गरेको महासंघका अध्यक्ष दिल शिरीषले बताउनुभयो ।

‘समाचारका सवालमा आर्थिक प्रभावको गम्भिर आरोप लगाइएकाले हामीले यसलाई संवेदनशिल रुपमा लियौ,’ अध्यक्ष शिरीषले भन्नुभयो, ‘यो पत्रकार बोहोरा प्रतिको आक्रमण मात्र होइन, सिंगो पत्रकारको मनोबल कमजोर बनाउने र पत्रकारितालाई बदनाम गराउने मनसायबाट प्रेरित भएकाले यसलाई गम्भिर रुपमा लिएका थियौ, खड्काले माफी दिन आग्रह गरे पछि सहमतिमा समस्या हल गरेका छौ ।’ समाचारका सवालमा प्रत्यक्ष परोक्ष आउने धम्की र घुमाउरा बिषयमा पत्रकार नभई सिंगो पत्रकार महासंघ लड्ने अध्यक्ष शिरीषको भनाई छ ।

Leave a Reply