म्याग्दी जिल्ला नेपालको रमणीय हिमाली जिल्ला हो । जिल्लाको सदरमुकाम बेनी बजार प्रवेश गरेदेखि नै यहाँको प्राकृतिक सौन्दर्यताले पर्यटकको मन लोभ्याउँछ । म्याग्दी जिल्ला मुस्ताङ र चीनको तिब्बतसम्मको प्रवेशद्वार पनि भएकाले यसको विशिष्ट महत्व छ। यहाँ हामीले म्याग्दी जिल्लाका १२ प्रमूख पर्यटकीय गन्तव्यहरुको चर्चा गरेका छौं ।
(१) टोड्के :– प्राकृतिक र धार्मिक पर्यटनको दृष्टिकोणमा सम्भाबनायुक्त स्थल ‘टोड्केको डाँडो’ समुन्द्री सतहदेखि २ हजार ३८० मिटरको उचाइमा अवस्थित छ। मंगला गाउँपालिको पूर्णगाउँ, रघुगंगा गाउँपालिको झिँ र बेनी नगरपालिकाको वाखेतको सीमा क्षेत्रमा पर्ने टोड्के मनोरम हिमश्रृङ्खलाको दृश्यावलोकन गर्ने उपयुक्त स्थान मानिन्छ । सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत् दुई घण्टामा पुग्न सकिने सुविधासँगै टोड्केको विशेषताको प्रचारप्रसार हुन थालेकाले पर्यटक आगमन बढेको छ ।
फागुनदेखि चैत महिनासम्म लालीगुराँसले मोहनी लगाउने टोड्के मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्ने उपयुक्त स्थान पनि हो । एकै ठाउँबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, गणेश, गुर्जा लगायतका हिमालको मनोरम दृष्य संगै म्याग्दी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न पाउनु टोड्के क्षेत्रको विषेशता हो । रङ्गीचङ्गी गुराँसे जंगल, सूर्योदय, पहाडी भूगोलले टोड्के क्षेत्र सम्भावनायुक्त ठाउँ हो । टोड्केको भ्रमण गर्न आउने पर्यटकको सुविधाका लागि नजिकैको पूर्णगाउँका २५ घरमा होमस्टे सेवा सुरु गरिएको छ ।
(२) जगन्नाथ मन्दिर :– बेनी नगरपालिका–५ गाजनेमा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको प्रसिद्ध जगन्नाथ मन्दिर । वि.सं. १५५० सालमा राजा दिलिपबम मल्लले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किम्वदन्ती रहेको छ। पश्चिमाञ्चलमै उत्कृष्ट मानिने आजभन्दा ५ सय २४ वर्ष पुरानो जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्बमहाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहु लगायतका ऐतिहासिक मूर्तिहरु रहेका छन् ।
समुन्द्री सतहदेखि झण्डै २ हजार भन्दाबढी उचाइमा अवस्थित जगन्नाथ मन्दिरमा म्याग्दीसहित विभिन्न जिल्लाबाट दैनिकजसो श्रद्धालु भक्तजनहरु पूजाआजाका लागि आउने गरेका छन् । जगन्नाथ मन्दिरनजिकै गुफाको डाँडो रहेको छ, जहाँबाट म्याग्दी जिल्लाका ३६ ओटा गाविससहित मनोरम हिमश्रृङ्खलाहरु नाङ्गो आँखाले प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
(३) गलेश्वर धाम :– म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तीन किलोमिटर उत्तरमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित गलेश्वर धामको इतिहास स्कन्द पुराणसँग, आर्थिक इतिहास उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग जोडिएको छ । पूर्वमा कृष्णागण्डकी, गायत्री मन्दिर, पश्चिम कालान्जरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिहरूको तपोभूमि रिखार, धवलागिरि हिमश्रृंखला र मुक्तिनाथ, दक्षिण म्याग्दी सदरमुकाम बेनीबजार र म्याग्दी नदी रहेका छन् । मुक्तिनाथ प्रवेशद्वारको रूपमा रहेको यो धाम मुक्तिद्वारको नामबाट पनि चिनिन्छ ।
बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्नीमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामाकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ । १९ औँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको हो ।
जस्तै लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, जडभरत गुफा, विशाल चट्टानमा जग बिना नै निर्माण गरिएको भगवान शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, साँढेका विशाल मूर्ति घण्टा यहाँका मुख्य आकर्षण हुन् ।
(४) महारानी थान :– दर्शन, भाकल र पुजाआज गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास बोकेको महारानी थान मन्दिर जिल्लाको प्रमुख धार्मिकस्थल मानिन्छ ।
महारानी थानमा आउने भक्तजनको सुविधा र त्यसको प्रवर्द्धनका लागि मन्दिर परिसरमा पर्खाल र तारबार, टहरा, शौचालय, पार्क निर्माण, खानेपानीको सुविधा, नयाँ मुर्ति प्रतिष्ठापन गरी थानलाई व्यवस्थित गरिएको छ । सदरमुकामको दृष्य अवलोकनका साथै एकान्त र मनोरम स्थल भएकाले महारानी थान पर्यटकीय हिसावले पनि सम्भावनायुक्त मानिन्छ ।
(५) मालिका धुरी :– भिरालो पहाडको टुप्पोमा अवस्थित मालिकाधुरीमा बाहैमासा चिसो हावा चल्छ । गर्मी महिनामा पनि जाडोयामको चिसो हावापानी चल्ने घना जंगलको बीचमा अवस्थित मालिकाबाट धौलागिरी, निलगिरी अन्नपूर्ण, मनास्लु, माछापुच्छे, गुर्जा, चुरेन, पुथा लगायतका दर्जनौ हिमश्रृङ्खला आँखामा ठोकिन्छन् ।
हिमालभन्दा अग्ला देखिने मान्छेको जमघटले समेत मालिकालाई जिल्लाकै आर्कषक गन्तब्य बन्न थालेको छ । आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामिण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यताले सजिएको मालिका प्राकृतिक दृष्यको धनी, धार्मिक दृष्टिले प्रसिद्ध कमाएको पवित्रस्थलको परिचय पाएको छ ।
(६) करबाकेली पदमार्ग :– करबाकेली क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन करबाकेली बाबा संरक्षण समिति काफल डाँडाको अगुवाई एवं काठमाडौंस्थित कन्सेप्ट नेपालको टेक्निकल सहयोगमा भर्खरै नयाँ पदमार्ग करबाकेली पदमार्ग खोलिएको छ। यस पदमार्गले पुनहिल, फूलबारी र करबाकेली थानलाई बेनी बजारसँग जोड्छ ।
सबै उमेर समूहका पदयात्रीले पदयात्रा गर्न सक्ने यस पद मार्गमा होटल तथा लजहरुको पनि सुविधा छ । यात्रामा धौलागिरि, अन्नपूर्ण र मानापाथि सहितका हिमाल, पुन समुदायको संस्कृति एवं जीवनशैली अवलोकन गर्न पाइन्छ । गाउँमा पुख्र्यौली नाच, यानीमाया, सालैजो, शिरफूले भाकामा नाचगान गरिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडामा करबाकेली थान छ । यो थान यस क्षेत्रको पुन समुदायको कुलदेवताको थान हो । तिनै देवताको नाउँमा यो पदमार्ग नामाकरण गरिएको हो ।
पोखराबाट वीरेठाँटीसम्म बस वा जीपमा गएर पदयात्रा सुरु हुन्छ। पहिलो बास उल्लेरीको उकालो कटेर बस्नु पर्छ। दोस्रो दिन घोडेपानी हुन्छ । तेस्रो दिन बिहानै पुनहिलबाट हिमाल र सूर्योदय अवलोकनपछि लञ्च खान फूलबारी पुग्न सकिन्छ । त्यहाँबाट हिँडेर साँझ काफलडाँडाको करबाकेली थानमा बास बस्न पुगिन्छ ।
(७) सिङ्गा तातोपानी कुण्ड :– म्याग्दी जिल्लामा रहेको सिङ्गा तातोपानी कुण्ड प्राकृतिक उपचारका रुपमा चिनिन्छ। जमिनभित्रबाट ५० डिग्री सेल्सियसको तातो पानी आउने कुण्डमा एक सातासम्म नियमित स्नान गरेमा हाडजोर्नी, चर्म, ग्यास्ट्राइटिस, नसा, बाथ, ढाड दुख्ने, आङ खस्ने, पेट सुन्निने, गलगाँडलगायतका रोग निको हुने जनविश्वास छ । कुण्डको पानीबाट बिरेनुनको गन्ध आउँछ ।
कुण्ड क्षेत्रमा साना—ठूला तीन कुण्ड छन् । कुण्डमा एकपटकमा तीन सय जनाले डुबुल्की मार्न सक्छन् । कुण्डमा दैनिक पाँच सयदेखि एक हजार जनासम्मले स्नान गर्दै आएका छन्। खास गरी असोजदेखि चैतसम्म बढी भीड लाग्छ । नुहाउनका लागि १ सय ५० रुपियाँको टिकट काट्नुपर्छ । कुण्डमा पुग्न म्याग्दी सदरमुकाम बेनीबाट नौ किलो मिटरको दूरीमा मोटरबाटो हुँदै जान सकिन्छ भने काठमाडौँबाट २ सय ९७ किलोमिटर टाढा पर्छ ।
(८) कालीगण्डकी नदी :– कालीगण्डकी नदी संसारको सबैभन्दा गहिरो गल्छी बनाएर बग्ने नदी हो । यो नदीले ठूलो मात्रामा कालो रङ्गको माटो बगाएर ल्याउने भएकाले यसलाई काली गण्डकी नामाकरण गरिएको हुनुपर्दछ । कालीगण्डकीको नदी तिब्बतमा उत्त्पत्ति भएर मुस्ताङ जिल्ला हुँदै नेपाल छिर्छ । कागबेनी भन्ने स्थानमा मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङ खोला मिसिन्छन् र त्यसपछि उक्त नदीलाई काली गण्डकी भनिन्छ ।
जोमसोम र टुकुचे हुँदै बगेपछि काली गण्डकी संसार कै सबैभन्दा गहीरो गल्छी कालीगण्डकी खोंच भएर बग्छ, जसको पश्चिममा धौलागिरी (८१६७ मी) तथा पूर्वमा अन्नपूर्ण (८०९१ मी) हिमाल पर्दछन् । उक्त गल्छीको उचाइ १३०० मीटरदेखि २६०० मीटरसम्म छ, जुन अन्नपूर्ण र धौलागिरीको चुचुरोबाट ५५०० देखि ६८०० मीटर तल पर्दछ ।
(९) घोरेपानी :– हिमाली दृश्यावलोकनका लागि म्याग्दीको घोरेपानी उत्कृष्ट मानिन्छ । जंगलको बीचमा रहेको घारेपानी स्वदेशी तथा विदेशी पर्यटक माझ लोकप्रिय छ । यहाँ पुग्ने अधिकांश पर्यटकको आकर्षक गन्तव्य भनेको पुनहिल हो । यहाँबाट सूर्योदयका साथै हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पोखराबाट नयाँपुल, लान्द्रुक, घान्द्रुक, घोरेपानी हुँदै पुनहिल भ्यू टावर पुग्न सकिन्छ ।
३ हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलबाट माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी, धौलागिरी लगायत १५ भन्दा बढी हिमश्रृंखलाका साथै म्याग्दी, पर्वत, कास्कीलगायत जिल्लाको अवलोकन गर्न सकिन्छ । यो म्याग्दी जिल्लाको मात्र नभएर गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य हो ।
(१०) रुप्से झरना :– म्याग्दी जिल्लाको प्रसिद्ध झरना हो रुप्से झरना । बेनीबाट मुस्ताङ जाने पदमार्गमा पर्ने यो झरना नेपालकै अग्लो झरना मानिन्छ ।
सडकमा गाडी रोकेर रुप्से र संसारकै गहिरो अन्धगल्छी अवलोकन गर्ने पर्यटकहरु त्यहाँको सौन्दर्यताबाट दंग पर्छन् । ७५ मिटर अग्लो छागोबाट खस्ने र त्यसपछि करीब एक किलोमिटर भिरालो पहाडमा नागबेली भएर बग्ने रुप्से झरना कालीगण्डकीमा मिसिने दोभानभन्दा केही माथि छ हजार ९६७ मिटर संसारकै गहिरो अन्धगल्छी रहेको छ ।
सदाबहार सप्तरङ्गी इन्द्रेणीको लुकामारीसँगै रुप्से झरना र संसारकै गहिरो गल्छीलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण र धौलागिरि हिमालको बीच भएर बग्ने कालीगण्डकीले गहिरो खोच बनाएको छ । मनमोहक झरना, संसारकै गहिरो गल्छी र वरपरका मनमोहन सौन्दर्यले मोहित पार्छ । बेनी जोमसोम सडक भएर आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको दैनिकजसो रुप्सेमा भीड लाग्ने गर्छ ।
(११) धौलागिरी हिमाल :– धौलागिरि संसारकै सातौँ अग्लो हिमाल हो । यो धौलागिरि हिमशृङ्खलाको पूर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ । यो पोखराको उत्तरपश्चिममा अवस्थित छ । यसको पूर्वमा काली गण्डकीको गहिरो गल्छीको अर्कोपट्टि अन्नपूर्ण हिमाल पर्छ, तीमध्ये अन्नपूर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ । धौलागिरिको शाब्दिक अर्थ ‘सेतो पहाड’ हुन्छ ।
सन् १८०८ मा पश्चिमाहरूले पत्ता लगाएपछि धौलागिरिलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रूपमा लिइन्थ्यो । तर, कञ्चनजङ्घा पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो । स्थानीय भूधरातलमा भएको अग्लाइको आधारमा धौलागिरिजस्तो अर्को हिमाल संसारमा कुनै छैन । उदाहरणका लागि, यो दक्षिणपूर्वमा ३० किमिको तेर्सो दूरीमा कालीगण्डकीको गल्छीदेखि ७००० मिटरमाथि उठेको छ । धौलागिरि र अन्नपूर्णजस्ता दुई आठहजारी हिमाल नदी नजिकै गल्छी वारिपारि रहेकोले कालीगण्डकी गल्छीलाई अनौठो गल्छीको रूपमा लिइन्छ ।
(१२) बेनी बजार :– बेनी बजार म्याग्दी जिल्लाको सदरमुकाम हो । कालीगण्डकी र म्याग्दी खोलाको बीचमा पर्ने यो बजार सघन जनघनत्व भएको बजार हो । बेनी नगरपालिका म्याग्दी जिल्लामा पर्छ ।
यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, रत्नेचौर र ज्यामरुङकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो । बेनी पश्चिम नेपालको पर्यटकीय हब पनि हो ।
यो अन्नपूर्ण बेसक्याम्प लगायत मुस्ताङ जिल्लाका सबैजसो ठाउँ जाने मुख्य नाका हो । हिन्दू र बौद्ध दुवैको ठूलो तीर्थस्थल मुक्तिनाथ जाने बाटो बेनी भएर जान्छ ।
लोकपाटीबाट साभार ।