बेनी सामुदायिक माध्यमिक विद्यालयमा शुक्रबार जिल्लास्तरीय अन्तरमावि लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । ‘म सेवा गर्छु’ भन्ने मूल नारासहित विद्यालयमा क्रियाशिल युवा रेडक्रस सर्कलको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।

कुल ११ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि प्रथम, बेनी सामुदायिक मावि द्वितीय, प्रकाश मावि तृतीय र न्यु वेष्ट प्वाइन्ट आवासीय मावि सान्त्वना भएका छन् । विजयी विद्यालयलाई क्रमशः आठहजार, छहजार, चारहजार र दुईहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको आयोजक युवा रेडक्रस सर्कलले जनाएको छ ।

प्रतियोगितालाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति लेखबहादुर हमालले शैक्षिक क्रियाकलाप सँगसँगै अतिरिक्त क्रियाकलापले पनि विद्यार्थीमा क्षमताको विकास गर्ने बताए । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले लोकनृत्य प्रतियोगिताले विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउन सहयोग पुग्ने बताएका थिए ।

युरेस सभापति करिना सुवेदीको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठको स्वागत र शिक्षक सह–नायक टिकानाथ पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेलले मन्तव्य राखेका थिएभने निर्णायक संयोजक प्रकाशकुमार श्रेष्ठले प्रतियोगिताको नियमबारे जानकारी गराएका थिए ।

Leave a Reply