अनकन्टार ठाउँ । नाकै ठोकिने डरलाग्दो भीर र सेताम्मे हिउँले बाटो नपाएपछि अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खोप्रा घुम्न आएका चारजना नेपाली पर्यटकको उद्धार गर्ने नारच्याङका दुई यूवालाई अन्नपूर्ण गाउँपालिकाले नगद सहित सम्मान गरेको छ ।

गत बिहिबार घोरेपानी हुदै खोप्रा लेकबाट फर्किने बेलामा नारच्याङको जंगलमा हराएका सर्लाही जिल्लाका अंकित शाह, अभिसेक महतो,दोलखाका संजित लामा र धनगढीका सुमन भट्टको उद्धारमा एक रात जंगलमै बिताएका नारच्याङका रामकृष्ण थजाली र चुपीन पुर्जालाई मंगलबार प्रथम अन्नपूर्ण महोत्सवको समापनको अवसरमा गाउँपालिकाले पाँच÷पाँच हजार रुपैयाँ नगद सहित सम्मान गरेको हो । थजाली र पुर्जा शुक्रबार रातभरी जंगलमै विताएका थिए भने शनिबार विहानै अलपत्र अवस्थामा रहेका चारजना पर्यटकलाई उद्धार गरेका थिए ।

गाउँपालिका अध्यक्ष डम बहादुर गर्बुजा पुनले नेपाली पर्यटकको उद्धारमा आफ्नो ज्यानको बाजी थाप्ने यूवाहरुको प्रयासले पर्यटन क्षेत्रमा सकरात्मक सन्देश प्रवाह भएको बताए । ‘यो नगद सम्मान सानो भएपनि उहाँहरुको प्रयासले ठूलो क्षती जोगिएको छ,‘यहाँको पर्यटनको क्षेत्रमा ठूलो दुर्घटनाको जोखिम टरेको छ’ अध्यक्ष गबूर्जाले भने ।

अध्यक्ष गर्बुजाले उद्धारमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर, शसस्त्रका डिएसपी प्रकाश माँझी सहितको टोलीको भूमिकाको प्रशंसा समेत गरे । कार्यक्रममा संबिधानसभा सदस्य रेशमबहादुर बानिया, नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष केशमाया मगर लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply