बेनी नगरपालिका–९,गलेश्वरको जेष्ठ नागरिक आश्रमको खुल्लाचौरमा घाम तापेर बसिरहेका बृद्धबृद्धालाई आफ्ना अभिभावकले दिएको खाजा खर्च कटाएर फलफुल लिएर पुगेका पर्वतबेनीमा अवस्थित न्यू होराईजन आवासीय माविमा कक्षा ३ मा अध्ययनरत विद्यार्थीले करिब दुईघण्टा बृद्धबृद्धासँगै विताए।

प्रसिद्ध धार्मिकस्थल गलेश्वरको भ्रमणसँगै आश्रममा रहेका बृद्धबृद्धासँग रमाउन पुगेका विद्यार्थीले फलफुल वितरण गदैं विभिन्न गीतमा नाचेर समेत देखाए । आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकसँग परिचय गदैं गएकी अस्मी विकले स्वास्थ्य अवस्थाका बारेमा जिज्ञासा राख्दा बृद्ध कलानन्द गिरी भाबुक बनिन् । उनले अस्मीको जिज्ञासा लगत्तै जवाफ दिदाँ आँशु थाम्न सकिनन्।

८० बर्षिया गिरीको आँसु पुछ्दै अस्मीले बेला–बेलामा भेट्न आउने, आमाबुबालाई मागेर कपडा र मिठो खानेकुरा ल्याउने भन्दै कलानन्दको आँसु  थाम्ने प्रयास गरिन् ।

करिव १० मिनेट संवादमा कलावतीले घर राखु भएको बताएपछि अस्मीले आफुँ पनि म्याग्दीको मराङ धवलागिरी गाउँपालिका–६, मराङ० घर भएको बताईन्। ‘राम्रोसँग बस्नुहोला, तपाईहरुलाई भेट्न म फेरी आउँछु’ कलावतीको आँसु पुछ्दै अस्मीले भनिन् । उनले रोजगारीको सिलसिलामा जापानमा रहेका आफ्ना बुबाआमालाई सम्झिँदा आफ्नै आँसु थाम्न सकिनन्।

विद्यालयबाट पुगेका अन्य विद्यार्थीको तुलनामा अस्मीले बृद्धबृद्धालाई आफ्नै हजुरबुबाआमा सरह सम्बोधन गरेपछि अधिकांस बृद्धबृद्धाले भक्कनिएका थिए।उमेरले करिव १० बर्ष आसपासमा रहेकी अस्मीले त्यहाँ उपस्थित अधिकांस बृद्धबृद्धालाई फरक–फरक जिज्ञासा राखिन् ।

बरर.. आँसु निकाल्नेहरुलाई हँसिलो अनुहार बनाउन अनुरोध गर्ने गरेकी अस्मीले आँसु रोक्न अनेक प्रयास गरिन् । ३८ विद्यार्थीमा अस्मीको जिज्ञासाले बृद्धबृद्धाले आँसु थाम्न सकेनन् । बृद्धावस्थामा आश्रय लिइरहेको बारेमा बालबालिकाले समितिका पदाधिकारीलाई जिज्ञासा राखेका थिए ।

बृद्धबृद्धा भावुक हुन थालेपछि अस्मीले विभिन्न गीतमा नाचेर समेत खुसी बनाईन् । विद्यार्थीको गतिविधि हेरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले ममता, निस्वार्थ प्रेम र सन्तानको उज्ज्वल भबिष्यको लागि दिनरात नभनी त्याग गर्ने आमाबुबाको सम्मानमा यस्ता कार्यक्रमले धेरै सन्देश दिने बताए।

विद्यालयकी शिक्षिका सृष्टि भण्डारीको नेतृत्वमा शिक्षक तथा विद्यार्थीको टोली बृद्धाआश्रममा पुगेका थिए । साहाराबिहीन हुने जेष्ठ नागरिकको संख्या प्रतिदिन बढ्दै गएको अवस्थामा कलिला बालबालिकालाई अभिभावकप्रतिको सम्मानका लागि भ्रमण गराइएको विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले बताए ।

उनले विद्यार्थीलाई सम्मानको सिकाई बोध गराउन बेलाबेलामा विभिन्न सामाजिक गतिविधिमा संलग्न गराउने बताए । बृद्धआश्रममा आश्रय लिइरहेकाले विद्यार्थीलाई भविस्यमा आफ्नो आमाबुबालाई दिनुपर्ने सम्मान दिनुपर्ने बारेमा समेत जानकारी गराइएको प्रअ पौडेलको भनाई छ । करिव दुईघण्टासम्म भाबुक बनेका बृद्धबृद्धालाई विद्यालय फर्किने बेलामा हँसिलो अनुहार बनाए पुनः आउने सर्त राखेपछि बृद्धृबृद्धाले समेत फेरी भेट्ने बाचा गरेका थिए ।

Leave a Reply